राष्ट्रपति पौडेलद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना

आइतबार, ५ कार्तिक, २०८०
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँअन्तर्गत महाअष्टमीको शुभअवसरमा आज बिहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजा–अर्चना गरेका छन् । राष्ट्रपति पौडेलसँग प्रथम महिला सबिता पौडेल पनि पूजाअर्चनामा सहभागी भएकी थिइन् ।

राष्ट्रपति पौडेल पाँचखाल नगरपालिका– ९ पलाञ्चोकस्थित पलाञ्चाेक भगवती मन्दिरमा दर्शन गर्न आज बिहान पाँचखाल आएका हुन् । बडादसैँका अवसरमा महाअष्टमीको दिन राष्ट्रप्रमुखले पलाञ्चाेकसहित नवदुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा रहिआएको छ ।

राष्ट्रपति पौडेललाई मन्दिर आएका दर्शनार्थीले स्वागत गरेका थिए । पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरको रूपमा परिचित छ ।  

पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार ६ सय ५५ वर्ष पहिले अर्थात् सन् ४२५ सालमा निर्माण भएको हो । पलाञ्चोक भगवतीलाई भगवतीको जेठी दिदीको रूपमा समेत लिने गरिन्छ ।

यस पलाञ्चोक शक्तिपीठमा विशेष गरी दसैँ, माघेसंक्रान्ति र वैशाख पूर्णिमामा भक्तजनको ठूलो भिडभाड हुने गर्दछ । यहाँ भक्तजनको मनोकामना पूरा हुने विश्वास गरिँदै आइएको छ ।  

राष्ट्रपति पौडेललाई जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतम, पाँचखालका नगरप्रमुख महेश खरेल तथा उपप्रमुख सूर्यमाया दनुवार, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा तथा स्थानीय जनप्रतिनिधिले पलाञ्चोक भगवती मन्दिर परिसरमा स्वागत गरेका थिए ।

सुझावित समाचार