पशुपतिका ढोका बिहान तीन बजेदेखि नै खुला

भक्तजनका लागि चारवटा लाइनबाट दर्शनको व्यवस्था, साँझ सात बजे बागमती गंगा आरतीको समयसम्म भक्तजनले दर्शन गर्न सक्ने

सोमबार, १ असोज, २०८०
डिजिटल संस्करण

हिन्दू महिलाहरूको महान् चाड हरितालिका तिजका अवसरमा पशुपतिमा भक्तजनका लागि चारवटा लाइनबाट दर्शनको व्यवस्था गरिएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार कोटेश्वर–तिनकुने–सिनामंगल क्षेत्रबाट आउने भक्तजनलाई तिलगंगा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने गरी लाइनको व्यवस्था छ । यो बाटोबाट आउने भक्तजनका लागि जुत्ता–चप्पल आर्यघाट जाने बागमती नदीमाथिका दुई पुल पार गरेपछिको मध्यक्षेत्रमा राख्न सकिनेछ । यो पहिलो लाइन हो । 

मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी दोस्रो लाइनको व्यवस्था गरिएको छ । यो क्षेत्रबाट प्रवेश गर्ने भक्तजनका जुत्ता–चप्पल शंकराचार्य मठअघिको क्षेत्रमा राख्न सकिने व्यवस्था छ । तेस्रो लाइन गौशाला–पिंगलस्थान–पञ्चदेवल क्षेत्रबाट सुरु हुने व्यवस्था छ । यो क्षेत्रबाट प्रवेश गर्ने भक्तजनका जुत्ता–चप्पल बज्रघरअघिको क्षेत्रमा राखिने व्यवस्था गरिएको छ । चौथो लाइन गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै अगाडि बढ्नेछ । यो क्षेत्रबाट पशुपति प्रवेश गर्ने भक्तजनले जुत्ता–चप्पल गुरु मन्दिरअघिको खुला भागमा राख्न सक्नेछन् । 

कोषका प्रवक्ता रेवतीरमण अधिकारीले उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए । ‘चारवटै सुरक्षा निकायले सुरक्षा दिनेछन् । ट्राफिक व्यवस्थापनका लागि ठूला गाडी सिनामंगलबाटै डाइभर्सन हुनेछन् । निजी गाडी र साना सार्वजनिक गाडी भने चल्नेछन् । भक्तजनको भिड हेरेर गौशाला, एयरपोर्ट, सिनामंगल क्षेत्रमा एकतर्फीसमेत हुन सक्नेछन्,’ अधिकारीले भने । 

 दुई हजारभन्दा धेरै प्रहरी खटिने 
तिजको सुरक्षा व्यवस्थापन बलियो बनाउन प्रहरीले पशुपति मन्दिरमा कमान्ड पोस्ट स्थापना गरेको छ । उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हिमालयकुमार श्रेष्ठको नेतृत्वमा आइतबार पोस्ट स्थापना भएको हो । 

तिजको सुरक्षामा उपत्यकामा दुई हजार नौ सय ६६ प्रहरी खटिनेछन्, जसमा ६ सय ३० महिला प्रहरी छन् । तिजको समयमा गहना चोरीका घटना हुने भएकाले महँगा गहना लगाएर भिडभाडमा नजान प्रहरीले आग्रह गरेको छ । तिजको सुरक्षाका लागि प्रहरीले पैदल गस्ती, मोबाइल गस्ती कर्डन, स्ट्राइकिङ, पिकेटिङलगायतको योजना बनाएको छ । पशुपति मन्दिरमा सादा पोसाकमा पनि ठूलो संख्यामा प्रहरी खटिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । मन्दिरमा सिसी क्यामरा थप्नुका साथै ड्रोन तथा वाक थ्रु गेटको प्रयोग पनि गरिएको छ । 

 तस्बिर खिचे जरिवाना 
पशुपतिनाथ मूल मन्दिर र त्यसपरिसरको तस्बिर एवं भिडियो खिचेमा मोबाइल जफत गरी नगद जरिवानासमेत गरिने भएको छ । पशुपतिनाथको मूल मन्दिरभित्र प्राचीनकालदेखि नै तस्बिर एवं भिडियो खिच्न मनाही गरिँदै आएको छ । तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने क्रम बढ्न थालेपछि जरिवना गर्न थालिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशंकर पराजुलीले बताए । 

कोषले गर्भगृहको तस्बिर खिचेमा दुई हजार एक सय रुपैयाँ, मुख्य मन्दिरको तस्बिर खिचेमा एक हजार एक सय रुपैयाँ र मूल मन्दिरपरिसरको तस्बिर खिचेमा पाँच सय  जरिवाना गर्ने गरेको छ । कोषका कर्मचारीको समूहले मन्दिर क्षेत्रमा मोबाइलबाट तस्बिर खिचे–नखिचेको अनुगमन गर्ने पराजुलीले बताए ।  

See More On

सुझावित समाचार