गठन भएको चार महिनामा सभापति पाएका संसदीय समितिले काम थालेका छन् । प्राथमिकता तय गरेका समितिले एकपछि अर्को बैठक बोलाएर सक्रियता बढाएका छन् । आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समितिका बैठक बसेको छ । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन र मंगलबार उद्योग समितिको बैठक बस्दै छन् ।
१५ वैशाखमा गठन भएर २ जेठदेखि ज्येष्ठ सदस्यको भरमा चलेका प्रतिनिधिसभाका १० वटा विषयगत समितिले ११ भदौमा सभापति पाएका थिए । सभामुख देवराज घिमिरेबाट शपथ तथा निर्देशन लिएर सभापतिहरूले समितिको कारबाही अगाडि बढाएका हुन् ।
नवनिर्वाचित सभापतिको अध्यक्षतामा बसेको बैठकले क्षेत्राधिकारभित्र पर्ने मन्त्रालयबाट समग्र ब्रिफिङ लिने, यसअघि दिएको निर्देशन र निर्णय कार्यान्वयनको मूल्यांकन गर्ने, गुनासो सम्बोधन गर्ने, विचाराधीन विधेयकमा दफाबार छलफल अगाडि बढाउने, विभिन्न विषयमा उपसमिति गठन गरेर जाने निर्णय गरेको छ ।
आरजु राणा देउवाको अध्यक्षतामा बसेको कृषि समितिले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी संशोधन विधेयकमा छलफल अगाडि बढाउने निर्णय गरेको छ । यो विधेयकका ५५ दफामा आठजना सांसदबाट संशोधन आएकोमा उपसमिति गठन गरेर टुंग्याउने समितिको योजना छ । यसैगरी निर्देशन कार्यान्वयनको अवस्था सात दिनभित्र उपलब्ध गराउन सम्बन्धित मन्त्रालयसँग माग गर्ने निर्णय गरेको छ ।
गाँजाखेतीको बहुउपयोग भएकाले यसको उत्पादन, बिक्री–वितरण कार्यलाई वैधानिक बनाउने सम्बन्धमा सम्बन्धित निकायसँग थप छलफल गरेर निर्णयमा पुग्ने निष्कर्ष निकालेको छ । आगामी बैठकमा भूमि मन्त्रालय र भूमि आयोगका पदाधिकारीसँग छलफल गरेर ब्रिफिङ लिने निर्णय छ । साथै जलवायु परिवर्तनको सवालमा कार्बन ट्रेडसम्बन्धी मुद्दामा नीतिगत र कानुनी फ्रेमवर्कबारे पनि वन मन्त्रालयसँग छलफल अगाडि बढाउने निर्णय गरेको छ ।
समितिको क्षेत्राधिकारबाट हटाइएको जलस्रोत र सिँचाइ फर्काउन पहल गर्ने निर्णयसमेत गरेको छ । ‘प्राकृतिक स्रोतका लागि जलस्रोत महत्वपूर्ण हो । सिँचाइ नभईकन कृषि हुँदैन । त्यसकारण यसलाई अलग नहेरीकन सम्पूर्ण रूपमै हेर्नुपर्छ । हाम्रै समितिमा यथावत् फर्काउने भनेर निर्णय गरेका छौँ,’ समिति सभापति राणाले भनिन्, ‘यसमा सभामुखज्यूको ध्यानाकर्षण गराउँछौँ ।’
यसैगरी कृषि तथा पशुपक्षी मन्त्रालयबाट आएको अनुरोधअनुसार बंगलादेश अवलोकन भ्रमणका लागि समितिबाट ६ सदस्य छनोट गरेर पठाउने निर्णयसमेत गरेको छ । यसैगरी, आइतबारै नवनिर्वाचित सभापति किरणकुमार साहको अध्यक्षतामा बसेको महिला तथा सामाजिक मामिला समिति बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट ब्रिफिङ लिएको छ । मन्त्री सुरेन्द्रराज आचार्यले बजेट अभावका कारण मन्त्रालयले तय गरिएका योजना तथा कार्यक्रमहरू पनि सम्पन्न गर्न सक्ने अवस्था नरहेको सुनाएका थिए । मन्त्रालयको ब्रिफिङमा समितिले विस्तृत अध्ययन गरेर निर्देशन दिनेछ ।
समितिमा बाल सुधारगृहको घटनाको विषयमा छलफल भएको थियो । महिला सशक्तीकरणलगायत क्षेत्राधिकारभित्र पर्ने विषयमा समितिलाई थप सक्रिय बनाउने सभापति साहले बताए । १८ जना महिला सदस्य भएको समिति चलाउन आफूलाई अप्ठ्यारो नभएको र सरल तथा मर्यादित रूपमै चलाएको दाबी साहले गरे ।
नयाँ सभापति पाएपछि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक सोमबार ११ बजे बस्दै छ । चीनले सार्वजनिक गरेको नक्सा र प्रधानमन्त्रीको चीन भ्रमण तथा पर्यटन मन्त्रालयबाट ब्रिफिङ लिने कार्यसूची छ । यसैगरी, उद्योग समितिको बैठक मंगलबार ११ बजे बोलाइएको छ । अत्यावश्यक वस्तुहरू खाद्य पदार्थ (चामल, नुन, चिनी, तरकारीलगायत) र पेट्रोलियम पदार्थ एवं खाना पकाउने ग्यासको आपूर्ति, बिक्री र हालको मौज्दातको अवस्थाबारे उद्योगमन्त्रीसँग छलफल गर्ने एजेन्डा छ । अन्य समितिहरू पनि कार्ययोजना बनाएर अघि बढ्ने तयारीमा छन् ।
‘प्रेसर ग्रुप’ बनाउन आरजुको प्रस्ताव
कृषि समितिको पहिलो बैठकमा सभापति आरजु राणाले समितिले उठान गरेका विषय सम्बोधन गराउन दबाब समूह बनाउनुपर्ने प्रस्ताव गरेकी छिन् । समितिका निर्देशन कार्यान्वयन नहुने गुनासो धेरै सुनिएको भन्दै सभापति राणाले निरन्तर निगरानी गर्ने र कार्यान्वयनका लागि दबाब बनाइराख्ने टिम बनाउनुपर्ने धारणा राखेकी हुन् ।
समितिले दिएका निर्देशनको कार्यान्वयन अवस्था अध्ययन गर्ने संसद् सचिवालयको अनुसन्धान शाखासँग बजेटै नहुँदा प्रभावकारी काम गर्न नसकेको भन्दै राणाले कृषि समितिकै सदस्यको सानो टिम बनाएर निगरानी तथा दबाब दिनुपर्नेमा जोड दिइन् । ‘हामीले समय खर्चिएर दिमागले भ्याएजति भन्छौँ, पछि त्यो कार्यान्वयन हुँदैन । कतिपय अव्यावहारिक कुरा आयो भने गर्न सकिँदैन भन्दिन पर्यो । तर, हामीले सिरियस्ली भनेको कुरा रेस्पोन्स गर्ने एउटा मेकानिजम रेगुलर हुनुपर्यो,’ उनले भनिन्, ‘कि त हामीबाट टिम बनाउने, अनि मन्त्रालयमा मासिक रूपमा फलोअपमा जाने, किनकि कुनै पनि मन्त्रीलाई समितिमा बोलायो भने राष्ट्रकै पैसा खर्च हुन्छ, उहाँहरूका अरू कार्यकारी काम होलान् । त्यसैले हाम्रोबाट सानो खालको टिम बनाऊँ ।’
