कतिपय विद्यार्थी पढ्ने मन हुँदाहुँदै पनि अध्ययनमा ध्यान केन्द्रित गर्न असमर्थ हुन्छन् । तर, आफूले पढेका कुरालाई राम्रोसँग बुझ्न र परीक्षामा राम्रो अंक ल्याउनका लागि ध्यानपूर्वक पढ्न अत्यावश्यक छ । सामाजिक सञ्जाल, साथीभाइ, परिवार, होहल्ला, अनलाइन गेम आदि विभिन्न कारणले विद्यार्थीको ध्यान पढाइबाट भड्किरहेको हुन सक्छ । त्यही कारण केही विषयमा ध्यान दिन जरुरी छ :
सही स्थान
तपाईंको परिवेश र वातावरणले पनि अध्ययनमा ठूलो अर्थ राख्छ । त्यही कारण सही स्थानको चयन गर्न आवश्यक छ । पढ्नका लागि शान्त वातावरण हुनुपर्छ । पढ्दाको समय कसैले डिस्टर्ब गर्यो भने ध्यान भड्किन्छ । त्यसैले होहल्ला नहुने र कसैले डिस्टर्ब नगर्ने ठाउँमा बस्नुस्, परिवारका सदस्यलाई पढिरहेका वेला आफ्नो सामुन्ने नआउन भन्नुस् । किताबलाई व्यवस्थित तरिकाले राख्नुस् र ध्यानपूर्वक पढ्नुस् ।
रुटिन
पढ्नका लागि एक योजना बनाउन जरुरी छ । हरेक दिन पढ्नका लागि उपयुक्त समय तोक्नुस् र त्यहीअनुसार पढ्नुस् । के–के पढ्ने भनेर पनि पहिल्यै तय गर्नु राम्रो हुन्छ । पढ्नका लागि सधैँ उत्साहित रहनुस् । ४५ मिनेट पढिसकेपछि केही समय ब्रेक लिनु राम्रो हुन्छ । आफ्नो पाठ्यक्रमलाई बुझ्न र स्मरण गर्नका लागि सिलेबसलाई राम्रोसँग पढ्नु जरुरी हुन्छ । पहिल्यै लक्ष्य निर्धारण गरेर त्यहीअनुसार पढ्नु राम्रो हुन्छ । हरेक दिन सकारात्मक रहनुस् । अनुशासित हुन जरुरी छ ।
ब्रेक
लगातार कुनै पनि काम गर्दा मानिस थकित हुन्छ र उसलाई बोझ महसुस हुन्छ । त्यही कारण पढाइको बीच–बीचमा ब्रेक लिन जरुरी छ । ४५ मिनेट वा एक घन्टा पढिसकेपछि कम्तीमा ५–१० मिनेटको ब्रेक लिँदा दिमाग फ्रेस हुन पाउँछ ।
प्रगति समीक्षा
आफ्नो पढ्ने तरिकामा सुधार ल्याएसँगै आफ्नो प्रगतिको पनि समीक्षा गर्न जरुरी छ । पढाइमा के–के सुधार भयो र के–के कमजोरी छन् भन्ने विषय ख्याल गर्नुस् । यसरी सोच्दा तपाईंलाई थप राम्रो गर्न प्रेरणा मिल्छ ।
समय
सबैको पढ्ने तरिका अलग–अलग हुन्छ । समय पनि अलग हुन्छ । कसैलाई बिहानको समय पढ्न निकै मज्जा लाग्छ । कसै–कसैलाई रातको समय पढाइमा मन लाग्छ । तपाईंलाई कुन समय पढ्दा मज्जा लाग्छ र पढाइमा ध्यान जान्छ ? त्यहीअनुसार समय व्यवस्थापन गर्न सकियो भने राम्रो हुन्छ ।
राम्रो निद्रा
मन लगाएर पढ्नका लागि राम्रो निद्रा जरुरी हुन्छ । जब कुनै व्यक्ति राम्रोसँग निदाउँछ, तब उसको हर्मोन सही तरिकाले रेगुलेट हुन्छ । यसले मस्तिष्क मजबुत रहन्छ र शरीरले पनि आराम महसुस गर्छ । जसकारण, विद्यार्थीले पढेका पाठलाई स्मरण गर्न सहज हुन्छ । शरीर थकित हुँदा पढाइमा ध्यान दिन मुस्किल हुन्छ । त्यही कारण प्रतिदिन ७–९ घन्टा
राम्ररी सुत्नुपर्छ ।
स्वस्थ आहार तथा व्यायाम
स्वस्थ रहनका लागि सन्तुलित आहार जरुरी हुन्छ । सिजनल फलफूल, तरकारी र अन्नले मस्तिष्कको शक्ति बढाउँछ । पौष्टिक तथा सन्तुलित आहारले मानिसलाई स्वस्थ राख्छ र पढाइमा पनि ध्यान जान्छ । धेरै चिल्लोयुक्त, गुलियो तथा अत्यधिक कार्बोहाइड्रेटयुक्त खाना शरीरका लागि राम्रो हुँदैन । त्यस्तै, जंकफुडको साटो घरमै पकाएका खानेकुरामा जोड दिनुपर्छ । त्यस्तै, शरीरलाई सन्तुलित राख्नका लागि नियमित रूपमा शारीरिक व्यायाम वा योग गर्न सकिन्छ । त्यस्तै, मस्तिष्कको कार्यक्षमता बढाउनका लागि नियमित ध्यान गर्नु राम्रो हुन्छ ।
(नवभारत टाइम्सबाट)