इजरायली सेनाद्वारा गाजा अस्पतालमा आक्रमण

बुधबार, २९ कार्तिक, २०८०
डिजिटल संस्करण

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजरायली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ। हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको उक्त अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ।

इजरायली र प्यालेस्टिनी अधिकारीहरूले गाजा सहरको अल–सिफा अस्पतालमा सैन्य कारबाही भइरहेको बताएका छन्। इजरायल डिफेन्स फोर्स (आइडिएफ)ले आफ्नो सेनाले उक्त अस्पतालको ‘निर्दिष्ट क्षेत्रमा हमासविरुद्ध सटिक र लक्षित’ कारबाही गरिरहेको बताएको छ।

अस्पतालभित्र रहेका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अधिकारी युसेफ अबुल रेसले अस्पताल परिसरभित्र ट्यांक तथा आकस्मिक र स्वागत भवनहरूमा दर्जनौँ सैनिक र कमान्डोहरूलाई देख्न सकिने एएपफीलाई बताएका छन्।

अल–सिफा अस्पताललाई ‘सुरक्षित गरिनुपर्छ’ भन्ने अमेरिकाको कडा चेतावनीपछि इजरायलले गुप्तचर सूचना र ‘अपरेसनल आवश्यकता’ का आधारमा छापा मारिएको बताएको छ। स्थानीय अधिकारीहरूका अनुसार हजारौँ बिरामी, कर्मचारी तथा विस्थापित सर्वसाधारण उक्त अस्पताल परिसरभित्र रहेका छन्।

प्रत्यक्षदर्शीहरूले अस्पतालपरिसरको अवस्थालाई भयावह रूपमा वर्णन गरेका छन्। एनेस्थिटकबिना नै चिकित्सा प्रक्रियाहरू भइरहेको भन्दै उनीहरूले खानेकुरा तथा पानीको अभाव भएका परिवारहरू कोरिडोरमा बस्ने गरेका र सडेका शवका दुर्गन्ध फैलिरहेको बताएका छन्। अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले भने, 'अस्पतालपरिसरमा शवहरू छरपस्ट छन् र शवगृहमा अब बिजुली छैन।' 

कमान्ड पोस्ट र हतियार भण्डारण गर्न हमासले अस्पताललाई ढालका रूपमा प्रयोग गर्दै आएको इजरायलले लगातार दाबी गर्दै आएको छ, तर उक्त दाबीलाई हमासले अस्वीकार गरेको छ। सेनाले हमासको उक्त प्रयोगले अस्पतालको ‘अन्तर्राष्ट्रिय कानुनअन्तर्गत संरक्षित स्थिति’ लाई ‘जोखिम’ मा पारेको बताएको छ।  

प्यालेस्टिनी लडाकु समूहले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई अल–सिफा अस्पतालमा इजरायली आक्रमणका लागि ‘पूर्ण रूपमा जिम्मेवार’ भएको आरोप लगाएको छ। गाजामा कुनै अधिकार नभएको, तर ऐतिहासिक रूपमा प्यालेस्टिनीहरूको प्रतिनिधि निकाय प्यालेस्टिनी प्राधिकरणले ‘अस्पतालभित्र गरिएको नरसंहारविरुद्ध’ चेतावनी दिएको छ।     
 

See More On

सुझावित समाचार