प्यालेस्टिन र इजरायलबीचको वर्तमान युद्धमा फसेका २५३ जना नेपाली नागरिक नेपाल सरकारको विमानबाट त्रिभुवन विमानस्थलमा उत्रेपछि परिवारसँग उनीहरूको मिलनका दृश्य भावुक देखिन्थे । पश्चिमी जगत्मा मध्यपूर्व (हाम्रा निम्ति पश्चिम एसिया)को यो संघर्ष नेपालमा खासै चर्चित थिएन । तर, इजरायलमाथी प्यालेस्टिनी सशस्त्र विद्रोही समूह हमासले गरेको हमलामा परेर मृत्यु हुनेमा दसजना नेपाली नागरिक पनि परेपछि विश्व राजनीतिमा दशकौँदेखि सल्किँदै आएको यस विवादले नेपाली परिदृश्यमा पनि हलचल ल्याइदिएको छ ।
रोजीरोटीको खोजीमा यी नेपाली नागरिक इजरायल पुगेका थिए र प्यालेस्टिन–इजरायल विवादमा कुनै साइनो नभए पनि मारिन पुगे । विश्व श्रम बजारमा ‘श्रम माल’ बन्न पुगेका संसारभरिका मजदुरले विविध राजनीतिक, सांस्कृतिक, धार्मिक र जातीय द्वन्द्वमा मारिनुको पीडा अकथनीय छ ।
साम्राज्यवादी बजारको यो दंश तेस्रो विश्व भनिने प्रायः सबै गरिब देशले कुनै न कुनै रूपमा भोग्नुपरिरहेको छ । इजरायलमा नेपाली मारिनु यसै पीडाको एउटा हिस्सा हो । हमासको हमलाको बदला भनेर इजरायल सरकारले गाजापट्टीमा प्रत्याक्रमणमा निरन्तर बमबारी गरेर ध्वंस र हत्याको शृंखला चलाएको छ । नेपाल सरकारले इजरायली सरकारप्रति समर्थन जनाएकाले देशमा हमास र प्यालेस्टिनी संघर्षप्रति नकारात्मक भाष्य सिर्जना गरिँदै छ ।
हमासको आक्रमणमा निर्दोष इजरायली नागरिकसँगै अन्य देशका नागरिकसमेत मारिए, त्यो अमानवीय र दुःखद हो, भन्नेमा दुईमत छैन । तर, यसै आधारमा साम्राज्यवाद र उसका पक्षधरबाट जसरी प्यालेस्टिनी जनताको संघर्षलाई अमानवीय र अनैतिक आतंकवादी संघर्ष ठहर गर्न खोजिँदै छ, त्यो मध्यपूर्वमा साम्राज्यवाद र उसको इसारामा नाच्ने इजरायलको वर्चस्व तथा सामरिक र आर्थिक स्वार्थको प्रतिरक्षाबाहेक केही होइन ।
यस संघर्षमा साम्राज्यवादी शक्तिको गोलबन्दीको प्रभाव कतिसम्म छ भने सन् १९६४ मा प्यालेस्टिनी मुक्ति आन्दोलनका प्रतीक नेता यासेर अराफातको नेतृत्वमा प्यालेस्टिनी मुक्ति संगठन (पिएलओ) स्थापना हुँदा अरब विश्वका अतिरिक्त यस संगठनलाई मान्यता दिने पहिलो देश भारत पनि आज इजरायलको पक्षमा देखिएको छ ।
हमासको निहुँमा सम्पूर्ण प्यालिस्टिनी मुक्ति संघर्षलाई आतंकवादी संघर्षका रूपमा बदनाम गर्ने साम्राज्यवाद पक्षधरको घनघोर प्रचार कति निर्मम छ भने गाजापट्टीमा बस्ने २३ लाख प्यालेस्टिनी जनतामाथि इजरायलले गरिरहेको बमबारी, निर्दाेष नागरिक, वृद्ध, महिला र बालबालिकाको अमानवीय हत्या र ध्वंसलाई समेत, इजरायलको प्रतिरोध गर्ने अधिकार भनेर प्रचारित गरिँदै छ । अमेरिकी तथा अन्य पश्चिमा देशले इजरायली क्षेत्रमा हमासको आक्रमणलाई ‘अकारण’ भनिरहेका छन् । उनीहरू हाल गाजाक्षेत्रको सम्पूर्ण विनाश भनेर गरिएको सैन्य कारबाहीलाई न्यायोचित ठहर गर्न खोज्दै छन् । तर, यथार्थ त्यस्तो होइन ।
