गाजामा मारिनेमध्ये ४० प्रतिशत बालबालिका

बुधबार, १५ कार्तिक, २०८०
डिजिटल संस्करण

इजरायलले गाजापट्टीमा स्थल आक्रमण सुरु भएसँगै युद्ध झन् चकिएको छ । इजरायली फौजले अहिले मुख्य उत्तरी भेगमा स्थलसेना परिचालन गरेको छ । त्यसैले उसले गाजाका उत्तरी भेगका स्थानीय बासिन्दालाई दक्षिणतर्फ जान निर्देशन दिएको छ । स्थलसेना परिचालन गरिसके पनि इजरायलले यस सैन्य अभियानलाई ‘पूर्णस्तरको अतिक्रमण’को संज्ञा दिएको छैन । अक्टोबर ७ देखि भड्किएको पछिल्लो युद्धमा नौ हजार प्यालेस्टिनी र चौध सय इजरायलीको ज्यान गइसकेको छ, जुन ‘गाजा–इजरायल सीमा’ क्षेत्रमा हमासले घुसपैठपछि अन्धाधुन्ध आक्रमणपछि सुरु भएको हो । हमासले सो आक्रमणपछि दुई सयभन्दा बढी इजरायलीलाई बन्धक बनाएको छ । 

आइतबारसम्म पनि कतारको मध्यस्थतामा दुई पक्ष बन्दी छुटाउने विषयमा वार्तामा थिए । हमासले उसले बन्धक बनाएहरूमध्ये आम मानिसलाई छुटाएबापत पाँच दिनको युद्धविराम चाहेको रोयटर्सले उल्लेख गरेको छ । इजरायली सेनाका प्रवक्ताले सोमबारसम्म पछिल्लो २४ घन्टामा ६०० हमासका निसानामा बम हानेको दाबी गरे । दुवै पक्षमा मर्नेमा आमनागरिकको हिस्सा उलेख्य छ । 

‘सन् २०१९ यता विश्वभर मारिएकाभन्दा बढी बालबालिका तीन हप्तामा गाजामा मारिए’उता गैरनाफामूलक संस्था ‘सेभ द चिल्ड्रेन’ले आइतबार गाजामा मारिएकामध्ये ४० प्रतिशत बालबालिका रहेको बतायो । त्यस्तै हजार बालबालिका अझै बेपत्ता रहेको पनि उसले जानकारी दियो । तीमध्ये धेरै भग्नावशेषभित्र पुरिएका हुन सक्ने चिन्ता व्यक्त गरिएको छ । ‘गाजामा पछिल्लो तीन सातामा मारिएका बालबालिकाको संख्याले सन् २०१९ देखि विश्वभरका युद्धग्रस्त क्षेत्रमा मारिएका बालबालिकाको संख्या उछिनेको छ,’ सेभ द चिल्ड्रेनले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

इजरायलले खाद्यान्न, इन्धन, विद्युत्, चिकित्सकीय सामग्री तथा पानीको आपूर्तिमा लगाएको नाकाबन्दीलाई जारी राखेको छ । पछिल्लो समय इजिप्ट र गाजाबीचको राफा नाकाबाट सीमित परिणामको खाद्यान्न र चिकित्सकीय सहयोग गाजा प्रवेश गर्न दिइएको छ । शुक्रबार(अक्टोबर २७) गाजाभर सञ्चार अवरुद्ध भएको थियो । आइतबारबाट सञ्चार सुचारु हुन थालेको अन्तर्राष्टिय मिडियाले बताए । उता आइतबार प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले इजरायली फौजले अल–कुद्स अस्पताल छिटोभन्दा छिटो खाली गर्न ‘गम्भीर धम्की’ पाएको बतायो ।

