कामना र एनएमएद्वारा चिकित्सकलाई वित्तीय साक्षरता

शुक्रबार, २३ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ कामना सेवा विकास बैंकले नेपाल चिकित्सक संघ (एनएमए)सँगको सहकार्यमा ६० जनाभन्दा बढी महिला चिकित्सकलाई वित्तीय साक्षरता प्रदान गरेको छ । चिकित्सकलाई वित्तीय व्यवस्थापन, बजेट निर्माण, बचत, लगानी तथा कर व्यवस्थापनसम्बन्धी ज्ञान र सिप दिने उद्देश्यले संघको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वित्तीय साक्षरतासम्बन्धी विषयमा सिए अनुपमा संग्रौला तथा बैंकको तर्फबाट डिजिटल अपरेसन विभागका प्रमुख जिनुसा पालिखे श्रेष्ठ र कर्जा अधिकृत सूर्यकान्त न्यौपानेले प्रस्तुति दिएका थिए । उनीहरूले सहभागी चिकित्सकलाई व्यक्तिगत वित्तीय योजना, बजेट निर्माण, बचत, लगानी, कर व्यवस्थापन तथा दीर्घकालीन वित्तीय सुरक्षालगायतका विषयमा व्यावहारिक जानकारी प्रदान गरे ।

संघका अध्यक्ष डा. बद्री रिजालले चिकित्सकले आफ्नो पेसासँगै वित्तीय व्यवस्थापनलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने बताए । उनले चिकित्सकको व्यावसायिक जीवनसँगै व्यक्तिगत तथा पारिवारिक आर्थिक सुरक्षाका लागि वित्तीय ज्ञान र व्यवस्थित वित्तीय योजना महत्वपूर्ण रहेको उल्लेख गरे । कार्यक्रम संयोजक डा. निशा आचार्यले महिला चिकित्सकका लागि वित्तीय साक्षरता महत्वपूर्ण भएकाले यस्ता कार्यक्रमले आर्थिक निर्णय क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने बताइन् ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष डा. लोचन कार्की, नेपाल मेडिकल काउन्सिलका सदस्य डा. युबिन यादव तथा संघकी कार्यकारी सदस्य डा. बिना श्रेष्ठलगायतको सहभागिता थियो । बैंकले वित्तीय पहुँच, वित्तीय साक्षरता र वित्तीय समावेशीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता गरेको छ । 

सुझावित समाचार