एकदिवसीय विश्वकपमा न्युजिल्यान्डको दोस्रो जित, नेदरल्यान्ड्स ९९ रनले पराजित

आइसिसी विश्वकप २०२३

सोमबार, २२ असोज, २०८०
डिजिटल संस्करण

भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप २०२३ मा न्युजिल्यान्डले दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेको छ । हैदरवादमा आज भएको आफ्नो दोस्रो खेलमा न्युजिल्यान्डले नेदरल्यान्ड्सविरुद्ध ९९ रनको जित निकाल्यो । 

तीन सय २३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४६.३ ओभरमा दुई सय २३ रनमा अलआउट भएपछि न्युजिल्यान्डले लगातार दोस्रो जित निकालेको हो । 

टस जितेर नेदरल्यान्ड्सले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको न्युजिल्यान्डले ५० ओभरमा सात विकेट गुमाएर तीन सय २२ रन बनाएको थियो । रनको पहाड खडा गर्ने क्रममा न्युजिल्यान्डका तीन खेलाडीले अर्धशतक बनाए । 

ओपनर विल योङ, रचित रवीन्द्र र टोम लाथमले अर्धशतक पूरा गरेका थिए । अर्का ओपनर डेभोन कनवेसँग योङले पहिलो विकेटका लागि ६७ रनको सोझेदारी गरेका थिए । कनवे ३२ रनमा आउट भए । योङले भान मेक्रेनको बलमा आउट हुनुअघि ८० बलमा सात चौका र दुई छक्काको मद्दतमा ७० रन बनाए ।

योङले दोस्रो विकेटका लागि रचित रवीन्द्रसँग ७७ रनको साझेदारी गरेका थिए । इङ्ल्यान्डविरुद्धको खेलमा शतक प्रहार गरेका रवीन्द्रले भान डेर मेर्वेको बलमा आउट हुनुअघि ५१ बलमा ५१ रन नै बनाए । 

नेदरल्यान्ड्सलाई अलआउट गर्ने क्रममा न्युजिल्यान्डका मिचेल स्यान्टनेरले पाँच विकेट लिए । यस्तै, म्याट हेर्नीले तीन र रचित रवीन्द्रले एक विकेट लिए ।  

सुझावित समाचार