जहाँसम्म हमासको प्रश्न छ, यो प्यालेस्टिनीका पक्षमा इजरायलसँग लडिरहेको सशस्त्र राजनीतिक संगठन हो, जो प्यालेस्टिनी संघर्षको शान्तिपूर्ण समाधानको सम्भावना असफल र उपेक्षित हुन थालेपछि प्रभावमा आएको हो । गाजापट्टीमा यसको प्रभाव छ र यसले अमेरिका र युरोपियन साम्राज्यवादी शक्तिको बलमा इजरायलले प्यालेस्टिनीमाथि थोपरेको विस्तारवादी युद्धको प्रतिरोधमा सशस्त्र संघर्ष गरिरहेको छ । तर, यस विषयमा कुनै निर्णयमा पुग्नुअघि प्यालेस्टिन र इजरायल विवादमा साम्राज्यवादीहरूको स्वार्थ, प्यालेस्टिनी प्रतिरोध संघर्ष तथा हाल हमासको हमलालाई लिएर इजरायल र अमेरिकी पक्षधरले आरोपित गर्न खोजेको शब्द ‘अकारण’को जाँच पडताल जरुरी छ ।
साम्राज्यवाद र उसका पक्षधरबाट जसरी प्यालेस्टिनी जनताको संघर्षलाई अमानवीय र अनैतिक आतंकवादी संघर्ष ठहर गर्न खोजिँदै छ, त्यो मध्यपूर्वमा उसको इसारामा नाच्ने इजरायलको वर्चस्व तथा सामरिक र आर्थिक स्वार्थको प्रतिरक्षाबाहेक केही होइन
हुन त यसबारे सही समझदारी बनाउन विश्वभरि छरिएका र आश्रय खोज्दै आएका यहुदीलाई लगभग आठ दशकपूर्व प्यालेस्टिनी भूमिमा बसाइएको, एकतर्फी रूपमा इजरायल देशको घोषणा गरिएको र क्रमशः साम्राज्यवादी शक्तिका आडमा रैथाने प्यालेस्टिनी जनतालाई लखेटेर प्यालेस्टिनको अधिकांश भागमा योजनाबद्ध कब्जा गरेको इतिहासको अध्ययन आवश्यक हुन्छ । तर, इजरायलीले कसरी प्यालेस्टिनीलाई उत्तेजित र आक्रोशित पारेर भड्काए र यसै निहुँमा पटक–पटक हत्या र दमन चलाएर लखेटेर प्यालेस्टिनी भूमि कब्जा गर्दै गए भन्ने विगत केही वर्षका घटनाको अध्ययनले पनि यसको प्रवृत्ति बुझ्न सकिन्छ । यसको सबैभन्दा ताजा उदाहरण त इजरायलबाटै प्रकाशित हुने प्रगतिशील पत्रिका ‘हारेट्ज’को भर्खर ८ अक्टोबरको अंकको सम्पादकीयलाई नै लिन सकिन्छ । ‘यस इजरायल–गाजा युद्धका निम्ति नेतान्याहु जिम्मेवार छन्’ शीर्षकको यस सम्पादकीयको सुरुवात यसरी भएको छ : ‘सिमच्याट तोराह (यहुदी त्योहार)को बिदाको दिन इजरायलमा जुन विपत्ति आइलाग्यो, त्यसको स्पष्ट जिम्मेवारी एकमात्र व्यक्तिमाथि छ– बेन्जामिन नेतान्याहु (नेतान्याहु इजरायलका प्रधानमन्त्री हुन्) ।
प्रधानमन्त्री सुरक्षा मामिलामा आफ्नो विशाल राजनीतिक अनुभव र ‘अद्वितीय’ बुद्धिमाथि गर्व गर्छन्, तर उनले जानीबुझी जतातिर इजरायललाई डोर्याइरहेका थिए, ती खतराको पहिचान गर्न उनी पूर्णतः असफल रहे । प्यालेस्टिनी क्षेत्रलाई इजरायलमा गाभ्ने र प्यालेस्टिनीलाई उनीहरूका अधिकारबाट वञ्चित गर्ने एजेन्डा भएको सरकार गठन गरेर उनले यी खतरा मोले । उनले बेजालेल स्मोट्रिट र इटामार बेनग्विअरलाई आफ्नो सरकारका प्रमुख पदमा नियुक्त गरे र यस्तो विदेश नीति अपनाए, जसमा खुला रूपमा प्यालेस्टिनीको अस्तित्व र अधिकारलाई उपेक्षा गरिएको छ ।’
