साढे नौ वर्ष कैद सजाय तोकिएका पूर्वमन्त्री न्यौपाने क्यानडामा

सोमबार, २९ असोज, २०८०
डिजिटल संस्करण

विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा साढे नौ वर्ष कैद सजाय पाएका पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने विदेश पुगेका छन् । कैद वा सर्वोच्च अदालतमा पुनरावेदन जानुपर्ने उनी असोज पहिलो साता क्यानडा उडेका हुन् । भृकुटीमण्डपको जग्गा भाडामा दिँदा अनियमितता गरेको भन्दै र तत्कालीन महिला, बालबालिका तथा समाज कल्याणमन्त्री न्यौपानेलाई विशेष अदालतले गत १६ फागुनमा दोषी ठहर गरेको थियो । सजाय भने २५ फागुनमा सुनाएको थियो । उनीसमेत नौजनामाथि कसुर कायम हुने फैसला भएको थियो । 

एक सरकारी वकिलका अनुसार यति लामो कैद र जरिवाना तथा बिगो असुल गर्ने फैसला भइसकेपछि त्यसको कार्यान्वयन वा पुनरावेदन नभई देशबाहिर जानुलाई उपयुक्त भन्न मिल्दैन । ‘भ्रष्टाचार मुद्दामा विचाराधीन भए एउटा कुरो, तर फैसला भएको मान्छेलाई राज्यले हेर्नुपर्ने त होला नि ! पासपोर्ट रोक्का नभएसम्म त जहाँ पनि जान पाइन्छ । तर, सजाय भएको मान्छे हिँडिरहँदा अदालतले पनि सोच्नुपर्ने हो । कि अदालतबाट भएको फैसला कार्यान्वयन हुनुप¥यो, कि त पुनरावेदन गर्नुप¥यो,’ ती सरकारी वकिलले भने । 

विशेष अदालतका एक अधिकारीले पूर्वमन्त्री न्यौपानेले पुनरावेदनका लागि म्याद बुझे–नबुझेको विषयमा आफूलाई जानकारी नभएको बताए । ‘हामीले फैसला तयार भएपछि म्याद पठाउँछौँ । यसरी बाहिर जान त नपर्ने हो । कि त अदालतसँग अनुमति लिनुपर्यो । किनकि एक तहको अदालतबाट त दोषी ठहर हुनुभएकै हो नि,’ विशेष अदालतका एक अधिकारी भन्छन् । 

विशेष अदालत ऐन, २०५९ मा विशेषलाई अभियुक्तको सम्पत्ति वा राहदानी रोक्का गर्ने अधिकार छ । तर सामान्यतया त्यस्तो गरिन्न । किनकी पुनरावेदनको फैसला आउन लामो समय लाग्ने भएका कारण हतपत फैसलालगत्तै पक्राउ गरिँदैन । 

भृकुटीमण्डपको जग्गा भाडामा दिँदा अनियमितता गरेको भन्दै विशेष अदालतले तत्कालीन महिला, बालबालिका तथा समाज कल्याणमन्त्री बद्री न्यौपानेलाई सार्वजनिक पदमा रहेको अवस्थामा भ्रष्टाचार गरेको कसुरमा साढे नौ वर्ष कैद र दुई करोड ४३ लाख ६८ हजार रुपैयाँभन्दा बढी बिगो तथा उति नै रकम जरिवाना असुलउपर हुने सजाय २५ फागुनमा सुनाएको थियो 

ऐनको दफा ८ अनुसार अभियुक्तउपर लागेको अभियोगको गाम्भीर्य, अभियुक्तको स्थिति, कसूरको मात्रा तथा प्रकृतिका आधारमा मात्र न्यायाधीशले सम्पत्ति वा राहदानी रोक्काको निर्णय लिन्छन् । ऐनअनुसार विशेषले गरेको आदेश वा फैसला कार्यान्वयन गर्नुपर्ने उल्लेख छ । ऐनको दफा १८ मा कुनै निकायले कार्यान्वयन गर्ने भनी लेखिदिएकोमा सम्बन्धित निकायले र नलेखिएको भए सम्बन्धित जिल्ला अदालतले कार्यान्वयन गर्नुपर्ने प्रावधान छ । 

‘सजाय ठहर भएको भोलिपल्टै कार्यान्वयन गर्न पाइन्छ । उहाँको केसबारे प्रहरी रिपोर्टमा उल्लेख नभएको अवस्था, निगरानी नभएकाले जान पाउनुभएको होला,’ विशेष अदालत बार एसोसिएसनका अध्यक्ष अधिवक्ता चुडामणी पौडेलले भने । सजाय सुनाइएपछि पूर्णपाठ नआए पनि कैद बस्नुपर्ने कानून व्यवसायी बताउँछन् । तर नेपालमा अन्तिम फैसला हुन ढिलाइ हुने भएकाले सामान्यतया पूर्णपाठ आएको म्याद नबुझेसम्म छुट दिइने र बाहिरै बसेर पनि पुनरावेदन गर्न पाइने सहज व्यवस्थाको अभ्यास भइरहेको उनीहरूको भनाइ छ । कसूरदारले पुर्णपाठ पाएको ३५ दिनभित्र माथिल्लो अदालतमा पुनरावेदन गर्नुपर्ने हुन्छ । 

