शनिबार दिउँसो २ देखि ५ बजेसम्म कांग्रेसको चियापान

शुक्रबार, १० कार्तिक, २०८०
डिजिटल संस्करण

कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले भोलि शनिबार दिउँसो २ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गर्दै छ ।

बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गर्न लागेको पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाले बताए

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले भने, ‘बिपीले तत्कालीन अवस्थामा राजनीतिक संवाद र भेटघाटको आवश्यकता महसुस गरी थालनी गर्नुभएको चियापान कार्यक्रमले अहिले पनि मुलुकमा राजनीतिक सौहार्दता र एकता कायम गर्न योगदान पुर्याउनेछ ।’

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ भने अन्य जिल्लाको चियापानको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गर्नेछन् ।

कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रीगण, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ ।

बिपी वि.सं. २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले वि.सं. २०३४ देखि चियापान सुरु गरेको हो । वि.सं. २०३८ सम्म बिपीले यसलाई निरन्तरता दिएका थिए ।

त्यसपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिएका छन् । कांग्रेसले बडादसैँको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।     

सुझावित समाचार