तलबभत्ताको माग राख्दै विष्णुपुरका कर्मचारी धर्नामा

बुधबार, १५ कार्तिक, २०८०
डिजिटल संस्करण

तलबभत्तालगायत चार सूत्रीय माग राख्दै सिराहाको विष्णुपुर गाउँपालिकाका कर्मचारीले धर्ना सुरु गरेका छन्।

उनीहरूले आर्थिक वर्ष ०८०/८१ गाउँ सभा सम्पन्न गरी गाउँपालिकाअन्तर्गत रहेका कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीहरूको तलबभत्ता निकासी गर्नुपर्ने माग राखेका छन्।

विद्यालय तथा स्वास्थ्य संस्थाहरूमा थप जनशक्ति व्यवस्था गर्नुपर्ने, स्वास्थ्य संस्थाहरूमा अति आवश्यक औषधिहरूको परिपूर्ति गर्नुपर्ने र गाउँपालिकाको आर्थिक प्रशासन, विकास निर्माणलगायतको अन्य मागहरू पूरा गर्नुपर्ने माग राख्दै धर्ना सुरु गरेको हो।

विष्णुपुर गाउँपालिका संघर्ष समितिको आयोजनामा बुधबारदेखि धर्ना सुरु गरी अगामी कात्तिक २१ गतेसम्म रहने नगर शिक्षा संयोजक दीपकुमार यादवले बताएका छन्।

‘गाउँपालिकाले गाउँसभा गर्न नसक्दा कर्मचारीले तलबभत्ता पाउन सकेको छैनन्,’ संयोजक यादवले भने, ‘गाउँसभा नहुँदा कर्मचारीले तलबभत्ता मात्र नभएर विकास निर्माण नै रोकिन पुगेको छ।’

कर्मचारीहरू आन्दोलनमा उत्रिएसँगै गाउँपालिकाका सेवा प्रवाह प्रभावित बनेका छन्। गाउँपालिकाको प्रशासन, शिक्षा, स्वास्थ्यलगायतका सबै एकाइमा कार्यरत कर्मचारी आन्दोलित बनेपछि सेवा प्रवाह अवरुद्ध हुन पुगेको हो।

यता गाउँपालिका अध्यक्ष सत्यनारायण यादवले गाउँ सभा गराउने प्रयासमा रहेको र चाँडै गाउँ सभा गरी निकास निकाल्ने बताएका छन्।

See More On

सुझावित समाचार