भारतीय सहयोगमा बन्ने पेट्रोलियम पूर्वाधार परियोजना तीन महिनादेखि छलफलमै

आइतबार, १४ असोज, २०८०
डिजिटल संस्करण
भारतीय सहयोगमा बन्ने पेट्रोलियम पूर्वाधार परियोजना तीन महिनादेखि छलफलमै

पेट्रोलियम भण्डारणगृहका लागि झापाको चारआलीमा खरिद गरिएको जग्गा ।

भारतीय सहयोगमा बनाउन लागिएको पेट्रोलियम पूर्वाधार परियोजनाले अपेक्षित गति लिन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा एकै दिन भएको प्रारम्भिक समझदारीमध्ये नेपालबाट १० हजार मेगाावट बिजुली किन्ने प्रस्ताव दुवै देशको सक्रियतामा टुंगो लागिसकेको छ । तर, दुईवटा पाइपलाइन र दुईवटा ठूला इन्धन भण्डारणगृह निर्माण हुने विषय भने छलफलमै अड्किएको छ ।

दुवै देशको प्रधानमन्त्रीस्तरमा भएको समझदारी कार्यान्वयन गर्न नेपाल–भारतका सरकारी तेल कम्पनीका प्रतिनिधिबीच छलफल गर्न संयुक्त कार्यदल बनेको छ । दुवै कार्यादलले हालसम्म तीनपटक बैठकसमेत गरिसकेका छन् ।  सझदारीअनुसार बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म र भारतको सिलगुढीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन बन्नेछ । त्यस्तै, झापाको चारआलीमा पेट्रोलियम भण्डारणगृहसमेत बन्नेछ । यी तीनवटै परियोजना भारतको लगानीमा निर्माण हुनेछन् । त्यस्तै चितवनको लोथरमा एक लाख किलोलिटरभन्दा बढी क्षमताको भण्डारणगृह बन्ने र त्यसमा नेपालको लगानी रहनेछ । 

हाल यी चारवटै परियोजनाको लागत अनुमानको काम भइरहेको आयल निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए । ‘परियोजनालाई समयमै सुरु गर्न आइओसी र हाम्रोतर्फको  संयुक्त कार्यदलले गृहकार्य गरिरहेका छौँ,’ साहले भने, ‘अहिले लागत अनुमान तयार गर्ने, पाइपलाइनको बिछ्याउने बाटो खोज्ने र भण्डारणगृहका लागि भएको जग्गालाई तयारी गर्ने काम भइरहेको छ,’ उनले भने ।

समिति सदस्य तथा निगमको बजार विभाग हेर्ने नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइतका अनुसार अमलेखगन्ज–चितवन रुटमा बिछ्याइने पाइपलाइनको बाटोमा केही समस्या देखिएको बताए । ‘अमलेखगन्जदेखि चितवनसम्मको राजमार्ग हुँदै पाइपलाइन बिछ्याउने कुरा छ । तर, अमलेखगन्जको तीन नम्बर पुलदेखि चुरिया पहाड क्षेत्रसम्मको करिब १२ किलोमिटर खण्डमा पाइपलाइन बिछ्याउनका लािग बाटोको अवस्था ठीक छैन,’ गोइतले भने, ‘सडक विभागलाई बाटोका बारेमा स्पष्ट धारणा दिनुस् भनेका छौँ । त्यहाँबाट प्रस्ट भएपछि अरू काम चाँडै सक्नेछौँ ।’

गत जेठ १८ मा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भएको समझदारीअनुसार ६ महिनाभित्र परियोजनाको सबै अध्ययन सकिएर निर्माण सुरु हुनुपर्ने सर्त छ । यो सर्तअनुसार अब तीन महिनाभित्र अध्ययन र लागत अनुमानसमेत तयार गर्नुपर्नेछ । ‘हामी समयमै परियोजना सुरु गर्छौँ, ढिला हुँदैन,’ गोइतले भने । परियोजना सुरु भएको ५४ महिनामा निर्माण सम्पन्न गर्नुपर्नेसमेत सर्त छ । दुई स्थानमा भण्डारणगृह बनेपछि मुलुकलाई इन्धन मौज्दातका लागि धेरै सहजता हुनेछ । हाल देशभरक करिब ५८ हजार किलोलिटरको इन्धन भण्डारणगृह छ ।

सुझावित समाचार