सन्तुलित भोजनले हामीलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ राख्छ । बिहानको समयमा हाम्रो शरीरको पाचन प्रणाली बढी सक्रिय हुन्छ । दिन ढल्दै गएपछि कम सक्रिय हुन्छ । त्यसकारण पनि ब्रेकफास्ट वा लन्च हेभी खानुपर्छ । डिनरमा हल्का खानेकुरा लिनु राम्रो हुन्छ । मानिसको शारीरिक अवस्थाअनुसार खानाको आवश्यकता पनि फरक हुन्छ । शरीरलाई आवश्यक पर्ने क्यालोरी, प्रोटिन, फ्याट र फाइबरको मात्रा पनि फरक–फरक हुन्छ ।
उठ्नेबित्तिकै एक गिलास मनतातो पानी पिउनुपर्छ । त्यसपछि सीधै ब्रेकफास्ट गर्दा पनि हुन्छ । वा, फलफूल, ओट्स, चिउरा, दूध खाँदा पनि हुन्छ । घरमै बनाएको रोटी र चिया खान सक्नुहुन्छ । सकेसम्म चिनी नखाँदै राम्रो हुन्छ । ओखर, काजु, पिस्ता, बदाम, किसमिसजस्ता ड्राइफुड खाँदा पनि हुन्छ । यस्ता ड्राइफुडमा प्रोटिनको मात्रा धेरै हुन्छ, जुन शरीरका लागि अत्यावश्यक हुन्छ । सिजनल फलफूल खाँदा झन् राम्रो हुन्छ ।
ब्रेकफास्ट : ब्रेकफास्ट गर्दा तीन–चार सयसम्म क्यालोरीयुक्त खाना खानुपर्छ । जसले कार्बाेहाइड्रेट र प्रोटिनलाई सन्तुलनमा राख्न सकोस् । कार्बाेहाइड्रेट मात्रै हुनुभएन । कतिपयको बिहानको समय रोटी र तरकारी खाने बानी हुन्छ । यतिले मात्रै मांसपेशीका लागि आवश्यक पर्ने प्रोटिनको मात्रा पुग्दैन । खाजा वा खानामा प्रोटिन र कार्बोहाइड्रेटको सन्तुलन मिलाउनुपर्छ । जस्तै– दाल, गेडागुडी, दूध, अन्डा, माछा, मासुको मात्रा मिलाएर खानुपर्छ ।
लन्च : लन्च गर्दा दाल–भात–तरकारी खाँदा पनि हुन्छ । हरियो सागपातमा अझ बढी जोड गर्नुपर्छ । सिजनल तरकारी खाँदा राम्रो हुन्छ । सलादचाहिँ खानामा अनिवार्य समावेश गर्दा राम्रो हुन्छ । सलादले शरीरलाई सन्तुलनमा राख्न महत्वपूर्ण भूमिका खेल्छ । गाँजर, काँक्रा, मुला, प्याज मिलाएर खाँदा राम्रो हुन्छ । चिल्लो, पिरो र मरमसला कम हालेर तरकारी बनाउनुपर्छ । उसिनेर पकाएको तरकारी खानु झनै राम्रो हुन्छ । पानी पनि प्रशस्त पिउनुपर्छ ।
दिउँसोको खाजा : खाना खाइसकेपछि दिउँसो करिब ३ बजे खाजा खानु उपयुक्त हुन्छ । दिउँसोको समयमा कार्बाेहाइड्रेट कम र प्रोटिन धेरै भएको खानेकुरा खानुपर्छ ।
बेलुकी : बेलुकाको खाना ७ देखि ८ बजेभित्र खाँदा राम्रो हुन्छ । बेलुकीको खानामा तरकारी तथा सागसब्जी समावेश गर्नुपर्छ । बेलुका शारीरिक तथा मानसिक रूपमा आराम गर्ने समय भएकाले कम खाँदा राम्रो हुन्छ । कतिपयमा खाना खानेबित्तिकै सुत्ने बानी हुन्छ, जो राम्रो होइन । खाना खाएपछि कम्तीमा चार घन्टापछि सुत्दा राम्रो हुन्छ ।