कांग्रेसको चियापानमा नेताहरूको जमघट

आइतबार, १२ कार्तिक, २०८०
डिजिटल संस्करण

कूटनीतिक सफलताका कारण नेपालमा उच्चस्तरीय भ्रमण भइरहेको प्रधानमन्त्रीको भनाइ, व्यवस्थाप्रति जनविश्वास नघटेको कांग्रेस सभापति देउवाको दाबी, दलहरूमाथि प्रश्न उठाउने कोसिसलाई यथासमयमा जवाफ दिने एमाले अध्यक्ष ओलीको भनाइ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको कूटनीतिक सफलताका कारण उच्चस्तरीय भ्रमण हुन लागेको बताएका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री प्रचण्डले उनको भ्रमणबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । महासचिव गुटेरेस चारदिने नेपाल भ्रमणका लागि आइतबार राति नेपाल आउँदै छन् ।

कांग्रेसले शनिबार राजधानीमा आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले महासचिवको भ्रमणबाट नेपाली जनताको आवश्यकता सम्बोधन गर्न महत्वपूर्ण सहयोग पुग्ने बताए । प्रधानमन्त्री प्रचण्डका अनुसार राष्ट्रसंघका महासचिवले नेपाल भ्रमणका क्रममा जलवायु परिवर्तन, शान्ति प्रक्रिया र नेपालको आर्थिक विकासको लक्ष्यबारे सम्बोधन गर्नेछन् । 

प्रधानमन्त्री प्रचण्डले महासचिवको भ्रमणलगत्तै कतारका राजा शेख तमिम बिन हमद अल थानी पनि नेपाल भ्रमणमा आउन लागेको जानकारी दिए । नेपालको कूटनीतिक सफलताको परिणामस्वरूप उच्चस्तरीय भ्रमण हुन लागेको उनको दाबी छ । ‘यसबीचमा मैले भारत, अमेरिका र चीनमा गरेको भ्रमणको सन्दर्भमा जुन कूटनीतिक पहल भए त्यसैको परिणामस्वरूप संयुक्त राष्ट्रसंघका महासचिव र कतारका राजा नेपाल आउँदै हुनुहुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मलाई लाग्छ– हाम्रो कूटनीतिक सफलताको परिणामस्वरूप महासचिव आउँदै हुनुहुन्छ, यसले नेपालको प्रतिष्ठामा र नेपाली जनताको आवश्यकता सम्बोधन गर्ने कुरामा महत्वपूर्ण भूमिका खेल्नेछ ।’

आफूले प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरेदेखि नै राजनीतिक दलहरूका बीचमा समझदारी बनाउन प्रयास गर्दै आएको उनको भनाइ छ । उनले मुलुकमा अराजकता निम्त्याउने उद्देश्यले राजनीतिक दलहरूमाथि प्रश्न उठाउने गरिएको दाबी गरे । प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण राजनीतिक दल एक ठाउँमा उभिएर त्यस्ता प्रवृत्तिलाई गतिलो जवाफ दिने तयारी भइरहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले चाडपर्वमा हुने चियापान कार्यक्रमले आपसी एकता अभिवृद्धि गर्न मात्रै नभई देशको राष्ट्रिय राजनीतिलाई पनि स्थिरतातर्फ लैजान सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे । ‘मुलुकलाई सहमति र समझदारीको बाटोमा लैजाने तथा जनताको अपेक्षाअनुसार विकास, निर्माण र समृद्धिलाई अघि बढाउन चियापानले कुनै न कुनै रूपले सहयोग गर्दै आएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने । 

कार्यक्रममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलप्रति जनताको आशा र भरोसा उत्तिकै कायम रहेको दाबी गरे । राजनीतिक दल र राज्यका संस्थाप्रति विश्वास नघटेको, तर दलहरूले राम्रो काम गर्नुपर्ने देउवाको भनाइ छ । कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरूप्रतिको आलोचनालाई सकारात्मक रूपमा लिएको देउवाले बताए । 

‘दलहरूप्रति आएको आलोचना र टिप्पणीलाई मैले सकारात्मक लिएको छु । राजनीतिक दल र राज्यका संस्थाप्रति विश्वास घटेको छैन । राजनीतिक दलहरूले आफूलाई जनताका बीचमा लोकप्रियता हासिल गर्न राम्रोसँग काम गर्नुपर्छ,’ उनले भने । कांग्रेस पार्टीभित्र बेमेल नभएको उनले दाबी गरे । ‘दलभित्रको फरक मत हुन सक्लान्, यसलाई हामीले व्यवस्थापन गरिरहेका छौँ,’ कांग्रेसभित्र विवाद रहेकोबारे संवाददाताहरूको जिज्ञासामा देउवाले भने ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले राजनीतिक दलहरूप्रति प्रश्न उठेकोभन्दा पनि उठाइएको दाबी गरे । ‘राजनीतिक दलहरूमाथि प्रश्न उठेको होइन, उठाउने कोसिस गरिएको छ, यस विषयको जवाफ यथासमयमा यथोचित ढंगले दिइनेछ,’ ओलीले भने । 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनौतीलाई हल गर्न पनि दलहरू एक हुनुपर्ने बताए । उनले विभिन्न प्रतिकूलता र आन्दोलनमा खारिएर आएका दलहरूको क्षमता र भूमिकामाथि हलुका टिप्पणी हुनु र प्रश्न उठाउनु दुखद भएको बताउँदै समय आएपछि यसको जवाफ दिने उल्लेख गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चियापानले दलहरूप्रति संवाद आदान–प्रदान हुने धारणा राखे । उनले गरिबी, अशिक्षा, भ्रष्टाचार जस्ता राष्ट्रिय समस्याहरू राजनीतिक दलहरूका साझा मुद्दा भएकाले यसको समाधानका लागि मिलेर अगाडि बढ्नुपर्ने बताए ।

शुभकामना आदान–प्रदान कार्यक्रममा राजनीतिक दलका प्रमुख नेता, मन्त्रीहरू, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका व्यक्ति सहभागी थिए । बिपी कोइराला ०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले ०३४ देखि चियापान सुरु गरेको हो ।

सुझावित समाचार