प्रेम सम्बन्धका कारण १८ वर्षीय अजिमको हत्या !

सोमबार, १५ असोज, २०८०
डिजिटल संस्करण

सप्तरीमा प्रेम सम्बन्धकै कारण एक युवकको हत्या भएको खुलेको छ। जिल्लाको खडक नगरपालिका– ११ बनौलीका १८ वर्षीय मोहम्मद अजिम मुद्दिनको प्रेम सम्बन्धकै कारण हत्या भएकाे खुलेको प्रहरीले जनाएको छ।

भदौ २१ गतेदेखि बेपत्ता रहेका अजिमको प्रहरीले खोजी गरिरहेको थियो। हत्या गरेर गाउँकै पोखरीमा फालिएको सूचनापछि उनको खोजी गरिएको थियो। गत शनिबार बिहान गाउँकै पोखरीमा दुईवटा प्लास्टिकको बोरामा सडेको अवस्थामा शव फेला परेको थियो। पोस्टमार्टमबाट उक्त शव बेपत्ता रहेका अजिमकै रहेको खुलेकाे सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले बताए।

प्रहरी स्रोतका अनुसार अजिमको एक बालिकासँग प्रेम सम्बन्ध थियाे। कृष्णाष्टमीको दिन गाउँमा लागेको मेला हेर्न अजिम ६ जना साथीहरूसँगै गएका थिए। साथीहरू घर फर्किए पनि प्रेमिका भेटेर आउने भन्दै गएका अजिम भने घर फर्केनन्। घरपरिवारले खाेजी गर्दा नभेटेपछि तेस्रो दिन मात्रै प्रहरीलाई जानकारी गराएका थिए।

प्रहरीले अनुसन्धानमा उनको हत्या भएको देखिएपछि शंकास्पद व्यक्तिलाई पक्राउ गर्याे। तर, उनीहरूले अपराध स्वीकार गरेनन् । शनिबार पोखरीमा सडेको अवस्थामा भेटेको शव बिपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरेपछि अजिमकै रहेको खुलेको हो।

हत्यामा संलग्न भएको आरोपमा बालिकाकी आमा विना यादव, काका ३४ वर्षीय रामप्रगास यादव, छिमेकी ३५ वर्षीय डम्बरनारायण साह, ४० वर्षीय छोटेलाल भनिने धर्मेन्द्र साह र रामप्रगास मुखिया छन्। थप संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार हत्या भएका अजिमले गाउँकै हिरा फेकनी निम्नमाध्यमिक विद्यालय, बनौलीबाट एसइई दिएका थिए । त्यही विद्यालयमा कक्षा आठमा पढ्ने बालिकासँग चार महिनादेखि अजिमको प्रेम थियो।

See More On

सुझावित समाचार