विवादमा पोखरा रंगशालाको जिमहल

अख्तियारको छानबिन क्रममै रहेको पोखरा रंगशालाको जिमहलमा फुटपाथ बन्द हुने गरी थप संरचना निर्माण

शुक्रबार, २६ असोज, २०८०
डिजिटल संस्करण

पोखरा रंगशाला परिसरमा सञ्चालित जिमहलको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहँदा फुटपाथ बन्द हुने गरी थप संरचना बनाउँदा सम्बन्धित सबै निकाय मौन बसेका छन् ।

जिमहलसँगै जोडिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख र कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्षका कार्यालय छन् । परिसरभित्रै प्रदेश खेलकुद परिषद् गण्डकीको कार्यालयसमेत छ । परिसरमा खेलकुदका प्रमुख तीनवटा निकाय हुँदा पनि अवरोध हुने गरी संरचना निर्माण हुँदासमेत पदाधिकारीले खासै प्रतिक्रिया दिएका छैनन् । 

नियमविपरीत निजी संस्थालाई जिमहल सञ्चालनका लागि भवन र जग्गा भाडामा दिएको सम्बन्धमा गत २२ साउनमा नयाँ पत्रिकाले समाचार प्रकाशन गरेपछि अख्तियारले छानबिन सुरु गरेको थियो । अख्तियारले गत भदौमा जिमहल सञ्चालन र भवन भाडामा दिएको सम्बन्धमा जिल्ला खेलकुद विकास समिति कास्कीसँगै सञ्चालकलाई पत्र पठाएको थियो । जिम सञ्चालकले भवनको बाहिर एक भागमा डेढ मिटर छानोसँगै फुटपाथमा हिँड्न नमिल्ने गरी जाली राखेका छन् । अर्को साइडमा छाना राखिएको छ । 

समिति कास्कीका अध्यक्ष तोरण बानियाँले राखेपअन्तर्गत समिति हुँदा भाडामा दिएको बताए । अहिलेसम्म समितिले भाडामा दिएबापतको रकम लिएको छैन । बानियाँले भाडामा लिने–दिने सम्बन्धमा वैधानिक कागजपत्र कार्यालयमा नभेटेको बताए । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मण योगीलाई आफूहरूलाई थाहा नभएको जानकारी दिए । जिम सञ्चालक नुना गुरुङले सम्झौताअनुसार थप संरचना निर्माण भएको जानकारी दिए । हलभित्रका सामान हराएकाले जाली लगाउनुपरेको उनको भनाइ छ । उनले फुटपाथ बन्द हुने गरी संरचना नबनाएको दाबी गरेका छन् । ‘हिँड्ने बाटो कहाँ रोकिएको छ ?’ उनले प्रतिप्रश्न गर्दै भने । 

सुझावित समाचार