तिहारको समयमा झिनियाँ बढी मात्रामा प्रयोगमा आउँछ। रंगीचंगी झिनियाँमा मिसाइने रङ स्वास्थ्यका लागि घातक हुने सरोकारवालाहरूको चिन्ता छ। तिहार नजिकिएसँगै बागलुङमा झिनियाँको माग बढी हुने गर्दछ।
तिहारका लागि झिनियाँ बनाउन यतिवेला घरेलु उद्यमीहरू निकै व्यस्त भएकाले रङ प्रयोग नगर्न सराेकारवालाले सचेत बनाएका छन्।
रङ नहाली झिनियाँ रोटी बनाउन र उपभोक्तालाई पनि रङ नभएको झिनियाँ रोटी खरिद गर्न आग्रह गरिएको छ । तिहारमा मात्र होइन, पछिल्लो समय विवाह, व्रतबन्ध, पूजाआजा र कोसेलीको रूपमा पनि झिनियाँ अत्यधिक प्रयोग हुन थालेपनि रङ मिसाएका झिनियाँ उत्पादन नगर्न प्रशासनले महिला उद्यमीलाई सचेत बनाएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए।
उनले झिनियाँ उत्पादन गर्ने उद्यमीलाई रङ प्रयोग नगरी झिनियाँ उत्पादन गर्न आग्रह गरिएको बताउँदै उपभोक्ताले समेत तिहारमा सेता झिनिया मात्रै खरिद गर्नेगरी सचेत रहनुपर्ने बताए। रंगिन झिनियाँ खाँदा क्यान्सरजस्तो घातक रोग लाग्ने जोखिम हुने खाद्यप्रविधि गुण नियन्त्रण कार्यालयका प्रमुख सौरभ श्रेष्ठले बताए।
चाडपर्वको समयमा नेपालीहरूले मिष्ठान्न परिकार बढी बनाउने र त्यसमा अत्यधिक रङ प्रयोग गर्ने गरेकाले यसले जोखिम निम्त्याउने उनले बताए। उनका अनुसार तेलमा नतारिने खानेकुरामा निश्चित मात्रमा खाद्य रङ प्रयोग गर्न सकिने भए पनि तेलमा तारेको वस्तुमा रङ मिसाउँदा क्यान्सरको जोखिम बढाउँछ।
एक केजी खाद्यपदार्थमा ०.२ ग्रामभन्दा बढी रङ प्रयोग गर्न नमिल्ने कानुनी व्यवस्था रहेको उहाँले जानकारी दिए। उपभोक्तामा रंगिन झिनियाँका कारण क्यान्सर रोगको जोखिम हुन्छ भन्ने चेतना फैलाउन नसक्दा यस्को उत्पादन र बिक्री–वितरण रोक्न नसकिएको प्रमुख श्रेष्ठको भनाइ थियो।
उपभोक्ताले भने सेतो झिनियाँ खरिद गर्न नमान्ने भएकाले सामान्य रङ मिसाएर झिनियाँ बनाउँदै आएको बागलुङ नगरपालिका– १ रामरेखाका झिनियाँ व्यवसायी शर्मिला श्रेष्ठले बताइन्। उनले खाद्यप्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयले भनेअनुसार रङ प्रयोग गर्ने गरेको जानकारी दिइन्।
रङ प्रयोग गरिएको भन्दै स्थानीय घरेलु उत्पादनको रूपमा चलिरहेका झिनियाँ रोटीका उद्योगलाई बन्द गर्दा सयौँको रोजीरोटी गुम्ने भएकाले बिस्तारै रङको प्रयोग घटाउँदै लैजाने गरी उत्पादनकर्तालाई सचेत बनाउँदै लगिने बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए।