रिगललाई आममाफी दिने निर्णयविरुद्धको रिटमा सुनुवाइ सकियो, आज फैसला आउने

बिहिबार, १६ कार्तिक, २०८०
डिजिटल संस्करण
रिगललाई आममाफी दिने निर्णयविरुद्धको रिटमा सुनुवाइ सकियो, आज फैसला आउने

रिगललाई आममाफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध माइतीघर मण्डलामा अनसन बसेकी भारती मानन्धर । फाइल तस्बिर

व्यक्ति हत्यामा जन्मकैद सजाय पाएका योगराज ढकाल ‘रिगल’लाई कैद कट्टा गरी जेलमुक्त गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा बिहीबार फैसला हुँदै छ । रिटमा सर्वोच्चले कस्तो निर्णय सुनुवाइ गर्ला भन्ने प्रश्नले यतिवेला भारती मानन्धरलाई बेचैन बनाएको छ ।

भारती गत शुक्रबारदेखि नै माइतीघर मण्डलामा आमरण अनशन बस्दै आएकी छिन् । अनशनका कारण उनको शरीर गलेको छ । कमजोरीले हातखुट्टाका मांसपेशी बाउँडिन थालेका छन् । उभिने तागत शरीरमा छैन । न आगन्तुकसँग कुरा गर्ने सामर्थ्य नै उनीसँग छ । शरीरमा ग्लुकोजको मात्रा घटेको छ । मांसपेशीलाई सामान्य अवस्थामा ल्याउन अस्पताल गइरहनुपर्छ । उनको सहयोगमा जुटेकी वसन्ती नेपालीले भनिन्, ‘आमरण अनशन बसेको पाँच दिन भयो । उहाँको शरीर पूरै कमजोर भएको छ । शरीरमा मांसपेशी बाउँडिन थालेका छन् । सामान्य अवस्थामा ल्याउन मसाज गरिरहनुपर्छ । ग्लुकोजको मात्रा पनि शरीरमा छैन । पुर्ताल गर्न अस्पताल गइरहनुपर्छ,’ उनले भनिन् ।

भारतीले थालेकी यो दोस्रो आमरण अनशन हो । यसअघि उनले गत असोजमा रिले अनशन गरेकी थिइन् । यही क्रममा दसैँ सुरु भयो । उनको अनशन प्रभावित बन्यो । त्यसलगत्तै स्थगित उनको दोस्रो चरणको अनशन गत शुक्रबारबाट सुरु भयो । यसपटक आमरण अनशनमा उत्रिएकी उनको स्वास्थ्य अवस्था निकै कमजोर बन्न पुगेको छ । अनशनस्थलमा भेटिएका उनका अर्का सहयोगी आशिष मल्ल ठकुरीले भने, ‘उहाँको यो दोस्रो चरणको अनशन हो । यसअघि गत असोजमा उहाँले रिले अनशन सुरु गर्नुभएको थियो । चाडपर्वका कारण अनशन प्रभावित बन्यो । अहिले भने आमरण अनशन नै सुरु गर्नुभएको छ । जसले गर्दा उहाँको शरीर जीर्ण बन्दै गएको छ ।’ २८ असार ०७२ मा नेपालगन्जका चेतन मानन्धरको खुँडा प्रहार गरी हत्या भयो । हत्याका मुख्य योजनाकार थिए रिगल । जिल्ला अदालत बाँकेले घटनामा संलग्न रहेको निष्कर्ष निकाल्दै रिगललाई जन्मकैदको फैसला गर्‍यो । तर, गत ३ असोजमा संविधान दिवसका दिन कैद सजाय कट्टा भई उनी जेलमुक्त भए । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनको कैद सजाय कट्टा गर्ने निर्णय गरेका थिए । 

मृतक उनै चेतनकी श्रीमती हुन् भारती । सरकारको अप्रत्याशित निर्णयले भारतीलाई मर्माहत तुल्यायो । आहत बनेकी उनले सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन त दिइन् । तर, सर्वोच्चमा भरोसा गर्ने ठाउँ उनले देखिनन् । किनकि रिगलको रिहाइ कांग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको दबाबमा भएको थियो । हारगुहार गर्दै उनी त्यही दिनदेखि चरणबद्ध अनशन बस्दै आएकी छिन् । भारतीका सहयोगी मल्लले भने, ‘रिगलको मुद्दा सर्वोच्चमा छ । फैसला के आउँछ भन्न सकिने अवस्था छैन । रिगल ठूलै राजनीतिक चलखेलका कारण छुटे । अदालतमा पनि त्यस्तै चलखेल नहोला भन्न सकिन्न । तर, आशा छ ।’

