कांग्रेसको संस्थापन पक्षले कोशीमा मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएर सरकार सुरक्षित गर्ने रणनीति तय गरेको छ । एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेसको शेखर कोइराला समूहका कार्कीले बुधबार विश्वासको मत लिँदै छन् । माओवादीले विश्वासको मत दिने निर्णय लिइसकेको छ ।
कार्कीले एमालेलाई समेत सरकारमा सहभागी बनाएपछि सशंकित देखिएको कांग्रेसको सस्थापन पक्ष पहिलो चरणमा सरकार सुरक्षित गर्ने र दोस्रो चरणमा एमालेलाई सरकारबाहिर गर्ने रणनीतिमा देखिएको छ । सोहीअनुसार विश्वासको मत दिएर सरकारलाई गठबन्धनको अपनत्व दिने गरी सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल थालेका छन् ।
सोमबार सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई धुम्बाराहीस्थित निवासमा बोलाएर कोशीमा विकसित घटनाक्रम र पार्टीको आगामी रणनीतिबारे ब्रिफिङ गरेका छन् । उपसभापति धनराज गुरुङ भने इन्डोनेसियामा रहेकाले बैठकमा उपस्थित भएनन् ।
देउवाले कोशीमा सरकार सुरक्षित गर्ने गरी तत्कालका लागि विश्वासको मत दिने गरी अगाडि बढ्न निर्देशन गरेका छन् । ‘कोशीको विषयमा मैले शेखरजीलाई राखेर कार्यसम्पादन समिति बैठकबाट निर्णय गर्न खोजेको थिएँ । तर, उहाँ आउनुभएन । परिस्थिति आकस्मिक रूपमा विकसित भयो । कांग्रेसकै विद्रोहीको सरकार बने पनि गठबन्धन बलियो बनाएर जाने सहमति बनेको छ,’ देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिले एमाले सरकारमा छ । जटिलता समाधान गरेर गठबन्धनको अपनत्व हुने गरी कोशीको सेटलमेन्ट गर्नुपर्नेछ ।’
बैठकमा महामन्त्रीद्वयले कोशी प्रकरणमा सभापति देउवा र नेता डा. शेखर कोइरालाको भूमिकाप्रति असन्तुष्टि पोखेका थिए । महामन्त्री शर्माले बैठकमा निर्णय प्रक्रियामा महामन्त्रीद्वयलाई सहभागी नगराई गरिएकाले परिस्थितिको जिम्मेवार सभापति देउवाले लिनुपर्ने बताए । साथै अबको परिस्थितिमा विश्वासको मत दिएर अगाडि बढ्नुको विकल्प नरहेको विषयमा छलफल भएको बताए ।
शर्माका अनुसार निर्णय प्रक्रियाप्रति असन्तुष्टि रहे पनि कोशीमा सरकारलाई विश्वासको मत दिने विषयमा छलफल भएको छ । ‘कोशीको सरकारले विश्वासको मत लिनु छ । कोशीको कांग्रेस संसदीय दलको बैठकले त्यसबारे निर्णय गर्छ । कोशीमा एमालेसहितको समाधान र सरकार बन्नुपर्छ, कांग्रेसले विश्वासको मत दिएर जानुपर्छ,’ उनले भने ।
कोशीमा विशिष्ट गणितीय परिस्थितिका कारण एमालेसहितलाई समेटेर गठबन्धन सरकार बन्नुपर्छ भन्नेमा आफू दुई महामन्त्रीको जोड रहेको, तर पर्याप्त छलफलविनै निर्णय आएको बताए । ‘दुवै गठबन्धनले विश्वासको मत पुष्टि गर्न नसकेको अवस्थामा एक–अर्कालाई साथ दिएर या लिएर जानुपर्छ भनेका थियौँ । कोशीमा पहिचानको आन्दोलन चलिरहेकाले सरकार कसको बन्ने मात्रै मुख्य होइन, समाधान के भन्नेमा हाम्रो मुख्य जोड थियो,’ उनले भने, ‘सभापतिले माओवादीलाई मुख्यमन्त्री बनाउने निर्णय गर्नुभयो । निर्णयमा महामन्त्रीहरूको सहभागिता थिएन । त्यसमा पार्टीका केही साथीहरूको असन्तुष्टि रह्यो, त्यसको जगमा विद्रोह गर्नुभयो ।’
