धेरैजसो घरपरिवारसँगै रमाउँदै छन्, फुर्सदमा पनि व्यावसायिक योजनामै व्यस्त
वर्षभरिमै सबैभन्दा लामो समय कामबाट फुर्सद हुने समय दसैँ नै हो । दसैँ पूजाआजा, खानपिन र रमाइलो गरेर तथा टीका लगाएर मनाइने परम्परागत संस्कृतिमा केही परिवर्तन हुन थालेको देखिएको छ । मानिसहरू लामो बिदाको समय पारेर घुमघाममा निस्कने पनि गर्न थालेका छन् । तर, उद्योगी–व्यवसायी भने दसैँलाई घरमै बसेर परिवारसँगै रमाउन तथा व्यावसायिक योजनाका बारेमा परिवारसँग छलफल गर्न रुचाउने गरेको देखिएको छ । कसरी मनाउँछन् उद्योगी–व्यापारीले दसैँ ?
व्यावसायिक योजना बनाइन्छ : पशुपति मुरारका, पूर्वअध्यक्ष, नेउवा महासंघ
मारबाडी समुदायमा दसैँ मनाउने चलन केही फरक छ । घरमा नवरात्रको पूजा हुन्छ । दसैँमा मान्यजनको हातबाट टीका–जमरा लगाउने चलन छैन । तर, दशमीको दिन पुरेतका हातबाट टीका लगाउँछौँ । हाम्रो मारकाट गर्ने प्रचलन हुँदैन । नवरात्रभरि लसुन–प्याजसमेत चल्दैन । त्यसैले सात्विक खाना खाइन्छ ।
दसैँ फुर्सदिलो समय हो । व्यापार–व्यवसाय नचल्ने हुँदा सबै घरमै भइन्छ । घरमा परिवार जमघट भई रमाइलो गर्छौँ । फुर्सद हुनाले व्यावसायिक प्लान बनाउने काम हुन्छ । नयाँ आइडियामा परिवारभित्र छलफल हुन्छ । म दसैँमा बाहिर घुमफिर गर्न जान्नँ । सधँैजसो घरमै हुन्छु । बरु, दसैँमा फुर्सद हुने हुनाले दैनिक तीन–चार घन्टा काठमाडौंआसपासकै डाँडातिर साथीभाइसँग हाइकिङ जान्छु ।
परिवार, कर्मचारी र पर्यटकसँग मनाउँछु : वसन्त मिश्र, पर्यटन उद्यमी
दसैँ–तिहार पर्यटनको मुख्य सिजन हो । यही समयमा झन् व्यस्त हुनुपर्छ । हामीलाई दसैँमा त्यति फुर्सद हुँदैन । हाम्रा कर्मचारीहरू पनि दसैँमा पर्यटकलाई सेवा दिन तम्तयार भएर बस्नुपर्छ । त्यसैले कर्मचारी व्यवस्थापनमै समय दिनुपर्छ । कतिपय कर्मचारी दसैँमा घर जान्छन् । दसैँमा नजानेहरू तिहारमा जान्छन् । दसैँमा पर्यटकलाई साइट सिन, माउन्टेन फ्लाइटमा लैजानुपर्ने हुन्छ ।
कर्मचारीहरू पनि मेरो परिवार नै हुन् । उनीहरू खुसी हुने गरी व्यवस्थापन गर्नुपर्छ । यही व्यवस्थापनमै मेरो ७० प्रतिशत समय जान्छ । बरु, पर्यटकीय सिजन सकिएपछि पिकनिक अर्गनाइज गर्छौँ । सबै रमाइलो गर्छौँ । दसैँ–तिहारमा आउने पर्यटकलाई नेपाली पर्वको अनुभूति दिलाउने गरी कार्यक्रम गर्छौँ, ताकि आफ्नो देशमा फर्किएर नेपाली पर्वहरूबारे गुणगान गाओस् । अब दसैँपछि वर्ल्ड ट्राभल मार्ट (डब्लुटिएम)मा लन्डन जाँदै छु । दसैँमा मान्यजनको हातबाट टीका र आशीर्वाद थापिन्छ । आफूभन्दा सानालाई टीका लगाइन्छ । यसरी नै दसैँको समय बित्ने गरेको छ ।
पोखरामा मनाउँछु : अञ्जन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष, नेउवा महासंघ
