राहत कोषमा नगद दिनेदेखि पीडितलाई अत्यावश्यक सामग्री उपलब्ध गराउनेसम्मका घोषणा ल उद्धार, राहत र पुनर्स्थापनामा जुट्न देशभरका उद्योगी–व्यवसायीलाई निजी क्षेत्रको आग्रह
जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पबाट प्रभावितको उद्धार र राहतमा सघाउन निजी क्षेत्रले सक्रियता देखाएको छ । निजी क्षेत्रका प्रतिनिधिमूलक संघ–संस्था, औद्योगिक घराना, बैंक तथा वित्तीय संस्था एवं कर्पोरेट हाउसहरूले राहतका लागि नगद तथा जिन्सी सहयोग घोषणा गरेका छन् । उनीहरूले देशभरका उद्योगी–व्यवसायीलाई उद्धारमा खटिन तथा सहयोग गर्न आह्वानसमेत गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले एक विज्ञप्ति जारी गर्दै जाजरकोटमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत, उद्धार र सहयोगमा जुट्न देशैभरका उद्योगी–व्यवसायीलाई आह्वान गरेको छ । महासंघले प्रभावित जनतालाई आर्थिकलगायत लत्ताकपडा, खाद्यान्न, औषधि, पानीजस्ता अत्यावश्यक सामग्री सहयोग गर्न आफ्ना सबै सदस्य संघ, संस्था, उद्योग प्रतिष्ठान एवं उद्यमी–व्यवसायीलाई अपिल गरेको हो । निर्माण व्यवसायी महासंघले भूकम्प प्रभावितको उद्धारमा जुट्न तथा निर्माण उपकरण प्रयोग गर्न व्यवसायीलाई आग्रह गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित क्षेत्र र आसपासमा रहेका निर्माणस्थलका निर्माण कम्पनीलाई आ–आफ्ना यन्त्र उपकरणसहित तत्काल उद्धार तथा पुनर्स्थापनामा जुट्न आह्वान गरेको हो ।
टेलिकमले पाँच दिन नि:शुल्क सेवा दिने
नेपाल टेलिकमले भूकम्प प्रभावितको सहजताका लागि भन्दै रुकुम–पूर्व, रुकुम–पश्चिम र जाजरकोट क्षेत्रमा मोबाइल सेवा पाँच दिनसम्म नि:शुल्क दिने भएको छ । सूचना आदान–प्रदानलाई निरन्तरता दिन कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकलाई पाँच दिन भ्वाइस तथा एसएमएस सेवा दिने जनाएको हो । त्यस्तै, उक्त क्षेत्र र सुर्खेतबाट पाँच दिनको अवधिका लागि समेत यस्तो सेवा नि:शुल्क हुने टेलिमकले जनाएको छ । उद्धार क्षेत्रमा सूचना आदान–प्रदान गर्न आवश्यकताअनुसार नि:शुल्क रूपमा नमस्ते वाइफाई सेवा उपलब्ध गराइनेसमेत टेलिकमले जनाएको छ । त्यस्तै, भूकम्प प्रभावितलाई राहत दिने कम्पनीले घोषणा गरेको छ । कम्पनीले ती क्षेत्रहरूमा आफ्ना सेवा नियमित चालू आवस्थामा रहेको जानकारीसमेत गराएको छ ।
बुद्ध एयरले एक करोड दिने, उद्धार र ढुवानीमा सघाउने
बुद्ध एयरले भूकम्प प्रभावितको उद्धार तथा राहतमा सघाउन एक करोड रुपैयाँ सहयोग दिने भएको छ । बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम दिने भएको हो । कम्पनीले दुःखद परिस्थितिमा सबै नेपालीले हातेमालो गर्नुपर्ने भन्दै उद्धार तथा राहत सामग्री ढुवानीमा समेत सघाउने घोषणा गरेको छ ।
एनसेलद्वारा ५० लाख सहयोग, ४० लाखबराबर नि:शुल्क सेवा
मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । साथै, सोही क्षेत्रमा राहत तथा उद्धार कार्यलाई सहयोग पुर्याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम–पश्चिम र रुकुम–पूर्वमा रहेका ग्राहकलाई ४० लाख ब्यालेन्सबराबरको सेवा नि:शुल्क उपलब्ध गराउने भएको छ । १५ दिनको म्याद अवधि रहेको यस सुविधाअन्तर्गत देशका अन्य नेटवर्क र विदेशमा कल गर्न सकिने सेवा, डेटा र एसएमएस रहेको कम्पनीले जनाएको छ ।
नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी २००४ मा स्थापना भई सन् २००५ देखि सञ्चालनमा आएको एनसेलले गत आर्थिक वर्ष ०७८/७९ सम्म कर तथा अन्य शुल्क गरी राज्यलाई दुई खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी राजस्व तिरेको छ । त्यसैगरी, एनसेलले एक संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा एक अर्ब ८० करोड रुपैयाँभन्दा बढी लगानी गरेको जनाएको छ ।
उद्धारमा हुने हवाई इन्धनको खर्च निगमले व्यहोर्ने
रुकुम–पश्चिम र जाजरकोटमा भूकम्प प्रभावितको उद्धार कार्यमा हुने हवाई इन्धनको सबै खर्च नेपाल आयल निगमले व्यहोर्ने भएको छ । भूकम्प प्रभावितको उद्धारका लागि खटिएको नेपाल एयरलाइन्सको ट्विनअटर र नेपाली सेनाको हेलिकोप्टर उडानमा लाग्ने इन्धनको खर्च निगमले व्यहोर्ने निर्णय भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
उनका अनुसार शनिबार बिहानैदेखि उद्धारका लागि भएको उडानको सम्पूर्ण इन्धन खर्च निगमले नै व्यहोर्नेछ । ‘रुकुम–पश्चिम र जाजरकोटमा उडान गर्नका लागि चौरजहारी र सल्लेमा एयरपोर्ट छ । यहाँ ट्विनअटर मात्रै जान सक्ने हुँदा नेपाल एयरलाइन्सको ट्विनअटरका लागि नि:शुल्क इन्धन उपलब्ध गराउने भएका हौँ,’ उनले भने, ‘उद्धारका लागि होलिकोप्टर जहाँ पनि जान सक्छ, त्यसको सबै खर्च निगमले व्यहोर्छ ।’
सिटिजन्स बैंकको २५ लाख सहयोग
भूकम्प प्रभावितको उद्धार तथा राहतका लागि सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै पीडितको उद्धार तथा उपचारको उद्देश्यले सहयोग गरेको जनाएको छ ।
यती ब्रुअरीले २५ लाख दिने
यती ब्रुअरी लिमिटेड (अर्ना बियर)ले भूकम्पपीडितको सहयोगका लागि २५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । कम्पनीले विपत्को समयमा नागरिक एवं संघ–संस्थाको जिम्मेवारी हुने भन्दै सहयोगको घोषणा गरेको हो । कम्पनीले सहयोग र हातेमालोका लागि अपिलसमेत गरेको छ ।
ट्रिप इन्न समूहले २० लाख सघाउने
भूकम्प प्रभावित क्षेत्रमा आकस्मिक उद्धार तथा राहतका लागि ट्रिप इन्न होटेल समूह (जर्मनी)ले २० लाख रुपैयाँको आर्थिक सहयोग गर्ने भएको छ । समूहका सञ्चालक एवं गैरआवासीय नेपाली संघ (एनआरएन)का पूर्वअध्यक्ष जीवा लामिछानेले यस्तो घोषणा गरेका हुन् ।
कैलाश हेलिकोप्टरले १० लाख दिने
कैलाश हेलिकोप्टर सर्भिसेस लिमिटेडले भूकम्पपीडितको राहत तथा उद्धारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणको आह्वानमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विपत् कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो । अध्यक्ष आशिष शेरचन र प्रबन्ध सञ्चालक प्रतापजंग पाण्डेले विज्ञप्ति जारी गर्दै जनधनको अकल्पनीय क्षति भएका वेला पीडित र राज्यलाई साथ–सहयोग गर्न सबैलाई आह्वानसमेत गरेका छन् ।
