विश्व क्रिकेटमा भारत र पाकिस्तानबीचको प्रतिस्पर्धा सधैँ रोमाञ्चक बन्ने गर्छ । संसारको जुनसुकै मैदानमा यी दुई प्रतिस्पर्धीबीचको भिडन्त अत्यधिक चासोका साथ लिने गरिन्छ । जितमा सिंगो राष्ट्र नै खुसी मनाउँछ । हारमा खेलाडीविरुद्ध नाराबाजी नै हुन्छ । एसिया कप क्रिकेट प्रतियोगितामा पुनः एकपटक भारत र पाकिस्तानबीच शनिबार खेल हुँदै छ । यो खेल श्रीलंकाको पालेकेले रंगशालामा हुँदै छ । पहिलोपटक यी दुई राष्ट्रबीच सन् १९८४ को एसिया कपमा आमनेसामने भएका थिए । एसिया कपमा उनीहरूबीच १५ पटक प्रतिस्पर्धा हुँदा भारत नौ र पाकिस्तानले ६ खेलमा जित निकालेको छ । दुई खेलमा नतिजा निस्किएन । एसिया कपमा पाकिस्तानमाथि भारतले ६० प्रतिशत जित राखेको छ । पाकिस्तानले आफ्ना छिमेकीविरुद्ध ४० प्रतिशत नतिजा निकालेको छ ।
सन् १९८४ : भारत ५४ रनले विजयी
एसिया कपको पहिलो संस्करणमै भारत र पाकिस्तानबीच खेल भयो । एकदिवसीय विश्वकप च्याम्पियन भएको भारतले पाकिस्तानलाई पहिलो भेटमै ५४ रनले हरायो । सारजहाँ रंगशालामा भारतले पहिलो ब्याटिङ गरी ४६ ओभरमा चार विकेटको क्षतिमा एक सय ८८ रन बनायो । भारतका लागि एस खन्नाले सर्वाधिक ५६ रन बनाए । सुनील गावस्करले ३६ रन जोडे । सहज लक्ष्य पछ्याउँदा पाकिस्तान ३९.४ ओभरमा एक सय ३४ रनमै अलआउट भयो । पाकिस्तानका लागि ओपनर मोसिन खानले ६५ बलमा ३५ रन जोडे । बलिङका क्रममा भारतका रवि शास्त्रीले तीन र रोजर विन्नीले तीन विकेट लिए ।
सन् १९८८ : पाकिस्तान चार विकेटले पराजित
बंगबन्धु रंगशालामा पहिलो ब्याटिङ गरेको पाकिस्तानले ४२.२ ओभरमा सबै विकेट गुमाउँदै एक सय ४२ रन मात्र जोड्यो । ओपनर रमिज राजाले ३३ रन तथा मोइन उल हकले ३८ रन बनाए । भारतविरुद्ध अर्सद आयुबले २१ रन खर्चेर पाँच विकेट लिए । प्रत्युत्तरमा भारतले ४०.४ ओभरमा ६ विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो । मोहमद अमरनाथले ७४ रनको नटआउट इनिङ्स खेले । उनले एक सय २२ बलमा ६ चौका प्रहार गरे । बलिङका क्रममा पाकिस्तानका स्पिनर अब्दुल क्वदारले तीन मेडन राखी तीन विकेट हात पारे । यसै खेलमा वासिम अक्रमले दुई विकेट लिए ।
सन् १९९५ : ९७ रनले पाकिस्तानको जित
एसिया कपमा पाकिस्तानले भारतमाथि १० वर्षपछि जित निकाल्यो । सारजहाँ रंगशालामा पाकिस्तानले पहिलो ब्याटिङ गर्दै ५० ओभरमा ६ विकेटको नोक्सानीमा दुई सय ६६ रन बनायो । त्यो समयमा पाकिस्तानले जोडेको योगफल असम्भव मानिन्थ्यो । पाकिस्तानका लागि इन्जमाम उल हकले सय बलमा ८८ रनको योगदान दिए । वासिम अक्रमले ४६ बलमा ५० रन बनाए । बलिङमा अनिल कुम्बलेले दुई विकेट लिए । लक्ष्य पछ्याउँदा भारत ४२.४ ओभरमा एक सय ६९ रनमै समेटियो । पाकिस्तानका अकिव जावेदले सर्वाधिक पाँच विकेट हात पारे । भारतका नभज्योत सिन्धुले सर्वाधिक ५४ रन जोडे ।
सन् २००० : पाकिस्तान ४४ रनले विजयी