कैद सजाय कट्टामा राजनीतिक चलखेल
कारागार व्यवस्थापन विभागका निमित्त प्रमुख तथा प्रवक्ता कमलप्रसाद पाण्डेले कैद सजाय कट्टा भई जेलबाट छुटेकाहरू पुनः अपराधमा संलग्न हुनु सोचनीय रहेको बताए । ‘कैद कट्टा निश्चित मापदण्डका आधारमा हुन्छन् । यसका लागि सम्बन्धित व्यक्तिले निश्चित कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । यसरी छुटेकाहरू पुनः अपराधमा संलग्न हुनु सोचनीय विषय हो । यस्ता विषयमा राज्यले फरक ढंगले सोच्न आवश्यक छ । कैद कट्टाका लागि अपनाइने विधि प्रक्रिया मात्र नभई कैदीबन्दीको व्यवहार सुधारका लागि गरिने तौरतरिका पनि बदल्नु आवश्यक देखिन्छ,’ उनले भने । नेपाल प्रहरीका पूर्वडिआइजी तथा सुरक्षाविद् हेमन्त मल्ल पनि कैद कट्टा भई जेलबाट छुटेका कैदी पुनः अपराधमा संलग्न हुनु दुःखद विषय रहेको बताए । जेलबाट छुटेलगत्तै प्रतिवादी अपराधमा संलग्न हुनु राजनीतिक चलखेलको परिणाम भएको उनी ठान्छन् । ‘कैद सजाय कट्टा गर्ने निश्चित मापदण्ड छन्, तर त्यसलाई फलो गरिन्न । राजनीतिक चलखेलका आधारमा कैद कट्टा गरिन्छ । र, अपराधी सजिलै कैदमुक्त हुन्छ । यसले अपराधीलाई अपराध गर्न प्रोत्साहन गर्छ । जेलबाट छुटेलगत्तै पुनः अपराधमा फर्कनुको खास कारण यही देखिन्छ,’ उनले भने ।

जो कैद कट्टा भई जेलबाट छुटे, लगत्तै अपराधमा संलग्न भए 
लोकबहादुर विक रुकुम पश्चिम सानीभेरी गाउँपालिका– ९ सिम्लीका हुन् । बहुविवाह कसुरमा उनी जेल परे । ६ महिना कैद सजाय भुक्तानपछि उनको कैद सजाय कट्टा गर्ने निर्णय भयो । नभन्दै उनी गत ३ असोजमा संविधान दिवसका दिन जेलबाट छुटे, तर उनी सुध्रिएनन् । जेलबाट छुटेको महिना दिन नपुग्दै रुकुम पश्चिम मुसिकोट नगरपालिका– ७ साँखकी २८ वर्षीया भावना विकको हत्या गरे । प्रहरीका अनुसार उनले भावनालाई होटेलमा लगेर घाँटी काटेका थिए । 

यस्तै, गणतन्त्र दिवसमा असल चालचलनका आधारमा छुटेका हेटौँडा उपमहानगरपालिका– २ का रामचन्द्र थापा फिरौती रकम माग गरेको अभियोगमा पक्राउ परेका छन् । चितवन बस्दै आएका उनी कैद कट्टा भई गत १५ जेठमा गणतन्त्र दिवसका दिन जेलबाट छुटेका थिए । डाँका मुद्दामा पक्राउ परेर नौ वर्ष कैद सजाय पाएका थापा सरकारको सिफारिसमा राष्ट्रपतिबाट ५० प्रतिशत कैद छुट पाएर रिहा भएका थिए । उनी साढे चार वर्षमै कैदमुक्त भए । प्रहरीका अनुसार उनले चितवनका औषधि पसल सञ्चालक सोमराज सुवेदीलाई धम्क्याउँदै रकम मागेपछि पक्राउ परेका हुन् । थापाले सुवेदीसँग ८ कात्तिकमा २५ लाख रुपैयाँ माग गरेका थिए । पैसा नदिए सुवेदी र उनका छोरालाई समेत सुट गरेर मार्ने धम्की थापाले दिएपछि प्रहरीलाई खबर गरेका थिए । चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले थापालाई पक्राउ गरेर अनुसन्धान भइरहेको बताए ।

थापा यसअघि पनि विभिन्न अपराधमा पटक–पटक पक्राउ परेका व्यक्ति हुन् । डिएसपी पण्डितका अनुसार थापाविरुद्ध पहिलोपटक २७ जेठ ०६६ मा चितवन प्रहरीले चोरी मुद्दा दर्ता गराएको थियो । सोही वर्षको ३ असारमा अवैध हातहतियार देखाएर डाँका गरेको अभियोग पनि उनलाई लागेको थियो । त्यसैगरी, २२ वैशाख ०७३ मा ललितपुरको सातदोबाटो प्रहरी वृत्तले थापाविरुद्ध लागुऔषध अपराधमा मुद्दा दर्ता गरेको डिएसपी पण्डितले बताए । १३ मंसिर ०७५ मा चितवन प्रहरीले डाँकासम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा उनी जेल गएका थिए ।

हजुरआमा र काकीको हत्या गरेको प्रमाणित भएपछि नवलपुर गैँडाकोट टोलटोलेका ३४ वर्षीय सुरेशबहादुर कुमालविरुद्ध सर्वस्वसहित जन्मकैदको फैसला भयो । उनी जेल चलन भए । पछि उनको चलचलन ठीक भएको भन्दै कैट सजाय कट्टा गरी जेलमुक्त गर्ने निर्णय भयो । नभन्दै उनी १५ जेठ ०७९ मा कैद मुक्त भए, तर उनी सुध्रिएनन् । जेलबाट छुटेको महिना दिन नबित्दै उनले चितवनस्थित माडी नगरपालिका– ४ शीतलपुर घुँसेरीका ३४ वर्षीय जीवन नेपालीको हत्या गरे । प्रहरीका अनुसार उनले नेपालीलाई धारिलो हतियारले टाउकोमा प्रहार गरेका थिए ।

सुझावित समाचार