चौधरी समूहले अत्यावश्यक सामग्री पुर्याउँदै
चौधरी समूहले भूकम्प प्रभावितको राहत तथा उद्धारका लागि तत्काल खाद्यान्न, त्रिपाललगायत सामग्री दिने भएको छ । चौधरी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरीले शनिबार नै खाद्यान्न वितरण सुरु गरिसकेको र अन्य अत्यावश्यक सामग्री पुर्याउने तयारी भइरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कर्णालीको भूकम्पका बारेमा आज मैले जाजरकोटाका सिडिओसँग छलफल गरेँ, उहाँले तत्काल खाद्यान्न, त्रिपाल र ब्ल्यांकेट खाँचो रहेको जानकारी दिनुभएको छ, चौधरी फाउन्डेसनको टिम जाजरकोट पुगेर खाद्यान्न विरण सुरु गरिसकेको छ, भोलि खाद्यान्न, त्रिपाल, ब्ल्यांकेटलगायत सामग्री भूकम्प प्रभावितसमक्ष पुर्याउने तयारी भइरहेको छ ।’
लोमसले दियो औषधि
लोमस फर्मास्युटिकल्स प्रालिका निर्देशक प्रणवजंग पाण्डेले भूकम्पमा घाइते भएकाको थप उपचार गर्न औषधि सहयोग गरेका छन् । भूकम्पपीडितको थप उपचारमा प्रयोग हुने पेनकिलर र दुखाइ कम गर्ने मलम सहयोग गरेको पाण्डेले बताए । काठमाडौं सिनामंगलस्थित सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन प्लाटुन प्रमुख पूर्ण साउद र डाक्टरहरूको उपस्थितिमा पाण्डेले औषधि सहयोग गरेका हुन् ।
एनआरएनद्वारा एक करोड १० लाखको राहत कोष स्थापना
भूकम्पले प्रभावित जाजरकोट र रुकुम–पश्चिमलगायतका क्षेत्रमा राहत तथा उद्धारका लागि गैरआवासीय नेपाली संघ (एनआरएन)ले एक करोड १० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ । अन्तर्राष्ट्रिय समन्वय परिषद्को शनिबारको आकस्मिक बैठकले १० लाख तत्काल सरकारको राहत कोषमा उपलब्ध गराउने र बाँकी एक करोडको राहतका सामग्री लिएर शनिबार नै प्रभावित स्थानमा जाने निर्णय गरेको हो ।
अध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा राहत वितरण समिति गठन गरी पहिलो चरणमा जाजरकोट र रुकुम–पश्चिमका चार सय परिवारका लागि प्रतिपरिवार १० हजारका दरले खाद्यान्न तथा लत्ताकपडा वितरण गरिने एनआरएनले जनाएको छ ।
राहत वितरण समितिमा अध्यक्ष डा. केसीसहित महिला उपाध्यक्ष रोजिना प्रधान राई, महासचिव गौरीराज जोशी, उपमहासचिव प्रवीण गुरुङ, सचिव मनोजकुमार श्रेष्ठ (गोर्खाली), सहकोषाध्यक्ष अभिमन्यु बस्नेतलगायत रहेका छन् । त्यस्तै, कोषाध्यक्ष सुदन थापाको संयोजकत्वमा सहकोषाध्यक्षहरू कृष्णप्रसाद तिमल्सिना, अभिमन्यु बस्नेत, तिलकप्रसाद गैरे र अमृता थापा (कञ्चन) रहने गरी राहत कोष संकलन समिति गठन गरिएको एनआरएनले जनाएको छ ।
संघको स्वास्थ्य समितिलाई परिचालन गरी नेपाल मेडिकल एसोसिएसनसँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली खटाउने निर्णयसमेत गरेको छ । चीन, हङकङलगायतका राष्ट्रिय समन्वय परिषद्बाट राहतका सामग्री तथा आर्थिक सहयोगका लागि सक्रियतापूर्वक काम सुरु भइसकेको एनआरएनले जनाएको छ ।