शर्माले कोशीमा विकसित घटनाको जिम्मेवारी सभापतिले लिनुपर्ने, तर परिपक्व साथ हल खोज्नुपर्ने बताए । ‘निर्णयमा को–को सामेल हुनुहुन्थ्यो र किन दुर्घटना भयो भन्ने जिम्मेवारी सभापतिले लिनुपर्छ । डा. कोइरालाले कांग्रेसको भाग माओवादीलाई दिन लागेकाले खोसेको भन्ने भाष्य बनाउन खोज्नुभयो,’ उनले भने, ‘तर, कहीँकतै पनि गठबन्धनमा यो प्रदेशमा यसको मात्रै सग्लो सरकार बन्ने भन्ने सहमति भएको छैन । जसको बने पनि आलोपालो गर्ने भन्ने थियो । तर, यो दुर्घटना हुँदै गर्दा समझदारीपूर्वक हल गर्नुपर्छ । डढेलाको रूप दिनुहुँदैन, संयम र परिपक्व साथ हल निकाल्नुपर्छ ।’
महामन्त्री शर्माले तीन नेताबीच गठबन्धन जोगाउने भनेर गरेको लिखित सहमतिको आवश्यकता र औचित्यमाथि समेत प्रश्न गरेको बताए । ‘एउटा कागजको चिर्कटोमा हस्ताक्षर गरेर ल्याउनुपर्ने अवस्था किन आयो ? प्रधानमन्त्रीले आफैँ गठबन्धनप्रति प्रतिबद्ध छु भनेर वक्तव्य दिइरहनुपर्छ र ? गठबन्धनलाई निरन्तर लान कांग्रेसको संस्थागत निर्णय नै छ, गठबन्धनको ठूलो दलको प्रमुख अंसियार शेरबहादुर देउवाले हस्ताक्षर गर्नुपर्छ र ? डा. शेखरका प्रति पनि आशंका गरिराख्ने हो भने उहाँले वक्तव्य दिँदा भइहाल्थ्यो होला । चिर्कटो बनाइएकोमा हाम्रो सहमति छैन । यसमा सभापतिले पनि गम्भीर आत्मसमीक्षा गर्नुपर्छ । कोशी प्रदेशमा अरू नेताहरू पनि हुनुहुन्छ, उहाँहरूसँग किन सल्लाह गरिएन ?’ महामन्त्री शर्माले बैठकमा राखेको धारणाबारे भने ।
बैठकमा सभापति देउवाले भने–जटिलता समाधान गरेर गठबन्धनको अपनत्व हुने गरी कोशीको सेटलमेन्ट गर्नुपर्नेछ
कोशीको विषयमा मैले शेखरजीलाई राखेर कार्यसम्पादन समिति बैठकबाट निर्णय गर्न खोजेको थिएँ । तर, उहाँ आउनुभएन । परिस्थिति आकस्मिक रूपमा विकसित भयो । कांग्रेसकै विद्रोहीको सरकार बने पनि गठबन्धन बलियो बनाएर जाने सहमति बनेको छ । अहिले एमाले सरकारमा छ । जटिलता समाधान गरेर गठबन्धनको अपनत्व हुने गरी कोशीको सेटलमेन्ट गर्नुपर्नेछ ।
कोशी प्रकरणमा देउवा र कोइरालाको भूमिकाप्रति महामन्त्रीद्वय थापा र शर्माको असन्तुष्टि : तीन नेताको लिखित सहमतिको आवश्यकता र औचित्यमाथि पनि प्रश्न
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कोशी प्रकरणमा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाको भूमिकाप्रति पनि असन्तुष्टि जनाएका छन् । निर्णय प्रक्रियामै महामन्त्रीद्वयलाई सहभागी नगराइएकाले परिस्थितिको जिम्मेवार पनि दुवै नेता हुनुपर्ने उनीहरूको भनाइ छ ।
‘निर्णयमा को–को सामेल हुनुहुन्थ्यो र किन दुर्घटना भयो भन्ने जिम्मेवारी सभापतिले लिनुपर्छ । डा. कोइरालाले कांग्रेसको भाग माओवादीलाई दिन लागेकाले खोसेको भन्ने भाष्य बनाउन खोज्नुभयो,’ महामन्त्री शर्माले भने, ‘तर, कहीँकतै पनि गठबन्धनमा यो प्रदेशमा यसको मात्रै सग्लो सरकार बन्ने भन्ने सहमति भएको छैन । जसको बने पनि आलोपालो गर्ने भन्ने थियो । तर, यो दुर्घटना हुँदै गर्दा समझदारीपूर्वक हल गर्नुपर्छ । डढेलाको रूप हुन दिनुहुँदैन, संयम र परिपक्वताका साथ हल निकाल्नुपर्छ ।’
त्यस्तै, गठबन्धन जोगाउने भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति देउवा र नेता कोइरालाले गरेको लिखितप्रति पनि महामन्त्रीद्वयले बैठकमा असन्तुष्टि जनाएका छन् । लिखित सहमतिको आवश्यकता र औचित्यमाथि उनीहरूको प्रश्न छ ।
‘चिर्कटो बनाइएकोमा हाम्रो सहमति छैन । यसमा सभापतिले पनि गम्भीर आत्मसमीक्षा गर्नुपर्छ । कोशी प्रदेशमा अरू नेताहरू पनि हुनुहुन्छ, उहाँहरूसँग किन सल्लाह गरिएन ?’ महामन्त्री शर्माले बैठकमा राखेको धारणाबारे भने ।
कोशीले झन् बढायो शेखर–गगनको दूरी
