राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई आह्वान गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलन तथा ११औँ महाधिवेशनको उद्घाट गर्दै राष्ट्रपति पौडेलले ज्ञान, सीप र पुँजीमार्फत नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपाललाई आह्वान गरेका हुन् । ‘एनआरएनले नेपाल र नेपालीको विकास र समृद्धिको आकांक्षामा योगदान गर्दै आउनुभएको छ,’ उनले भने, ‘आगामी दिनमा पनि समृद्धिको आकांक्षा पूरा गर्ने कार्यमा योगदान गर्न आह्वान गर्छु ।’
गैरआवासीय नेपालीलाई नागरिकता दिने व्यवस्थाले नेपालसँग थप नजिक ल्याएको पनि उनले बताए । उनले संविधानको व्यवस्थाअनुसार आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपाली नागरिकता दिने व्यवस्थाले एनआरएनको माग सम्बोधन भएको र ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने भावलाई महसुुस गराएको बताए ।
ज्ञान, सीप र पुँजीलाई प्रोत्साहन गर्छौँ : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले गैरआवासीय नेपालीको ज्ञान, सीप र पुँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताए । जलविद्युत्, सूचना प्रविधि, पर्यटनलगायत विविध क्षेत्रमा लगानीको सम्भावना रहेको उल्लेख गर्दै उनले लगानी बढाउन आह्वानसमेत गरे । ‘नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गरिसकेका छन्,’ उनले भने, ‘लगानी भइरहेको पनि छ, अझ लगानी बढाउनुहोस्, हामी लगानीको सुरक्षा दिन्छौँ, प्रोत्साहन गर्छौँ ।’ उनले नेपालमा लगानीको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले हेर्ने दृष्टिकोण सूक्ष्म हुनुपर्ने बताए ।
अब कुराभन्दा काम थालौँ : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एनआरएनले अब कुराभन्दा पनि काम नै गर्नुपर्ने बताए । ‘अब भने हामीले यो दुई दशकको अवधिमा के गर्यौँ भनेर सोच्नुपर्छ । एनआरएनएले नेपाली मातृभूमिमा देखाउन मिल्ने उत्कृष्ट मोडलको काम या प्रोजेक्ट कुन हो भनेर देखाउनुपर्ने दिन पनि आएको छ,’ उनले भने । उनले यसै सम्मेलनमार्फत कुनै प्रोजेक्ट नै अघि सार्नसमेत आह्वान गरे । ‘म त ‘एक्सन ओरिएन्टेड’ मानिस हुँ । काम थालिहाल्नुपर्छ र गर्नुपर्छ भन्ने नै मेरो ध्येय रहन्छ,’ उनले भने, ‘विश्वका एनआरएनएले नेपालमा सुरु गर्ने विकासका काममा हामी पनि जोडिन चाहन्छौँ, हामी पनि ‘जोइन्ट भेन्चर’ गर्न चाहन्छौँ ।’