पाकिस्तानले आइसिसी विश्वकप २०२३ मा विजयी सुरुवात गरेको छ । भारतको हैदरवादमा आज भएको म्याचमा नेदरल्यान्ड्सलाई ८१ रनले पराजित गर्दै पाकिस्तानले एकदिवसीय विश्वकपमा विजयी सुरुवात गरेको हो ।
जितका लागि दुई सय ८७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्समा ४१ ओभरमा दुई सय पाँच रनमा अलआउट भयो । पाकिस्तानको तर्फबाट हरिश रउफले तीन, असन अलीले दुई तथा साहिन साह अफ्रिदी, इफ्तिखार अहमद, मोहम्मद नवाज र सादव खानलले एक–एक विकेट लिए ।

नेदरल्यान्ड्सका बास डि लिडले ६८ बलमा ६ चौका र दुई छक्कासहित सर्वाधिक ६७ तथा विक्रमजित सिंहले ६७ बलमा चार चौका र एक छक्कासहित ५२ रन बनाए । तर, अन्य ब्याटरले उल्लेख्य रन बनाउन नसक्दा नेदरल्यान्ड्सले मध्यम लक्ष्य पूरा गर्न सकेन ।
नेदरल्यान्ड्सले टस जितेर पहिले फिल्डिङ रोजेपछि पाकिस्तान ब्याटिङमा आएको थियो । तर, बास डि लिडले चार विकेट लिएपछि पाकिस्तान ४९ ओभरमा २ सय ८६ रनमा अल आउट भएको थियो ।
पाकिस्तानको ब्याटिङमा विकेटकिपर मोहम्मद रिजवान र साउद सकिलले सर्वाधिक समान ६८ रनको योगदान दिए । रिजवानले ७५ बलमा ८ चौका तथा सकिलले ५२ बलमा ९ चौका र एक छक्का प्रहार गरेका थिए । सकिल प्लेयर अफ द म्याच घोषित पनि भए ।

खराब सुरुवात गरेको पाकिस्तानलाई चौथो विकेटका लागि रिजवान र सकिलले एक सय १४ बलमा एक सय २० रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।