एसिया कपमा ६ वर्षपछि भारत र पाकिस्तान आमनेसामने भए । बंगलादेशको बंगबन्धु रंगशालामा पाकिस्तानले पहिलो ब्याटिङ गरी ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ९५ रन जोडेको थियो । यस खेलमा मोहमद युसुफले सय रनको नटआउट इनिङ्स खेले । भारतका लागि अनिल कुम्बलेले तीन विकेट हात पारे । अजय जडेजाले ९३ रनको योगदान दिँदा पनि भारत ४७.४ ओभरमा दुई सय ५१ रनमा अलआउट भयो । यस खेलमा सचिन तेन्दुलकरले २५ रन बनाएका थिए ।
सन् २००४ : ५९ रनले भारत स्तब्ध
श्रीलंकाको प्रेमादासा रंगशालामा पाकिस्तानले पहिलो ब्याटिङ गरी एसिया कपमै तीन सय रनको योगफल बनायो । पाकिस्तानले ५० ओभरमा नौ विकेट गुमाएर तीन सय रन बनायो । अलराउन्डर सोयब मलिकले १२७ बलमा एक सय ४३ रन जोडे । अस्वाभाविक रूपमा सचिन तेन्दुलकरले तीन विकेट हात पारे । फास्ट बलर इफान पठानले तीन विकेट हात पारे । प्रत्युत्तरमा भारतले ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ४१ रन बनायो । सचिनले १०३ बलमा ७८ रन जोडे । म्यान अफ दी म्याच सोएव मलिकले बलिङमा दुई विकेट हात पारे ।
सन् २००८ : भारतको ६ विकेटको जित
यस संस्करणमा भारत र पाकिस्तान समूह ‘बी’मा सुरुवातमै भिडेका थिए । पाकिस्तानले ५० पहिलो ब्याटिङ गरी ५० ओभरमा चार विकेट गुमाएर दुई सय ९९ रनको बलियो योगफल खडा गर्यो । सोयब मलिकले ११९ बलमा एक सय २५ रनको शतकीय इनिङ्स खेले । युनिस खानले ५९ रन र सलमान वटले ३५ रन जोडे । भारतले रोमाञ्चक खेलमा पाकिस्तानलाई ६ विकेटले हरायो । भारतका लागि ओपनर वीरेन्द्र सेहवागले ९५ बलमा १२ चौका र पाँच छक्का प्रहार गरी एक सय १९ रन बनाए ।
सन् २००८ : पाकिस्तान आठ विकेटले विजयी
यसै संस्करणको सुपर फोरमा पाकिस्तानले भारतलाई समूह चरणमा व्यहोरेको हारको बदला लियो । कराँचीको राष्ट्रिय रंगशालामा भारतले पहिलो ब्याटिङ गर्दै ५० ओभरमा सात विकेट गुमाएर तीन सय आठ रन बनायो । भारतका लागि ओपनर वीरेन्द्र सेहवागले ४९ रन, महेन्द्रसिंह धोनीले ७६ रन, रोहित शर्माले ५८ रन बनाए । प्रत्युत्तरमा पाकिस्तानले युनिस खानको एक सय २३ रनको शतकीय इनिङ्सको मद्दतमा भारतमाथि आठ विकेटको सानदार जित निकाल्यो ।
सन् २०१० : पाकिस्तानमाथि तीन विकेटको जित
श्रीलंकामा भएको एसिया कपमा पाकिस्तानले सुरुवाती ब्याटिङ गरी ४९.३ ओभरमा सबै विकेट गुमाएर दुई सय ६७ रन बनायो । पाकिस्तानका लागि ओपनर सलमान वटले ८५ बलमा ७४ रन बनाए । पुछारका कमरान अकमलले ५१ रन जोडे । गौतम गम्भीरले ८३ रन र महेन्द्रसिंह धोनीले ५६ रन जोडेपछि भारतले ४९.५ ओभरमा सात विकेटको क्षतिमा दुई सय ७१ रन जोड्यो ।
सन् २०१२ : भारत ६ विकेटले विजयी
मिरपुरमा भएको एसिया कपमा भारतले पुनः एकपटक पाकिस्तानमाथि रोमाञ्चक जित निकाल्यो । पाकिस्तानले ओपनर मोहमद हफिज र नसिर जमसेदको शतकीय योगदानमा ६ विकेटको नोक्सानीमा तीन सय २९ रनको बलियो योगफल बनायो । मोहमदले ११३ बलमा एक सय पाँच रन र नसिरले १०४ बलमा एक सय १२ रन जोडे । भारतले सुरुवातमै ओपनर गौतम गम्भीरको विकेट गुमायो । तर, विराट कोहलीको एक सय ८३ रनको विस्फोटक ब्याटिङको मद्दतमा भारतले ४७.५ ओभरमा केवल चार विकेट गुमाएर तीन सय ३० रन जोड्यो । भारतका लागि सचिनले ५२ रन र रोहितले ६८ रन बनाए ।