‘हारेट्ज’को सम्पादकीयमा उल्लेख भएका दुई नेता स्वतन्त्र प्यालेस्टिन राज्यको अस्तित्व स्वीकार नगर्ने तथा दुई राज्यको प्रस्ट प्रावधान भएको ओस्लो सम्झौतालाई उपेक्षा गर्ने कट्टर दक्षिणपन्थी र उग्र यहुदीवादी नेता हुन् । गत वर्ष नोभेभ्बर २०२२ मा भएको संसदीय निर्वाचनमा यी दक्षिणपन्थी र उग्र यहुदीवादी (जायोनिस्ट) पार्टीले अत्यधिक समर्थन प्राप्त गरे, र सबैभन्दा बढी प्रधानमन्त्री पदमा बस्न सफल दक्षिणपन्थी नेता बेन्जामिन नेतन्याहुले यिनै पार्टीको समर्थनमा सरकार बनाए ।
दशकौँदेखि सल्कँदै आइरहेको यस विवादको समाधानका निम्ति दुई राज्यको सिद्धान्तबमोजिम सन् १९९३ मा भएको ओस्लो सम्झौतामा, इजरायलसँगै स्वतन्त्र प्यालेस्टिनको स्थापना हुने भनिएको थियो । यसका निम्ति इजरायलले सन् १९६७ को युद्धमा कब्जा गरेको क्षेत्र खाली गर्ने प्रावधान थियो । तर, सम्झौताअनुसारको क्षेत्र खाली गर्नुको साटो इजरायलले उल्टै विगत तीन दशकमा प्यालेस्टिनको थप इलाका पनि कब्जा गर्दै गएको छ र ती क्षेत्रमा आफ्नो नयाँ बस्ती विस्तार गर्दै गएको छ ।
हुँदाहुँदा त नोभेम्बर २०२२ को संसदीय निर्वाचनपछि नेतन्याहु सरकारले स्वतन्त्र प्यालेस्टिनको अस्तित्वलाई नै अस्वीकार गर्न थालेको छ । उल्टो प्रधानमन्त्री नेतन्याहुले यस्तो नक्सा प्रदर्शन गरे जसमा बाँकी बचेको प्यालेस्टिनी क्षेत्रलाई पनि इजरायलको भूमि भनियो । इजरायली सरकारले यस अनैतिक र विस्तारवादी योजनालाई निरन्तरता दिन प्यालेस्टिनी जनताको अपमान, दमन र हत्याको शृंंखला बलपूर्वक चलाए ।
यतिसम्म कि जेरुसेलममा प्यालेस्टिनीका निम्ति अत्यन्त पवित्र मानिने अल अक्स मस्जिदमा नमाज पढ्न गएका प्यालेस्टिनी श्रद्धालुलाई अपमान गर्ने, कुटपिट गर्ने, मस्जिदभित्र गोली प्रहार गरेर उनीहरूको सामाजिक र सांस्कृतिक स्वŒवलाई समेत आहत गर्ने काम गरे । यस्ता घटनाको भिडियो सोसल मिडियामा भाइरल गरियो । र, यो सबैका निम्ति इजरायलको पिठ्युँमाथि अमेरिकी सरकार र प्रशासन खुलेआम संरक्षकका रूपमा उभिएको थियो । अरब क्षेत्रमा इजरायललाई यो अमेरिकी प्रोत्साहन नै थियो, जसको भयले अरब देश प्यालेस्टिनको पक्षमा खुला रूपमा खडा हुन सकिरहेका थिएनन् ।
अरब राष्ट्रका जनतामा इजरायलविरोधी भावना भए पनि कैयौँ अरब देशले अमेरिका र इजरायलसँग सम्बन्ध सहज बनाउन प्रयत्न गर्न थाले । यसको ताजा उदाहरण वर्तमान अमेरिकी राष्ट्रपतिको पहलमा इजरायलसँग सउदी अरबको सम्बन्धमा सुधार हुँदै जानु हो । (यद्यपि गाजापट्टीमा इजरायली सेनाले जसरी ध्वंस र नरसंंहार मच्चाउँदै छ, त्यसबाट सम्पूर्ण अरब क्षेत्रमा जुन आक्रोशको लहर देखिएको छ, त्यसले साउदी अरब इजरायलसँगको सम्बन्ध सुधारबाट पछि हट्न बाध्य हुँदै गएको पनि देखिन्छ ।) यसरी आफ्नै भूमिबाट लेखेटिँदै जाने प्यालेस्टिनीको पीडा, चिन्ता र तिनका न्यायपूर्ण मुद्दा पूर्णतः उपेक्षित हुँदे गइरहेका थिए ।
