बागमती प्रदेश सरकारले जाजरकोट भूकम्पपीडितलाई राहतस्वरूप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आपतकालीन अवस्थामा कर्णाली प्रदेश सरकारलाई राहत र उद्धारमा सहयोग गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।
गएराति कर्णाली प्रदेशअन्तर्गत जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१, रामीडाँडामा केन्द्र विन्दु बनाई ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पबाट जाजरकोट र रुकुमपश्चिमका पीडितहरूका लागि राहत, उद्वार, र पुनर्निर्माणको लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख कर्णाली सरकारमार्फत वितरण गर्ने भएको हो।