सन् २०१४ : भारत एक विकेटले हार्यो
मिरपुरमा पहिलो ब्याटिङ गरेको भारतले ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ४५ रनको मध्यम योगफल खडा गर्यो । भारतका लागि अम्बाती राइडुले सर्वाधिक ५८ रन र रवीन्द्र जडेजाले ५२ रन बनाए । पाकिस्तानले ४९.४ ओभरमा नौ विकेटको क्षतिमा दुई सय ४९ रन जोड्यो । पाकिस्तानका लागि मोहमद हफिजले ७५ रन र अहमेद सेहजादले ४२ रन बनाए । बलिङमा भारतका लागि रविचन्द्रन आश्विनले तीन विकेट लिए । अमित मिश्रा र भुवनेश्वर कुमारले समान दुई विकेट हात पारे ।
सन् २०१६ : पाँच विकेटले पाकिस्तान पराजय
एसिया कपमा पाकिस्तानले भारतविरुद्ध सम्भवतः पहिलोपटक कमजोर ब्याटिङ गरेको यही संस्करणमा थियो । पहिलो ब्याटिङ रोजेको पाकिस्तानले केवल १७.३ ओभरमा सबै विकेट गुमाउँदै ८३ रन मात्र बनायो । भारतका हार्दिक पाण्ड्याले ३.३ ओभरमा आठ रन खर्चंदै तीन विकेट लिए । जसप्रित ब्रुमराहले ३ ओभरमा आठ रन दिँदै एक विकेट लिए । पाकिस्तानका लागि सर्फराज अहमेदले सर्वाधिक २५ रन बनाए । भारतले १५.३ ओभरमा पाँच विकेट गुमाएर ८५ रन जोड्यो । विराट कोहलीले सर्वाधिक ४९ रन बनाए । यस खेलमा भारतका तीन ब्याट्सम्यान डकआउट भए ।
सन् २०१८ : भारत आठ विकेटले विजयी
समूह चरणमा पाकिस्तानले भारतविरुद्ध पहिलो ब्याटिङ गरी ४३.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६२ रन बनायो । पाकिस्तानका बाबर अजामले सर्वाधिक ४७ रन बनाए । यस खेलमा भारतका भुवनेश्वर कुमारले तीन विकेट लिए । प्रत्युत्तरमा भारतले २९ ओभरमा दुई विकेटको नोक्सानीमा एक सय ६४ रन जोड्यो । भारतका कप्तान रोहित शर्माले सर्वाधिक ५२ रन बनाए ।
सन् २०१८ : पाकिस्तानमाथि भारतको नौ विकेटको जित
सन् २०१८ को संस्करणको सुपर फोरमा भारतले पाकिस्तानमाथि एक विकेटको जित निकाल्यो । पाकिस्तानले पहिलो ब्याटिङ गरी ५० ओभरमा सात विकेट गुमाएर दुई सय ३७ रन बनायो । पाकिस्तानका लागि सोयब मलिकले ७८ रन बनाए । भारतले कप्तान रोहित शर्माको एक सय ११ रन र शिखर धवनको एक सय १४ रनको सहयोगमा ३९.३ ओभरमा एक विकेटको नोक्सानीमा दुई सय ३८ रनको योगफल बनायो ।
सन् २०२२ : भारत पाँच विकेटले विजयी
पछिल्लो संस्करणको समूह चरणमा पाकिस्तानले भारतविरुद्ध पहिलो ब्याटिङ गर्दै १९.५ ओभरमा सबै विकेट गुमाएर एक सय ४७ रन बनायो । पाकिस्तानका मोहमद रिजवानले सर्वाधिक ४३ रन बनाए । प्रत्युत्तरमा भारतले १९.४ ओभरमा पाँच विकेटको क्षतिमा एक सय ४८ रन जोड्यो । भारतका लागि विराट कोहली र रवीन्द्र जडेजाले समान ३५ रन बटुले ।
सन् २०२२ : पाकिस्तान पाँच विकेटले विजयी
सन् २०२२ को एसिया कपअन्तर्गत सुपर फोरमा पाकिस्तानले भारतमाथि पाँच विकेटको जित निकाल्यो । भारतले पहिलो ब्याटिङ गर्दै २० ओभरमा सात विकेट गुमाएर एक सय ८१ रन जोडेको थियो । यस खेलमा कोहलीले ४४ बलमा ६० रन बनाए । पाकिस्तानले १९.५ ओभरमा पाँच विकेटको नोक्सानीमा एक सय ८२ रनको योगफल बनायो । पाकिस्तानका मोहमद रिजवानले ५१ बलमा ७१ रन जोडेका थिए ।
एजेन्सीको सहयोगमा