कतिसम्म भने आफ्नै भूमिमा आफूलाई नसोधी दोस्रो विश्वयुद्धपछिका शक्तिशाली साम्राज्यवादी शक्तिले बसाइदिएको इजरायलीको दमन र अन्यायविरुद्ध उनीहरूले गरेको संघर्षलाई आतंकवादको आरोप लगाएर चौतर्फी थुन्न प्रयत्न गरिँदै थियो । यस्तो स्थितिमा पनि हमासको हमलालाई अकारण भन्नु उचित हुन्छ र ? यस्तो स्थितिमा प्यालेस्टिनीको मनोविज्ञान अनुमान गर्न सकिन्छ । यद्यपि, राजनीतिक सशस्त्र संघर्षमा समेत मानवीय पक्षको ख्याल राख्नुपर्नेमा दुईमत हुन सक्दैन ।
विगत १५ वर्षमा गाजामाथि इजरायलले हमासको निहुँमा पटकपटक हमला गर्दा लगभग डेढ लाख प्यालेस्टिनी मारिएका छन् । इजरायली सेनाले पटक–पटक गर्ने नाकाबन्दीले गाजापट्टीलाई यस्तो निर्मम र अमानवीय जेलमा परिणत गरिदिएको छ, जहाँ गरिबी, बेरोजगारी र भोकका अकथनीय पीडा छन् । समग्रमा अहिले प्यालेस्टिनीको संघर्ष नश्लवाद र साम्राज्यवादी स्वार्थमा उनीहरूमाथि बलजफ्ती थोपरिएको युद्धविरुद्धको न्यायपूर्ण संघर्ष हो, र जसलाई इजरायल र साम्राज्यवाद समर्थक मिडियाले धार्मिक रंग दिएर इस्लामिक आतंकवादका रूपमा व्याख्या गरेर विश्व जनमतबाट कटाएर समाप्त गर्न खोजिँदै छ ।
सामान्यतः प्यालेस्टिन र इजरायलबीचको द्वन्द्व दुई धार्मिकता र नश्लबीचको द्वन्द्वका रूपमा बहुप्रचारित छ । तर, यथार्थमा यस द्वन्द्वमा सामरिक र आर्थिक दृष्टिले मध्यपूर्वमा वर्चस्व कायम गर्ने सामाज्यवादी शक्तिको स्वार्थले नै प्रमुख भूमिका खेलेको छ । र, दोस्रो विश्वयुद्धपछिको परिवर्तित विश्व राजनीतिमा मध्यपूर्वको नयाँ भूराजनीतिक उलटफेरमा साम्राज्यवादी कब्जा, लुट, भागबन्डा र नियन्त्रणको योजनाको सिकार प्यालेस्टिन भएको हो । कोइलाको साटो पेट्रोलको प्रयोग र भारतसम्म सीधा बाटोका कारण प्यालेस्टिन र सम्पूर्ण मध्यपूर्व आधुनिक साम्राज्यवादका निम्ति सबैभन्दा महŒवपूर्ण भूरणनीतिक क्षेत्र बन्यो । वर्तमान अर्थ–राजनीतिमा पेट्रोल एउटा रणनीतिक माल (स्ट्रेटेजिक कमोडिटी) मानिन्छ । जसले यस मालमाथि सर्वाधिक कब्जा कायम गर्छ, विश्व साम्राज्यवादमा उसैको नेतृत्व हुन्छ । मध्यपूर्वमा तेलको भण्डार छ ।
यो तथ्य बुझेर २०औँ शताब्दीको सुरुवातदेखि नै ब्रिटेन, फ्रान्स र अमेरिकाले निरन्तर एकआपसमा प्रतिस्पर्धा गर्दै आएका हुन् । एउटा देशका रूपमा मध्यपूर्वमा इजरायलको जन्मको कारण यो पनि हो, होइन भने कुनै वेला यहुदीलाई युगान्डातिर लगेर बसाल्ने योजना पनि बनेको थियो । दोस्रो विश्वयुद्धको अनेक उतार चढावपछि यस प्रतिस्पर्धामा अमेरिका अगाडि हुन गएको हो र अहिले इजरायलले प्यालेस्टिनमाथि बलजफ्ती चलाइरहेको दमन, हत्या र भूमि विस्तारको अमानवीय योजना त्यसै साम्राज्यवादी स्वार्थको ताबेदारी हो ।
यस दृष्टिले विचार गर्दा प्यालेस्टिन र इजरायलबीचको संघर्षमा हुने अमानवीय व्यवहार आलोच्य भए पनि, प्यालेस्टिनीहरू नश्लवाद र साम्राज्यवादी स्वार्थविरुद्ध न्यायपूर्ण संघर्ष लडिरहेकोमा दुईमत छैन, र इजरायली सेनाले गाजापट्टीमा मच्चाइरहेको नरसंहार र ध्वंसविरुद्धको मौनता अन्यायको समर्थन हुनेछ ।