हिजोआज धेरैजसो मानिस तौल नघटेर चिन्तित भएको पाइन्छ । तौल घटाउनका लागि अनेक उपाय पनि अपनाउने गर्छन् । तर, एक–दुई महिनामै अस्वाभाविक रूपमा तौल घट्नु विभिन्न रोगको संकेत पनि हुन सक्छ । स्वस्थ मानिस ७० केजी छ र एक–दुई महिनामै उसको तौल घटेर ६०–६५ केजीमा झर्यो भने कुनै रोगको पनि संकेत हुन सक्छ । एक–दुई केजी तौल घट्दैमा शंका गर्नुपर्दैन । तर, एक्कासि धेरै तौल घट्नु राम्रो होइन । तर, एक्कासि धेरै तौल घट्नु राम्रो होइन । कुनै रोग वा रोगको औषधि लिइरहेका वेला पनि तौल घट्न सक्छ । अत्यधिक डाइटिङसँगै शारीरिक व्यायाम गर्दा पनि घट्छ ।
मधुमेह
मधुमेहका बिरामीमा पनि तौल बढ्न वा घट्न सक्छ । मधुमेहका बिरामीमा इन्सुलिन कम भएर ग्लुकोज र कार्बाेहाइड्रेट पिसाबबाट निस्कने भएकाले शरीरमा आवश्यक मात्रा पुग्दैन र मानिस दुब्लाउँदै जान्छ । त्यसैले चिकित्सकको सल्लाहअनुसार मधुमेहको उपचार गर्नुपर्ने हुन्छ ।
थाइराइडको समस्या
हर्माेनल डिसअर्डरले गर्दा पनि तौल घट्छ । हाइपर थाइराइड हुँदा खानाको रुचि राम्रो भए पनि तौल घट्छ । त्यसले समयमै परीक्षण गरी उपचार गर्नुपर्छ ।
क्यान्सर
क्यान्सरका कारणले गर्दा पनि मानिसको तौल घढ्न सक्छ । त्यसैले समयमै स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ ।
मानसिक समस्या
पछिल्लो समय व्यस्त जीवनशैलीले गर्दा तनाव सिर्जना गरेको छ । कतिपय मानिसमा बिरामी, डिप्रेसन वा कुनै मानसिक रोगले गर्दा पनि खानेकुरा खान मन लाग्दैन । अझ, यस्ता व्यक्ति धेरै चिन्तामा हुन्छन्, स्मरणशक्तिमा ह्रास आदिले गर्दा खानपानमा ध्यान पुग्दैन । यसर्थ, शरीरको तौल घट्न थाल्छ । उसको मानसिक स्वास्थ्य कस्तो छ भन्ने ध्यान दिनुपर्ने हुन्छ ।
पेटसम्बन्धी रोग
पेटको समस्या भयो भने पनि तौल घट्छ । पाचनक्रियामा रोग लाग्यो भने तौल घट्छ । पेटमा कुनै पनि रोग लागेमा तौल घट्छ ।
क्षयरोग
क्षयरोगका लक्षण जस्तै– खोकी लाग्ने, ज्वरो आउने हुन सक्छ । तौल अस्वाभाविक रूपमा घट्यो भने क्षयरोग भएको पनि हुन सक्छ । हेपाटाइटिस बी रोग लाग्दा तौल घट्छ । दम र निमोनियाका बिरामीको पनि तौल कम हुन्छ ।
एचआइभी
एचाइभी संक्रमित तथा अन्य कुनै घातक रोग भएका मानिसमा पनि तौल घट्ने सम्भावना हुन्छ । एचआइभी लागेपछि तुरुन्तै तौल घट्दैन । तर, बिस्तारै एचाइभीको प्रकोप शरीरमा बढ्दै गएपछि तौल घट्छ ।
उपचार
तौल घट्न थाल्यो भने चिकित्सकलाई देखाउनुपर्छ । चेकचाँच गरेपछि चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ । रोग परीक्षण गरेपछि नियमित औषधि सेवन गर्नुपर्ने पनि हुन सक्छ ।
तौल घटाउनकै लागि पनि कतिपयले खानपिनलाई नै असन्तुलित बनाइरहेका हुन्छन् । स्लिम शरीर देखाउनका लागि खानेकुरा कम खाने, शारीरिक परिश्रम धेरै गर्नेजस्ता उपाय पनि अपनाएका हुन्छन् । तर, यस्ता उपायले तत्काल समस्या नदेखिए पनि पछि असर गर्न सक्छ । तौल घटाउनु आवश्यक परेमा बिस्तारै खानाको मात्रा कम गर्दै व्यायाम गरेर घटाउन सकिन्छ ।