नेपाल लाइफको बिजनेस रिभ्यु मिट

बिहिबार, १६ कार्तिक, २०८०
डिजिटल संस्करण

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय बिजनेस रिभ्यु मिट आयोजना गरेको छ । कम्पनीले ‘पराक्रमी गति आक्रामक नीति’ भन्ने नाराका साथ आयोजना गरेको कार्यक्रममा चालू आवको पहिलो त्रैमासको व्यापार समीक्षा गर्दै आर्थिक वर्ष ०८०/८१ को बाँकी समयावधिका लागि सेल्स रणनीति तर्जुमा गरेको हो । 

कार्यक्रम कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवाल, प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेललगायतका उच्च व्यवस्थापक तथा प्रादेशिक प्रमुखहरूको सहभागितामा आयोजना भएको जनाइएको छ ।

वरिष्ठ सञ्चालक अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रिरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको बताए । अहिलेको विषम परिस्थितिमा कम्पनीले जीवन बिमा बजारको २७ प्रतिशत बजार हिस्सा ओगट्दै बजारको लिडरका रूपमा आफूलाई स्थापित गराउन सफल भएको भन्दै सरोकारवालाको उनले प्रसंशा गरे । कम्पनीको सेल्स टिम तथा अभिकर्ता अत्यन्तै अनुभवी र परिपक्व भएको कारण आहिलेको विषम अवस्थामा पनि कम्पनीले उत्कृष्ट व्यापार गर्ने उनले विश्वास व्यक्त गरे । 

प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कर्मचारी तथा अभिकर्ताहरूलाई चालू आवको पहिलो त्रैमासको कार्यसम्पादनका लागि धन्यवाद दिँदै वर्षिक व्यापार लक्ष्य पूरा गर्न आह्वान गरेको जनाइएको छ । उनले कम्पनीले आफ्नो आन्तरिक तथा बाह्य प्रणालीलाई समयसापेक्ष बनाउनका निम्ति डिजिटलाइजेसनको काम थालनी गरिसकेको बताए । निकट भविष्यमा बिमितहरूले कम्पनीद्वारा प्रदान गरिने सेवा प्राप्त गर्न शाखा धाउनुपर्ने अवस्थाको अन्त्य हुने र बिमितहरूले घरमै बसीबसी सम्पूर्ण थप सेवा चुस्त–दुरुस्त तवरले प्राप्त गर्ने तयारी गरिरहेको उनको भनाइ थियो । 

कार्यक्रममा नेसनल सेल्स हेडसमक्ष सम्बन्धित विभागीय प्रमुखहरू तथा प्रादेशिक प्रमुखहरूले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेको जनाइएको छ । नेसनल सेल्स हेड पोखरेलले उच्च व्यवस्थापनले दिएको मार्गदर्शनअनुसार सेल्स टिम दत्तचित्त भई जीवन बिमा बजारको बजारीकरण तथा बिमाको पहुँचलाई बढाई कम्पनीको विरासतलाई निरन्तरता प्रदान गर्न कुनै कसर बाँकी नराखी कार्यसम्पादन गर्न सम्पूर्ण नेपाललाइफ कर्मी तयार रहेको बताए । 
 

सुझावित समाचार