पेप्सीकोला सवारी दुर्घटना : उद्धारमा खट्ने उषाले दुर्घटनामा गुमाइन् ज्यान

सोमबार, १८ भदौ, २०८०
डिजिटल संस्करण

सशस्त्र प्रहरी बल नम्बर २० विपत् उद्धार उपत्यका गण सिनामंगलमा कार्यरत २५ वर्षीया उषा थापाको जिम्मेवारी हरेक विपत्मा नागरिकको उद्धार गर्नु थियो । आइतबार पेप्सीकोला सवारी दुर्घटनामा उनले ज्यान गुमाएकी छिन् । सोही दुर्घटनामा सर्लाहीका राज भट्टराईको पनि मृत्यु भएको छ । 

मूलपानी बस्ने उषा आफूसँगै कार्यरत २९ वर्षीया सरस्वती खड्काको स्कुटरपछाडि बसेर कार्यालय जाँदै थिइन् । तर, अचानक सवारी दुर्घटनामा परिन् । स्कुटरचालक खड्काको असावधानीले दुर्घटना भएको प्रारम्भिक रिपोर्ट छ । आइतबार बिहान ७ः३० बजे उषा बा.प्र.०२–०३७ प ५३११ नम्बरको डिओ स्कुटरको पछाडि बसेर पेप्सीकोलास्थित छाप्रो पुग्दै थिइन् । त्यही वेला विपरीत दिशाबाट बा.३ख ४८४८ नंं को बस बत्तिँदै आएर बा.६च ५३४२ नं को बोलेरोमाथि ठोक्कियो । 

बसले स्कुटरलाई ठक्कर दियो । उषा सडकमा बजारिन पुगिन् । टाउकोमा गम्भीर चोट लागेकी उनलाई उपचारका लागि सिभिल अस्पताल लगियो । तर, बचाउन सकिएन । बसले बा.प्र.०२–०४१ प ४८३८ नम्बरको एफजेट मोटरसाइकललाई पनि ठक्कर दियो । मोटरसाइकलचालक राज सडकमै ढले । उपचारका लागि उनलाई पनि अस्पताल लगियो । तर, चिकित्सकले उनलाई पनि बचाउन सकेनन् । प्रहरीका अनुसार दुर्घटनामा स्कुटरचालक सरस्वती र बसमा सवार १३ यात्रु घाइते भए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलले दुर्घटनामा १४ यात्रु घाइते भएका, जसमध्ये ११ यात्रु उपचारपछि घर फर्किएको बताए । ‘बिहान करिब ७: ३० बजे पेप्सीकोला छाप्रोमा बस दुर्घटना भयो । दुईजनाको मृत्यु भयो । १४ घाइते भए । जसमध्ये ११ यात्रु उपचारपछि घर फर्किएका छन् । बाँकी तीनजनाको उपचार भइरहेको छ,’ उनले भने । 

प्रहरीका अनुसार विपरीत दिशाबाट आएको स्कुटर जोगाउन खोज्दा बसले नियन्त्रण गुमाएर दुर्घटनामा परेको हो । प्रहरीको भनाइलाई घटनास्थलबाट प्राप्त सिसी क्यामरा फुटेजले पनि पुष्टि गरेको छ । परिसरका प्रवक्ता एसपी ढुंगेलले स्कुटरलाई जोगाउन खोज्दा बस चिप्लिएको र बोलेरोमा ठोक्किन पुगेको बताए । ‘घटनास्थलबाट प्राप्त सिसी क्यामरा फुटेज सरसर्ती हेर्यौँ । विपरीत दिशाबाट एउटा स्कुटरले सडक काटेको देखिन्छ । बसले उक्त स्कुटरलाई बचाउन खोजेको देखिन्छ । तर, तीव्र गतिमा रहेको हुँदा बस सडकमा चिप्लिएको देखिन्छ । र, गएर बोलेरोमा ठोक्किएको देखिन्छ । घटनामा सम्बन्धमा थप अनुसन्धान हुँदै छ,’ उनले भने । 

सुझावित समाचार