मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्प, हजारभन्दा धेरैको मृत्यु

आइतबार, २४ भदौ, २०८०
डिजिटल संस्करण
मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्प, हजारभन्दा धेरैको मृत्यु

भूकम्पले क्षतिग्रस्त पुरानो सहर माराकेसको भग्नावशेषबाट एक महिला आफ्नो सामान बाहिर निकाल्दै । तस्बिर : एएफपी

माराकेस सहरबाट ७१ किमि दक्षिण–पश्चिमस्थित हाई एट्लस माउन्टेन्सलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति ११:११ मा गएको थियो भूकम्प

अफ्रिकी राष्ट्र मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा एक हजार ३७ जनाको मृत्यु भएको छ । शनिबार रातिसम्मको रिपोर्टअनुसार ६ सय ७२ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । 

स्थानीय समयअनुसार शुक्रबार राति ११:११ बजे ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको १९ मिनेटपछि ४.९ म्याग्निच्युडको परकम्प गएको थियो । माराकेस सहरबाट ७१ किलोमिटर दक्षिण–पश्चिमस्थित हाई एट्लस माउन्टेन्सलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको गहिराइ १८.५ किलोमिटर रहेको अमेरिकी भूसर्वेक्षण केन्द्रले जनाएको छ । भूकम्पमा केही हराइरहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

भूकम्पबाट माराकेस सहर र त्यहाँबाट दक्षिणी क्षेत्रका मानिसले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । माराकेसमा रहेको राष्ट्रसंघको सम्पदा सूचीमा परेको मेडिनाका केही हिस्सामा क्षति पुगेको छ । भूकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । माराकेस, अगादिर, कासाब्लांका, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि प्रभावित भएका छन् । प्रभावित क्षेत्रका बासिन्दा मध्यरातमा घर छोडेर भागेका थिए । मराकेस, कासाब्लांकालगायत सहरी क्षेत्रका मानिसले सडकमा रात बिताएका छन् । अहिले पनि अधिकांश मानिस घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् । शक्तिशाली भूकम्पपछि शनिबार दिउँसो स–साना धक्का महसुस गरिएको सञ्चार माध्यमले बताएका छन् । 

भूकम्पपछि दश मिनेटसम्म बिजुली र टेलिफोन सेवा बन्द भएको थियो । सरकारी अधिकारीका अनुसार देशको एकतिहाइ भूभाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । भूकम्पले नराम्ररी प्रभावित भएका पर्वतीय क्षेत्रमा रहेका दुर्गम गाउँमा उद्धार कार्य निकै कठिन भएको छ । पुराना भवन भएका ती गाउँमा अकल्पनीय विनाश भएको अनुमान गरिएको छ । ती स्थानमा उद्धारकर्ता पुग्न केही दिन लाग्न सक्छ । क्षति तथा हताहतीको पूर्ण विवरण आउन बाँकी छ ।

यसैबीच, विश्वका विभिन्न देशका नेताले मोरक्को सरकारप्रति सहानुभूति प्रकट गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जी–२० शिखर सम्मेलनमा भाग लिने सिलसिलामा भारतको राजधानी नयाँदिल्लीमा रहेका बेलायती प्रधानमन्त्री ऋषि सुनकले मोरक्कोलाई आफ्नो देशले हरसम्भव सहयोग गर्ने बताएका छन् । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मोरक्कोलाई सहयोग गर्ने प्रस्ताव गरेका छन् भने फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोनाले पनि मोरक्कोका भूकम्पपीडित जनता र त्यहाँको सरकारप्रति ऐक्यबद्धता प्रकट गरेका छन् । 

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मोरक्कोमा गएको भूकम्पका कारण भएको क्षतिप्रति शोक प्रकट गरेका छन् । उनले यथाशीघ्र स्पेनी उद्धार टोली मोरक्को पठाउने बताएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि मोरक्को नरेश मोहम्मद छैटौँलाई शोक सन्देश पठाएर समवेदना व्यक्त गरेका छन् ।
 

See More On

सुझावित समाचार