हाम्रो मूल घर पोखरा हो । आज (शनिबार) पोखरा जाँदै छौँ । दसैँमा मूलघरमा पारिवारका २२–२३ जना सदस्य जम्मा हुन्छौँ । वर्षभरि व्यस्त रहनेहरूका लागि दसैँ पारिवारिक मिलनको समय पनि हो । अलि लामो फुर्सद पनि मिल्छ । त्यसैले परिवारभित्रै रमाइलो गर्ने हो । विभिन्न परिकार बनाउने, खाने गरिन्छ । मलाई खसीको मासुका परिकार बनाउन मन लाग्छ र मिठै बनाउँछु भन्ने लाग्छ । घरमा सेलरोटी पोल्न पनि मज्जा लाग्छ । जसले जुन परिकार बनाउन जानेको छ, त्यही पकाएर खुवाउने गर्छौँ ।
पोखरा गएपछि पुराना साथीभाइसँग भेटघाट हुन्छ । बाल्यकालका पुराना यादहरू साझा गर्न पाइन्छ । पोखराका मन्दिरहरू पनि दर्शन गर्न गइन्छ । दसैँको पूजा गरिन्छ । नेवारी परम्पराअनुसार अष्टमीको बेलुका कुछीभ्वय मनाउने प्रचलन छ । नेवारी विधिअनुसार भोज खाइन्छ, त्यसका लागि बिहानैदेखि नेवारी परिकार बनाउन व्यस्त भइन्छ । नवमीको दिन सवारीसाधन र फ्याक्ट्रीमा पूजा गरिन्छ । दशमीको दिन मान्यजनबाट टीका–आशीर्वाद थाप्ने र सानोलाई टीका लगाइदिने गर्छौँ ।
कार्यक्षेत्रमै बित्छ : कुलमान घिसिङ, कार्यकारी निर्देशक, नेविप्रा
यसपालि म सामान्य अस्वस्थ छु । त्यसैले दसैँ मनाउन गृहजिल्ला (रामेछाप) जाँदिनँ, काठमाडौंमै दसैँ मनाउँछु । त्यसमाथि पेसागत रूपमा पनि दसैँमा हामी सक्रिय हुनुपर्छ । दसैँको समयमा उद्योग, कारखाना, कार्यालयहरू बन्द हुँदा विद्युत्को खपत धेरै हुँदैन । विद्युत्को माग तलमाथि भइराख्छ । भइपरि आउने समस्या पनि हुन्छ । परिस्थितिअनुसार विद्युत्को व्यवस्थापन गर्नुपर्ने हुन्छ । एक हिसाबले हामी २४ घन्टा नै तयारी अवस्थामा बस्नुपर्छ । त्यसतिर भने म सक्रिय हुन्छ ।
काठमाडौंमै हुन्छु : चंकी क्षेत्री, अध्यक्ष, नेपाल बिमक संघ
म यसपालि काठमाडौंमै दसैँ मनाउछु । यसअघि म हरेक वर्ष गाउँ (भानु नगरपालिका, तनहुँ) जाने गर्थें । तर, यसपालि आमा बिरामी हुनुहुन्छ । अहिले आमा काठमाडौंमै हुनुहुन्छ । त्यसैले सम्पूर्ण परिवारसहित काठमाडौं दसैँ मनाउँछौँ । दसैँलगत्तै भने आमा गाउँ जानुहुन्छ । समय मिलेको अवस्थामा दसैँपछि देशभित्रै कुनै ठाउँ पारिवारिक भ्रमण गर्छाैँ ।
दसैँपछि मात्र घुम्न जाने हो : सुनील केसी, अध्यक्ष, नेपाल बैंकर्स संघ
पेसागत रूपमा वर्षभरि नै काममा व्यस्त भइन्छ । अरू वेला परिवारलाई समय दिन सकिँदैन । घुम्नलाई पनि समय हुँदैन । हामीलाई फुर्सद हुने यही वेला हो । त्यसैले यो समय खास नै हुन्छ । घटस्थापनादेखि दसैँको दिनसम्म पूजाआजामै व्यस्त भइन्छ । साथै, दसैँको दिन टीका लगाउने काम नै भयो । दसैँपछि भने केही दिन परिवारसहित भारतका केही धार्मिक स्थलको भ्रमण गर्ने योजना छ ।
हरेक दसैँ नेपालमै मनाउँछु : जीवा लामिछाने, पूर्वअध्यक्ष, गैरआवासीय नेपाली संघ