आफू महिला आन्दोलनबाट आएको र उक्त आन्दोलनमा यही शैलीबाट सफल भएको स्मरण गर्दै राणाले प्रेसर ग्रुप बनाएर काम गराइहाल्नुपर्ने बताइन् । ‘हामीले पनि प्रेसर ग्रुप बनाएर विभिन्न मुद्दामा फलो गरेको गर्यै गरौँ । त्यसका लागि अनौपचारिक एउटा टिम बनाएर को–को कहाँ जाने, कोसँग कसको नेटवर्क राम्रो छ, कसलाई कुन ठाउँमा प्रश्न गर्ने गरी जाऊँ । यसरी रणनीतिक रूपमा हामी गयौँ भने साँच्चै सरकारलाई उत्तरदायी बनाउन सक्छौँ,’ उनले भनिन्, ‘यसकारण रणनीति बनाएर जान जरुरी छ । नत्र आउँछन्, सुन्छन्, चिया खान्छन्, जान्छन् ।’
आरजुको प्रस्तावमा सांसद दिक्पालकुमार शाहीले असहमति जनाएका थिए । ‘संसद्ले निर्देशन दिन सक्छ, मन्त्रीले आएर जवाफ दिनुपर्छ । संसद् मन्त्रालय जाने होइन, मन्त्रीले संसद्मा आउने हो, यो पनि मिनी पार्लियामेन्ट हो, यहाँ आउनुपर्यो, यसरी लगाम लगाउनुपर्यो,’ उनले भने ।
बैठकमा सभापति राणाले एजेन्डाहरू सदस्यलाई वितरण गरेर पास गर्ने र त्यसपछि छलफलमा लाने योजना सुनाइन् । बैठक थप सक्रिय बनाउन क्रस प्रश्न सोध्ने, अनुसन्धानमुखी हुनुपर्नेमा उनले जोड दिइन् । एजेन्डामा छलफलमा जानुअघि सानो कमिटी बनाएर तयारी गर्न सकिने विकल्प उनले राखेकी थिइन् ।
राणाले आफ्नो विशेष रुचि भएको क्षेत्रबारे जानकारी गराउन सदस्यहरूलाई अनुरोध गरेकी थिइन् । ‘यहाँहरूले देखेको, अनुभव गरेको हिसाबले यसमा काम गर्नुपर्छ भन्नुभयो भने सचिवालयसँग समन्वय गरेर त्यो क्षेत्रमा कसरी जाने भन्ने दिशा तय गर्न सकिन्छ,’ उनले भनिन् ।
यसैगरी हरेक मन्त्रालयसँग एकपटक सम्पूर्ण संरचनासँग र नीतिगत ब्रिफिङ लिने प्रस्ताव पनि गरिन् । ‘उहाँहरूले दुई–तीन घन्टा आएर यो–यो छ हाम्रो मन्त्रालयमा, यो–यो पोलिसीमा काम गरिरहेका छौँ, यो–यो मुख्य चासो हो, यहाँ समितिले सहयोग गरिदियोस् भनिदिनुभयो भने सजिलो हुन्छ । किनभने हामीले काम अगाडि बढाउनुअघि ए टु जेड बुझ्नुपर्यो,’ उनले भनिन्, ‘सभामुखसँगको बैठकमा पनि निर्देशन कार्यान्वयन हुँदैन भन्ने कुरा आउँदा कार्यान्वयन हुन सक्ने निर्देशनहरू दिनुपर्यो भन्ने सुझाव आयो, यसका लागि पनि मन्त्रालयहरूको राम्रोसँग अध्ययन नगरीकन हामीलाई थाहा हुँदैन ।’
सांसदहरूले राखेको जिज्ञासामा सभापति राणाले बाँदरले कृषकको बाली–नालीमा क्षति पुर्याएर खान नै नपुग्ने अवस्था सिर्जना गरेकाले भारतको हिमाञ्चल प्रदेशको मोडलमा परिवार नियोजन गरेर बाँदरको संख्या घटाउनुपर्ने धारणा राखिन् । राणाले औषधिलगायतको प्रयोजनका लागि गाँजाखेती गर्न बजेटमा समेत व्यवस्था गरिएको उल्लेख गर्दै नेपालमा खाली रहेको एक लाख हेक्टर कृषियोग्य जमिनको सदुपयोग गरेर गाँजाखेती गर्नका लागि सरोकारवाला निकायसँग छलफल गरेर सरकारलाई निर्देशन दिनुपर्ने धारणा पनि राखेकी थिइन् । अन्तिममा राणाले भनिन्, ‘मेरो भाषा राम्रो छैन, अंग्रेजी मिसाएर बोल्छु । सानैदेखि त्यस्तै छु । यसका लागि माफी चाहन्छु ।’