कोशी घटनाले डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच दूरी झन् बढाएको छ । केही समयअघिदेखि नै उनीहरूबीच संवादहीनताको अवस्था थियो । कोशीमा सरकार गठनको ‘मुभ’ गर्दा पनि कोइरालाले महामन्त्री थापासँग छलफलसमेत गरेनन् । यसबाट थापा थप चिढिएका छन् । उनीहरूको सम्बन्धमा दरारको सुरुवात गत २० वैशाखमा इतर समूहबाट सरकारमा मन्त्रीको नाम पठाउने विषयबाट सुरु भएको थियो । यो समूहले तीन मन्त्री दाबी गरेको थियो ।
त्यसमा सभापति शेरबहादुर देउवा पनि तयार भए । तर, कोइरालाले अन्तिम समयमा थापालाई जानकारी नदिई देउवालाई नाम बुझाएर सिंगापुर लागे । देउवाले धनराज गुरुङ र डिगबहादुर लिम्बूलाई मात्र मन्त्री बनाएपछि दुई नेताको सम्बन्ध चिसियो । कोइरालालाई देउवासँग मिलेको आरोप पनि लाग्न थाल्यो ।
गत २ साउनमा बसेको केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने विषयमा समेत कोइरालाले आफ्नो समूहको भेला बोलाएनन् । तीन तहको निर्वाचनपछि बसेको बैठक महत्वपूर्ण थियो । उल्टै, बैठकमा कोइरालाले महामन्त्रीको आलोचना गरे । १० साउनसम्म बसेकोे बैठकमा इतरको भूमिका कमजोर बनाएको र महामन्त्री थापाको प्रतिरक्षा नगरेको आरोप कोइरालामाथि लाग्यो । १८ साउनमा कोइरालाले सभापतिसँग नजिकिएको र महामन्त्री थापासँग टाढिएको विषयमा सत्यता नरहेको स्पष्टीकरण दिएका थिए ।
१७ भदौमा थापाको उपस्थितिमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेलसहित बोलाएर इतर समूहको भेला गरे, जसमा कोइरालालाई बोलाइएको थिएन । यसले कोइरालालाई सशंकित बनाएको थियो । पछिल्लो समय भने उनी महाधिवेशनकेन्द्रित भएर समूह मिलाउन सक्रिय देखिएका थिए । गत २ असोजमा विश्वप्रकाश र प्रदीपसमेतलाई बोलाएर बालुवाटारमा भेला गरेका थिए । त्यसमा महामन्त्री थापा पनि सहभागी थिए । त्यसयता कोइराला र थापा एउटै मञ्चमा देखिएका छैनन् ।
कोशीमा नयाँ सरकार गठनबारे छलफल गर्न २३ असोजमा कांग्रेस पदाधिकारी बैठक बसेको थियो । बैठकमा महामन्त्री थापाले सरकार गठनबारे चासो राखेका थिए । एक पदाधिकारीका अनुसार सभापति देउवाले उनलाई ‘शेखरसँग कुरा भइरहेको छ’ भन्ने जवाफ मात्र दिएर टारे । यसबाट थापा झस्किए ।
प्रचण्ड भन्छन्– कोशीमा एकपछि अर्को चलखेल तर,कोर्स करेक्सन हुन्छ
माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेले गठबन्धन टुटाउन कोशीमा एकपछि अर्को चलखेल गरेको आरोप लगाएका छन् । धनगढीमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले कोशीमा विश्वासको मतअघि कांग्रेसबाट एक मात्र मन्त्री बनाउने सहमति बनेको, तर एमाले सरकारमा सहभागी भएर गठबन्धन टुटाउने चलखेल गरेको दाबी गरे ।
‘कोशीमा हाम्रो एउटा र एमाले र असन्तुष्ट कांग्रेसका विद्रोही समूहको गठबन्धन बन्यो । के गरी हल गर्ने भनेर धेरै मिहिनेत गरियो । अन्ततः शेरबहादुरजी, शेखरजी र म बसेर गठबन्धनबारे दृढ रहने र टुट्न नदिने भनेर कमिटमेन्टमा हस्ताक्षर गर्यौँ । यति भएपछि ढुक्क भयो, एमालेले गरेको चलखेल त्यहीँ रोकियो भनेको त, फेरि अर्को चलखेल भयो,’ प्रचण्डले भने, ‘हामीले विश्वासको मतअघि कांग्रेस मात्रको एकजना मन्त्री बनाउने भनेका थियौँ, फेरि एमालेले मन्त्री छिराइहाल्यो । हामी फेरि त्यसलाई करेक्सन गर्दै छौँ । करेक्सन त हुन्छ । पाँच वर्ष यही गठबन्धन जान्छ, कसैले हल्लाउन सक्दैन । जतिचोटि प्रयास गरे त्यतिचोटि आफैँ फसेका छन् । अहिले पनि एमालेले जित्ने मैले देखेको छैन, कांग्रेस र गठबन्धनले पनि त्यो देखेको छैन ।’