काठमाडौं/ आइतबारदेखि काठमाडौं उपत्यकाका विभिन्न ६ स्थानमा एकीकृत बिक्री केन्द्रमार्फत जुनसुकै कम्पनीको खाली सिलिन्डर लगेर ग्यास पाइने भएको छ । दसैँअगाडि ग्यास आपूर्ति सहज गर्न सरकार र उद्योगीले उपभोक्तासँग भएका खाली सिलिन्डर साट्ने व्यवस्था मिलाएका हुन् ।
एलपी ग्यास उद्योग संघका अनुसार काठमाडौंको सिफलचौरमा रहेको एभरेस्ट र सुगम ग्यासको डिपो, पेप्सीकोलास्थित सगर ग्यासको डिपो, बालाजुस्थित नेपाल ग्यास उद्योग, सुकेधारास्थित बाबा र श्री ग्यासको डिपो, कलंकीस्थित साइबाबा र श्रीकृष्ण ग्यासको डिपो तथा ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको डिपोबाट उपभोक्ताले खाली सिलिन्डर लगेर ग्यास पाउनेछन् ।
संघ अध्यक्ष दिवान चन्दले दसैँअगाडि उपत्यकामा रहेका खाली सिलिन्डर सबै साटेर उपभोक्तालाई निर्धक्क बनाउन खोजिएको बताए । ‘नियमित खपतअनुसार ग्यास आइरहे पनि उपभोक्ताले नपाएको गुनासो बढेकाले एकीकृत डिपोमार्फत बिक्री गर्न खोजिको हो,’ उनले भने, ‘डिलरबाट ग्यास नपाएका उपभोक्ताले थोरै दुःख गरेर तोकिएको ठाउँमा गई ग्यास लिन सक्नुहुन्छ । त्यहाँ खाली सिलिन्डर लिएर गएपछि रित्तो फर्कनुपर्दैन ।’
यी ६ स्थानमा तोकिएका १२ ब्रान्डका ग्यास अनिवार्य रूपमा पाइने र थप अन्य ब्रान्डका ग्यास पनि राख्न उद्योगीलाई पत्राचार गरेको उनले बताए । ‘सकेसम्म उपभोक्ताले ल्याएको खाली सिलिन्डरकै ब्रान्डमा ग्यास दिएर पठाउने हो,’ उनले भने । यसपटक डिलरसँगको समन्वयमा ग्यास वितरण हुने उनले जानकारी दिए ।