गुजुमुज्ज परेको सुन्दर गाउँ । काखैमा रहेको मनास्लु, डा. हर्कपिकलगायत सुन्दर हिमालका दृश्य । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, सिम्पानीस्थित भलामचौर गाउँँमा अहिले पर्यटकीय गतिविधि बढ्न थालेको छ । यहाँका स्थानीय होमस्टे सञ्चालन गरी पर्यटन प्रवर्द्धन र प्रचार प्रसारमा जुटेका छन् ।
सदरमुकाम बेँसीसहर हुँदै खुदीको गोपालडाँडाबाट साढे ५ किलोमिटर दूरीमा पुगिने भलामचौर अन्नपूर्ण पदमार्ग र गुरुङ सम्पदामार्गमा पर्र्छ । भलामचौरका ३० घरमा होमस्टे सञ्चालन गरिएको होमस्टे सञ्चालक लुकुमारी गुरुङ बताउँछिन् । गाउँ आउने पर्यटकले स्थानीय संस्कृति, प्राकृतिक मनोरम वातावरण र स्थानीय परिकारको मज्जा लिन पाउँछन्, गुरुङ भन्छिन्, ‘लमजुङको पर्यटनमा भलामचौरले चाँडै नयाँ आयाम लिनेमा हामी ढुक्क छौँ ।’
मनास्लु, डा. हर्क हिमाललगायत दर्जनौँ हिमशृंखला, नागबेली आकारमा बगेको मर्स्याङ्दी नदी र मनोरम प्राकृतिक वातावरणले भलामचौर आउने पर्यटक लोभिने उनको भनाइ छ । पर्यटकलाई लक्षित गरी गाउँमा बाथरुम, बेडरुमसहितको अत्याधुनिक संरचना पनि बनेको स्थानीय तेजबहादुर गुरुङ बताउँछन् । एक रातमा कम्तीमा एक सयजना पाहुना राख्न सकिने गरी पूर्वाधार निर्माण भएको उनले बताए ।
प्राकृतिक सुन्दरता र गुरुङ संस्कृतिको खानी भलामचौरको प्रवर्द्धन गरी पाहुनालाई स्थानीयस्तरमै उत्पादन भएका खानेकुरा मात्रै खुवाउने प्रवर्द्धकको तयारी छ । भलामचौर पुगेका पर्यटकले गाउँमै पालिएका गाई–भैँसीको दूध, घ्यू, दही, रोटी, मकै, कोदोका परिकार, अर्गानिक तरकारी, लोकल रक्सी, लोकल कुखुराको मासु, गुन्द्रुकको अचार, निउरो, कुरिलो, बेथेलगायतका अर्गानिक खानाको स्वाद लिने गरेका छन् ।
भलामचौरमा केही वर्षअघि मात्रै सुरु भएको व्यावसायिक होमस्टे थप व्यवस्थित हुने भएको छ । यहाँ सिते बा ग्रुपअन्तर्गत एसजी हस्पिटालिटी नामक कम्पनीले कृषि तथा होमस्टे प्रवद्र्धनका लागि करिब चार करोडको लगानीमा भलामचौर मिर्चे नमुना कृषि पर्यटन परियोजना नै सञ्चालन गरेको हो ।