आइसिसी एकदिवसीय विश्वकप - २०२३ : दक्षिण अफ्रिका शीर्ष स्थानमा

तीन सय ५८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३५.३ ओभरमा एक सय ६७ रनमै धराशायी

बिहिबार, १६ कार्तिक, २०८०
डिजिटल संस्करण

 दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई एक सय ९० रनको फराकिलो अन्तरले हराउँदै आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमाथि कब्जा जमाएको छ । पुनेमा पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा चार विकेट गुमाएर तीन सय ५७ रनको विशाल योगफल खडा गरेको थियो । प्रत्युत्तरमा न्युजिल्यान्डले ३५.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६७ रन मात्र जोड्यो । जितसँगै दक्षिण अफ्रिकाले सात खेलबाट १२ अंक जोडेको छ । न्युजिल्यान्ड आठ अंकका साथ चौथो स्थानमा सीमित भएको छ । 

दक्षिण अफ्रिकाको जितमा ओपनर क्विन्टन डी कोक र भान डे दुसानले शतकीय इनिङ्स खेलेका थिए । दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई सन् १९९९ को विश्वकपपछि हराएको हो । दुई दशकपछि दक्षिण अफ्रिकाले न्युजिल्यान्डमाथि विश्वकपमा सानदार जित निकाल्न सफल भयो । चालू विश्वकपमा दक्षिण अफ्रिकाले सात खेल खेल्यो । यसक्रममा चारपटक दक्षिण अफ्रिकाले तीन सय ५० रनमाथिको योगफल खडा गरेको छ । डी कोकले आफ्नो २१औँ एकदिवसीय अन्तर्राष्ट्रिय शतक 
पूरा गरे । 

उनले सन् २०१५ र २०१९ को संस्करणमा पनि शतक लगाएका थिए । न्युजिल्यान्डविरुद्धको खेलमा दक्षिण अफ्रिकाले अन्तिम २० ओभरमा दुई सय दुई रन बनाएको थियो । पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ३१ देखि ५० ओभरसम्म तीन विकेट मात्र गुमाएको थियो । यसक्रममा डेभिड मिलरले ३० बलमा दुई चौका र चार छक्का प्रहार गरी ५३ रन बनाए । भान डेरले एक सय १८ बलमा एक सय ३३ रन जोडे । उनले नौ चौका र पाँच छक्का ठोके । 

डी कोकको विश्वकपमा चौथो शतक
दक्षिण अफ्रिकाका ओपनर डी कोकले आइसिसी एकदिवसीय विश्वकपमा चौथो शतक प्रहार गरेका छन् । उनले विश्वकपअन्तर्गत न्युजिल्यान्डविरुद्धको महत्वपूर्ण खेलमा शतकीय इनिङ्स खेलेका हुन् । उनले एक सय तीन बलमा शतक पूरा गरेका हुन् ।

चालू विश्वकपमा उनले श्रीलंकाविरुद्ध सय रन, अस्ट्रेलियाविरुद्ध एक सय ९ र बंगलादेशविरुद्ध एक सय ७४ रनको इनिङ्स खेलेका थिए । एकै विश्वकपमा सर्वाधिक शतक लगाउने भारतका कप्तान रोहित शर्मा हुन् । डी कोक एकै विश्वकपमा चार शतक संख्या पूरा गर्ने विश्वका तेस्रो र दक्षिण अफ्रिकाका पहिलो खेलाडी हुन् । न्युजिल्यान्डविरुद्धको इनिङ्समा उनले एक सय १६ बलमा १० चौका र तीन छक्का प्रहार गरेका थिए । उनले आफ्नो इनिङ्समा एक सय १४ रन बनाए ।

लक्ष्य पछ्याएको न्युजिल्यान्डको इनिङ्समा केशव महराजले ४६ रन खर्चेर सर्वाधिक चार विकेट लिए । न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६० रनको योगदान दिए । उनले ५० बलमा समान चार चौका र छक्का प्रहार गरे । यसैगरी, विली योङले ३७ बलमा पाँच चौकाको सहयोगमा ३३ रन बनाए । 

सुझावित समाचार