संघले २४ घन्टे हटलाइन सेवासमेत सुरु गरेको छ । राहत तथा उद्धारका लागि इच्छुक एनसिसी तथा अन्य व्यक्तित्वले हटलाइन नम्बर ९७७/९८०१८६११०१ मा सम्पर्क गर्न सक्ने एनआरएनले उल्लेख गरेको छ ।
शर्मा नेनृत्वको एनआरएनले २१ लाख सहयोग गर्ने
आरके शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले तत्काल २१ लाख सहयोग गर्ने घोषणा गरेको छ । अध्यक्ष शर्मा र महासचिव बुद्धिसागर सुवेदीले शनिबार एक विज्ञप्ति जारी गर्दै सहयोगको घोषणा गरेका हुन् । उनीहरूले भूकम्पपछि भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारले सुरु गरेको राहत कोषमा एनआरएन अभियन्ताहरूबाट संकलन गरेर २१ लाख रुपैयाँ जम्मा गर्ने जनाएका छन् ।
‘एनआरएनको आपत्कालीन कोष भए पनि हामीले उक्त कोषबाट एक पैसा पनि नचलाई सबै अभियन्ताबाट संकलन गरेर यो रकम जम्मा गर्नेछौँ,’ शर्माले भनेका छन्, ‘साथै थप राहत तथा उद्धारका लागि एनआरएनए तयार रहेको छ ।’ घटनास्थलमै पुगेर एनआरएनएले उद्धारमा सहभागिता जनाउने बताउँदै उनले केही एनआरएन अभियन्ताहरू भूकम्प प्रभावित क्षेत्रतर्फ गइसकेको र चिकित्सकीय टोलीसहित आफू पनि भूकम्प प्रभावित क्षेत्रमा जान लागेको जानकारी दिए । अध्यक्ष शर्माले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि दिल खोलेर सघाउन तथा आर्थिकलगायतका अन्य आवश्यक सहयोग गर्न सबै संसारभरि रहेका गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् ।
भूकम्पले घर भत्काएका ठाउँमा बाहेक अन्य ठाउँमा विद्युत् सुचारु : प्राधिकरण
शुक्रबार राति गएको विनाशकारी भूकम्पबाट प्रभावित जिल्लामा विद्युत् र टेलिफोन सेवा नियमित रहेको छ । पूर्वाधारमा क्षति पुगेको भए पनि अधिकांश क्षेत्रमा विद्युत् र टेलिफोन सेवा नियमित उपलब्ध रहेको सेवाप्रदायकले जनाएका छन् ।
नेपाल विद्युत् प्राधिकरणले जाजरकोट र रुकुम–पश्चिमका भूकम्पले घर भत्काएका ठाउँमा बाहेक अन्य स्थानमा विद्युत् आपूर्ति पुनः सुरु गरेको छ । भूकम्पका कारण पोल तथा लाइनहरूमा क्षति पुग्दा त्यस क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो । प्राधिकरणबाट खटिएको टोलीले लाइन तथा पोलहरूको मर्मत–सम्भार गरी शनिबार बिहान १० बजेपछि विद्युत् सुचारु गरेको हो ।
प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतका प्रमुख शम्भु कुसियत यादवले सुरुमा अस्पतालहरूको लाइन सुचारु गरिएको बताए । यादवले घरहरू भत्किएको ठाउँमा उद्धार कार्य जारी रहेको र यस्तो अवस्थामा विद्युत् लाइन दिँदा थप दुर्घटना हुने भएकाले त्यहाँ आपूर्ति बन्द गरिएको उल्लेख गरे । उनले धेरै घर भत्किएको क्षेत्रमा मात्र लाइन काटिएको र अन्य स्थानमा विद्युत् नियमित रूपमा आपूर्ति भइरहेको बताए ।
त्यस्तै, नेपाल टेलिकम र एनसेलले पनि भूकम्प प्रभावित क्षेत्रमा टेलिफोन सेवा नियमित रहेको जनाएका छन् । उनीहरूले उद्धार र राहतलाई थप सहयोग गर्ने गरी निःशुल्क सेवासमेत सञ्चालनमा ल्याइएको बताएका छन् ।