‘कसूर कायम भएपछि नै कार्यान्वयन गर्न पाइन्छ । तर तल्लो अदालतविरुद्ध कम्तीमा एक तह पुनरावेदन जान पाउनु पक्षहरूको अधिकारै हो,’ अधिवक्ता पौडेलले भने, ‘तर विशेषले गरेको फैसलामा जरिवाना र बिगो लेखेको छ भने सर्वोच्चमा त्यो पनि जम्मा गराउनुपर्छ । अनि मात्र सर्वोच्चले पुनरावेदन दर्ता गर्छ । त्यो रकम राख्न नसके कैद बसेरै पुनरावेदन गर्नुपर्छ । अब पुनरावेदन सुनुवाई गर्दाखेरी छाड्ने नछाड्ने सर्वोच्चको कुरा भयो । त्यसरी बाहिर हिँड्न चाहिँ नहुने हो ।’

उनीनिकट पारिवारिक स्रोतले पनि न्यौपाने क्यानडा गएको पुष्टि गरेको छ । ‘उहाँका छोराछोरी, परिवार उतै बस्ने भएकाले जानुभएको हो । चाडपर्व मानेर फर्किनुहुन्छ होला कि,’ उनीनिकट पारिवारिक स्रोतले भन्यो, ‘सर्वोच्चमा पुनरावेदन गर्न पैसा छैन भन्ने त सार्वजनिक रूपमै भन्नुभएको हो । अन्य प्रतिवादीहरू पुनरावेदनमा जाँदा उहाँले गर्नुभएको छैन । फौजदारी मुद्दा लागेको मान्छे यसरी विदेश जाँदा त्यसले आशंका त उब्जाउँछ नै ।’ पछिल्लो समय उनी प्रभु साह अध्यक्ष रहेको आमजनता पार्टीमा सक्रिय थिए । 

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोेलाको इजलासले गरेको फैसलाअनुसार न्यौपानेलाई सार्वजनिक पदमा रहेको अवस्थामा भ्रष्टाचार गरेको भन्दै थप ६ महिना गरी साढे नौ वर्ष कैद र दुई करोड ४३ लाख ६८ हजार रुपैयाँभन्दा बढी बिगो तथा उति नै रकम जरिवाना असुलउपर हुने सजाय सुनाइएको थियो । अदालतको फैसलापछि पत्रकार सम्मेलन गर्दै उनले आफू निर्दोष रहेको र पुनरावेदन गर्ने रकमसमेत नरहेको बताएका थिए । पत्रकार सम्मेलनमा रुँदै उनले विशेष अदालतले धरौटीमा छाड्दा आफूलाई न्याय दिने अपेक्षा रहे पनि पूर्वाग्रही तरिकाले फैसला गरेको आरोप लगाएका थिए । नेपालभर कतै जग्गा नरहेको भन्दै आफूसँग पुनरावेदन गर्न रकमसमेत नरहेको उनको भनाइ थियो ।

‘न त्यति धरौटी राख्न सक्छु, न त जरिवाना तिर्न सक्छु । राजनीति ड्यामेज गर्ने किसिमको पूर्वाग्रही फैसला भयो,’ उनले भनेका थिए, ‘मैले कहाँबाट जुटाउने ? फैसलालाई त मैले मान्नैपर्छ । तर, सर्वोच्च जान मेरो हैसियत छैन । मलाई भोलि घर–घरबाट सबै नेपालीले चन्दा, आर्थिक सहयोग गरेमा मात्र हो, नत्र उपाय छैन ।’ आफू सधैँ राष्ट्रहितको पक्षमा रहेको भन्दै उनले आफूलाई लगाइएका अभियोग निराधार र तथ्यहीन रहेको दाबी गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ माघ ०७५ मा १४ जनालाई प्रतिवादी कायम गरी मुद्दा चलाएको थियो । जसमध्ये नौजनामाथि कसुर कायम भएको थियो भने पाँचजनाले सफाइ पाएका थिए । भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को ६० रोपनी जग्गा भाडा लगाउँदा भ्रष्टाचार भएको अख्तियारको दाबी थियो । 

समाज कल्याण परिषद्का नाममा रहेको उक्त जग्गा भाडामा लगाउँदा न्यून मूल्य कायम गरिएको तथा त्यसबाट परिषद् सदस्य र मेला सञ्चालकले अनुचित आर्थिक लाभ लिएको, प्रचलित मापदण्ड र प्रक्रियाविपरीत क्रियाकलाप गरी परिषद्ले सरकारलाई हानि–नोक्सानी पु¥याएको उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो । त्यसपछि ३१ करोड ५२ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको भन्दै अभियोगपत्र दायर भएको थियो ।

परिषद्का तत्कालीन अध्यक्षका रूपमा रहेका समाज कल्याणमन्त्री न्यौपानेसमेतको उपस्थितिमा २० भदौ ०६९ मा भएको कार्य सञ्चालन समितिको निर्णयले सरकारलाई नोक्सानी भएको दाबी अख्तियारको थियो । सरकारी ठेक्का बन्दोबस्त ऐन, २०२० मा सरकारले कुनै रकम वा कुनै अन्य कामको ठेक्का बन्दोबस्त गर्न परेमा टेन्डर आह्वान गर्नुपर्ने वा बढाबढ÷घटाघट गराई मात्र ठेक्कामा दिनुपर्ने प्रावधानविपरीत प्रक्रिया मिचेर ठेक्का दिइएको दाबी अख्तियारको थियो ।

सुझावित समाचार