रोयटर्सका अनुसार करिब १४ हजार आमनागरिक बमबारीबाट बच्न सो अस्पतालमा आश्रय लिइरहेका छन् । अस्पताल प्रशासनले त्यहाँ धेरै गम्भीर प्रकृतिका बिरामीको उपचार भइरहेकाले तिनलाई स्थानान्तरण गर्न असम्भव हुने बतायो । बिबिसीले स्थानीयलाई उद्धृत गर्दै अस्पतालको नजदिकी भागमा बमबारी सुरु भएको समाचार लेखेको छ । उता नेपालको भ्रमणमा रहेका एन्टोनी गुटेरेसले इजरायल–गाजा द्वन्द्वबारे टिप्पणी गर्ने क्रममा गाजाको स्थिति प्रतिक्षण जटिल बन्दै गएको टिप्पणी गरे । ‘इजरायलले अत्यावश्यक मानवीय सहायताका लागि युद्धविराम गर्नुको साटो युद्ध चर्काएको कुराले मलाई निकै दुःखी बनाएको छ,’ गुटेरेसले भने । 

३१ पत्रकार मारिइसके : सिपिजे
इजरायल–गाजा युद्धमा कैयौँ पत्रकारको ज्यान गएको छ । ‘कमिटी टु प्रोटेक्ट जर्नालिस्टस्(सिपिजे)’ले गाजा युद्धमा मारिएका, घाइते, कैद गरिएका वा बेपत्ता पत्रकारको लेखाजोखा राखेको उसको वेबसाइटमा दाबी गरेको छ । सिपिजेका अनुसार उसको प्रारम्भिक अनुसन्धानले अक्टोबर ७ मा युद्ध सुरु भएदेखि अक्टोबर ३१ सम्म दुवैतर्फ गरी कुल ३१ पत्रकार मारिइसकेका छन् । गाजामा जारी युद्धको रिपोर्टिङ गरिरहेका पत्रकारहरू अहिले निरन्तर बमबारी, सञ्चार अवरोध र लामो विद्युत् विच्छेदनबीच उच्च जोखिममा काम गरिरहेका छन् ।

मर्ने ३१ पत्रकार २६ प्यालेस्टाइनी मूलका छन् भने चार इजरायली र एकजना लेबनानी रहेको सिपिजेले बताएका छन् । त्यस्तै नौ पत्रकार युद्ध रिपोर्टिङका क्रममा बेपत्ता भएको र आठ घाइते भएको उसको रिपोर्टमा उल्लेख छ । सिपिजेले मारिएका पत्रकारको नामको सूची उसको बेवसाइटमा राखेको छ । सूचीमा टिभी पत्रकार, छापा पत्रकार र फोटो पत्रकारहरू देखिन्छन् । 

इजरायली सैन्य फौजले रोयटर्स र एएफपी समाचार एजेन्सीलाई गाजा क्षेत्रमा सक्रिय तिनका पत्रकारको सुरक्षाको ग्यारेन्टी दिन नसक्ने चेतावनी दिएको तिनले बताएका छन् । तिनले आफ्ना पत्रकारको सुरक्षाको प्रत्याभूति खोज्दा त्यस्तो जवाफ पाएको रोयटर्सले अक्टोबर २७ मा लेखेको थियो ।

६४ संयुक्त राष्ट्रसंघका कर्मचारीको मृत्यु
सोमबार संयुक्त राष्ट्रसंघका कमिसनरले आफ्नो संस्थासँग आबद्ध उलेख्य कर्मचारीको मृत्यु भएको तथ्यांक सार्वजनिक गरे । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई सम्बोधन गर्ने क्रममा प्यालेस्टिनी शरणार्थीको उद्धारका लागि काम गर्ने संयुक्त राष्ट्रसंघीय एजेन्सीका कमिसनर फिलिप लाजारिनीले कम्तीमा ६४ संयुक्त राष्ट्रसंघीय सहायताकर्मीको ज्यान गएको जानकारी गराए । उनका अनुसार यो छोटो समयमा यति धेरै राष्ट्रसंघीय सहायताकर्मी मारिएको घटना हो । मारिने सहायताकर्मीमध्ये अधिकांश गाजा क्षेत्रमा भएको इजरायली बमबारीमा परेको अन्तर्राष्ट्रिय मिडियाले बताएका छन् । 

सुझावित समाचार