काठमाडौं । एन्कर कन्ज्युमर प्रोडक्ट्सअन्तर्गतको ओरल केयर ब्रान्ड एन्करले इंग्ल्यान्डका क्रिकेटर तथा विश्वकप विजेता जोस बटलरलाई नेपालका लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्नुका साथै उपभोक्तासँगको सम्बन्ध थप मजबुत बनाउने उद्देश्यले कम्पनीले बटलरसँग साझेदारी गरेको जनाएको छ। नेपालमा अन्तर्राष्ट्रिय खेल व्यक्तित्वसँग एन्कर ओरल केयरले गरेको यो पहिलो सहकार्य हो।
यस साझेदारीअन्तर्गत बटलरले एन्करकी विद्यमान ब्रान्ड एम्बेसडर तथा पूर्वमिसनेपाल सुभेक्षा खड्कासँग मिलेर ब्रान्ड प्रवर्द्धन गर्नेछन्। बटलरको अन्तर्राष्ट्रिय खेल प्रतिष्ठा र खड्काको स्थानीय प्रभावमार्फत नेपाली उपभोक्तामाझ ब्रान्डको पहुँच विस्तार हुने कम्पनीको विश्वास छ।
साझेदारीबारे प्रतिक्रिया दिँदै एन्कर कन्ज्युमर प्रोडक्ट्सका निर्देशक करण शाहले ३० भन्दा बढी देशमा उपस्थिति रहेको एन्करका लागि नेपाल महत्त्वपूर्ण बजार भएको बताए। बटलरको विश्वस्तरीय प्रतिष्ठा र खेल कौशलले नेपाली उपभोक्तासँगको सम्बन्ध अझ प्रगाढ बनाउन सहयोग पुग्ने उनको भनाइ छ।
त्यसैगरी, कम्पनीका क्रिएटिभ निर्देशक कुणाल शाह र मार्केटिङ प्रमुख सन्दीप अब्बीले बटलरको नेतृत्व क्षमता, आत्मविश्वास र उत्कृष्ट प्रदर्शनले एन्करको गुणस्तर तथा विश्वसनीयताको मूल्यलाई प्रतिनिधित्व गर्ने बताए।
ब्रान्ड एम्बेसडरको जिम्मेवारी पाएकोमा खुसी व्यक्त गर्दै बटलरले एन्कर ओरल केयरसँग सहकार्य गर्न पाउँदा उत्साहित रहेको बताए। उनले मौखिक स्वास्थ्य व्यक्तिगत कल्याणको महत्त्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै नेपालभर स्वस्थ मौखिक स्वच्छतासम्बन्धी बानी प्रवर्द्धन गर्ने अभियानमा सहभागी हुन पाउनु सुखद भएको बताए।
कम्पनीका अनुसार बटलरसँगको साझेदारी बेलायत, भारत, नेपाल र मध्यपूर्वलगायतका बजारलाई समेट्ने गरी बहुवर्षीय अवधिका लागि गरिएको हो।
एक दशकभन्दा बढी समयदेखि नेपाली बजारमा सक्रिय एन्करले ओरल केयर, पर्सनल केयर तथा होम एन्ड हाइजिनसम्बन्धी उत्पादन बिक्री-वितरण गर्दै आएको छ। हाल कम्पनीका ह्वाइट, जेल, हर्बल, सेन्सेटिभ र किड्स श्रेणीका शतप्रतिशत साकाहारी टुथपेस्ट तथा टुथब्रस नेपाली बजारमा उपलब्ध छन्। यी उत्पादन आधुनिक र परम्परागत दुवै व्यापारिक सञ्जालमार्फत देशभर बिक्री-वितरण हुँदै आएका छन्।