म जहिल्यै दसैँ मनाउन नेपालमै आउँछु । हाम्रो चितवन पदमपुरमा पुख्र्यौली घर छ । परिवारका सबै सदस्यहरू त्यहीँ जमघट भएर दसैँ मनाउँछौँ । यसपटक अष्टमीको दिनमा चितवन जाने योजना छ । हरेक वर्ष दसैँको मुखमा एनआरएनको अधिवेशन हुन्छ । हामीले स्थापना गरेको साहित्यिक कार्यक्रम पनि यही समयमा पर्छ । त्यही भएर पनि हरेक दसैँ नेपालमै मनाउँछु । विदेशमा पढ्दा छुट्टी नहुने भएकाले दसैँमा घर आउन सकिएन । अरू दसैँमा नेपालमै आएको छु । चितवनमा पुगेर नवमीका दिन पदमपुरका इष्टमित्र, साथीभाइ र गाउँलेहरूलाई भेला गरेर चियापान गर्ने, उहाँहरूका कुरा सुन्ने, सुख–दुःखका कुरा गर्ने गर्छु । हरेक दसैँमा मेरो नियमित कार्यतालिका नै बनेको छ ।
परम्परागत परिकार पकाएर खाइन्छ । दशमीको दिनमा आमा र आफूभन्दा ठूला मान्यजनहरूको हातबाट टीका र आशीर्वाद थापिन्छ । मैले पनि आफूभन्दा सानालाई टीका लगाइदिन्छु । सानोमा दक्षिणाको खुब महत्व हुन्थ्यो । दिनभरि कमाएको पैसा बेलुका गनिन्थ्यो । अचेल आफूले टीका लगाइदिएर दक्षिणा दिन्छु । पैसाभन्दा ठूलोे मान्यजनको आशीर्वाद हो । अहिले पनि ससुराली जाँदा दक्षिणा त पाइन्छ, तर सानोमा जस्तो महत्व हुँदैन ।
अष्टमीको कालरात्रि विशेष हुन्छ : विदुषी राणा, निर्देशक, गोल्डस्टार सुज
मैले दसैँ घरमै मनाउने गरेकी छु । सपरिवार घरमै जम्मा हुन्छौँ । कालरात्रिको पूजा गर्ने हुनाले पनि कहीँ घुम्न गइँदैन । घटस्थापनाको दिन घरमा जमरा राखियो । आज फूलपातीको दिन घरमा फूलपाती भित्र्याउँछौँ । अष्टमीको दिन बिहानैदेखि पूजाआजा सुरु हुन्छ । राति १२ बजे मैतीदेवी मन्दिरमा गएर कालरात्रिको पूजा गरिन्छ । पहिल्यैदेखि कालरात्रिको पूजा गर्ने चलन छ । मैतीदेवी मन्दिर पनि घरनजिकै छ । घरमा पनि नवरात्रको पूजा गरिन्छ ।
नवमीको दिन परिवारसँगै बसेर खानपिन र रमाइलो गर्ने गरिन्छ । दसैँमा घरमा मान्यजनबाट टीका लगाइन्छ । अनि माइती र आफन्तकोमा पनि गएर टीका लगाउँछौँ । हाम्रोमा पनि आफन्तहरू आउनुहुन्छ । उहाँहरूलाई पनि टीका लगाइदिन्छौँ । खासगरी, दसैँमा परिवारभित्रै रमाइलो गरिन्छ । मेरा छोरी–छोरा अमेरिकामा पढ्छन् । उनीहरू आउन नपाउने हुँदा अलि खल्लो त लाग्छ नै । तर, यहीँ हुनुहुने परिवार र आफन्तहरूसँग रमाइलो गरिन्छ । नवरात्रको पूजाआजा धुमधामसँग गर्ने भए पनि व्रतचाहिँ बस्दिनँ । मेरो लागि तिहार पनि ठूलो चाड हो । यी दुवै चाडमा घर छाडेर बाहिर घुम्न जाने चलन छैन ।
घुम्न जाने योजना बनाउन सकिएन : राधा पोखरेल, अध्यक्ष, पुँजी बजार संघ
गत वर्षहरूमा जस्तो यस वर्ष घुम्न जाने योजना छैन । सेयर बजार घटेको हुँदा धेरै आम्दानी पनि गर्न सकिएन । आर्थिक मन्दीको असर नै भन्नुपर्ला, यसपटक खर्चको जोहो गर्ने योजनामा छु । घरमा टीका लगाउन माइत जाने र साथीहरूसँग बसेर सेयर बजारमा देखिएको समस्यालाई लिएर छलफल गर्ने योजनामा छु । मलाई चंगा उडाउन र पिङ खेल्न बच्चैदेखि एकदम मनपर्छ । काठमाडौंमा कता पिङ हालेका छन् भनेर खोज्नुपरेको छ ।