रिपब्लिकन पार्टीको चिनियाँ द्वेष

शुक्रबार, १५ भदौ, २०८०
डिजिटल संस्करण

अमेरिकाको विश्वव्यापी भूमिकाबारे रिपब्लिकन पार्टीको राष्ट्रपतीय बहसले पार्टी युक्रेनका सन्दर्भमा गहिरो ढंगले विभाजित देखिएको छ । रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवारका आकांक्षी रोन डिसेन्टिसले युरोपेली योगदान नहुने हो भने युक्रेनलाई थप सहायता प्रदान गर्न नसकिने बताए । अर्का आकांक्षी विवेक रामास्वामीले युक्रेनलाई कुनै हालतमा हतियार दिन नहुने अड्डी कसेका थिए ।

बहसमा रिपब्लिकन पार्टीका युक्रेनप्रति सहानुभूति राख्ने क्रिस क्रिस्टी, माइक पेन्स र निक्की हेलीजस्ता हस्ती पनि सहभागी थिए । बहस चर्किंदै जाँदा यसले विवादको रूप लिएको थियो । यद्यपि यी असहमतिका बाबजुद सबै रिपब्लिकन अमेरिकाका लागि सबैभन्दा ठूलो खतरा बेइजिङबाट उत्पन्न हुन्छ भन्नेमा सहमत थिए । युक्रेन मामिलामा भिन्नता भए पनि रिपब्लिकनले चीनलाई गम्भीर चिन्ताका रूपमा हेर्छन् । 

चीनप्रतिको यो साझा मतले शीतयुद्धको सुरुवातमा प्रचलित रिपब्लिकन अडानको झल्को दिन्छ । यसले परम्परागत अन्तर्राष्ट्रियवाद वा पृथक्तावादसँग मेल खाँदैन, बरु यसले ‘एसिया फस्र्ट’ (एसिया प्रथम) को नीतिलाई प्रोत्साहन गर्छ । अहिलेको रिपब्लिकन नीतिले शीतयुद्धकालीन रिपब्लिकनको झल्को दिन्छ, अर्थात् त्यसवेला अगुवा रिपब्लिकन शीतयुद्धको सुरुवातमा युरोप–केन्द्रित दृष्टिकोणबाट अलग भएका थिए । र, तिनले सुदूरपूर्वमा (एसिया) क्षेत्रमा चासो र सरोकार केन्द्रित गर्नुपर्छ भन्ने पैरवी गर्थे ।

यो भिन्नता ‘मिस्टर रिपब्लिकन’का रूपमा कहलिएका सिनेटर रोबर्ट टाफ्टजस्ता व्यक्तिमा मुखर ढंगले देखिन्थ्यो । सन् १९४८ मा टाफ्टले अमेरिका नेटोमा आबद्ध हुने विषयमा पनि भिन्न मत राखेका थिए र भविष्यको शान्ति एवं सुरक्षाका लागि सुदूरपूर्व युरोपभन्दा बढी महत्वपूर्ण रहेको उनको दलिल थियो । समकालीन रिपब्लिकन सिनेटर एच अलेक्जेन्डर स्मिथले सम्भावित एसियाली खतरामा जोड दिँदै युरोप–केन्द्रित आशक्तताविरुद्ध मत राखेका थिए । तत्कालीन एक रिपब्लिकन सिनेटर एवं नेता विलियम नोल्यान्डले गृहयुद्ध हारेर चीनबाट भागेका राष्ट्रवादी निर्वासितलाई मुखर समर्थन गरेका थिए । समर्थनका कारण ताइवानलाई इंगित गर्दै उनलाई ‘फर्मोसाका सिनेटर’को उपनाम दिइएको थियो ।

चीनप्रतिको ऐतिहासिक दृष्टिकोणले आजको रिपब्लिकन पार्टीको नीति निर्माण गरेको छ । इतिहासकार जोयस माओ चीनमा शीतयुद्धकालीन रिपब्लिकनको चासोका पछाडि १९औँ शताब्दीको ‘आध्यात्मिक पितृवाद’ रहेको बताउँछिन् । १९औँ शताब्दीको उत्तरार्धमा प्रशान्त क्षेत्रमा अमेरिकाको प्रभाव विस्तारका क्रममा चीनको विशाल जनसंख्याका कारण अमेरिकी इसाई धर्म प्रचारकलाई उत्साहित बनाएको थियो ।

चीनको उदयबारे रिपब्लिकनको कट्टर द्वेषमा एक समस्याग्रस्त नश्लीय आयाम पनि देखिन्छ

पहिले कम्युनिस्टविरुद्ध र पछि ताइवानमा प्रभाव जमाउन राष्ट्रवादी नेता चियाङ काइ सेक र उनकी इसाई पत्नीले अमेरिकी समर्थन हासिल गर्न यी प्रचारकको सहयोग लिएका थिए । ‘एसिया फस्र्ट’को पैरवी गर्नेको सम्बन्ध चीनमा अमेरिकी मिसनरी पृष्ठभूमिका मानिससँग सम्बन्धित थियो । कम्युनिस्टविरोधीका रूपमा चिनिने जोन बर्च सोसाइटीले चीनप्रतिको रिपब्लिकन पार्टीको पुरातनपन्थी विरासतको चिन्तनलाई झल्काउँछ । स्मरण रहोस्, इसाई मिसिनरी जोन बर्चको चिनियाँ कम्युनिस्टले हत्या गरेका थिए ।

आज एसियालाई प्राथमिकता दिँदा धार्मिक उद्देश्यले खासै महत्व राख्दैन । एसियाको आर्थिक र राजनीतिक महŒव बाइडेन प्रशासन र बाँकी विश्वले व्यापक रूपमा स्वीकार गरेका छन् । अमेरिकाका दुवै पार्टीले चीन मामिलामा कडा अडान लिँदा पनि इतिहासकार माओले जोड दिएको रुढिवादी दृष्टिकोणका कारण डेमोक्य्राटको तुलनामा बेइजिङलाई रिपब्लिकनले थप खतराको दृष्टिले हेर्छन् । विभिन्न सर्वेक्षण तथ्यांकले यो भिन्नतालाई दर्साउँछन् ।

यही मार्चमा ग्यालप सर्वेक्षणमा चीन वा रुसमध्ये को ठूलो खतरा हो भन्नेमा डेमोक्य्राट र रिपब्लिकनबीच ठूलो भिन्नता देखिएको थियो । यो भिन्नता आंशिक रूपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पुरातनपन्थी इसाई मूल्य–मान्यतासँग सहानुभूति राखेका कारण देखिएको थियो । यसैकारण रिपब्लिकन पुटिनतर्फ नजिकिएका पनि हुन् । त्यसैगरी, अर्को कारण चिनियाँ राष्ट्रपति सी जिनपिङले छुट्टै विचारधाराका साथ गैरश्वेत महाशक्तिको नेतृत्व गरिरहेका छन् ।


डेलावेयर विश्वविद्यालयको सन् २०२१ को अध्ययनले जातीय रूपमा उच्च असन्तुष्टि भएका गोरा अमेरिकीले चीनलाई सैन्य खतराका रूपमा हेर्छन् । रिपब्लिकन जनाधारमा ठूलो हिस्सा ओगटेको कट्टर श्वेत इसाईले चीन सरकारको कडा विरोध गर्छन् । यो भावनालाई प्यु रिसर्च सेन्टरको निष्कर्षले पनि पुष्टि गर्छ । प्युका अनुसार गोरा गैरहिस्पानिक कट्टर इसाईले धार्मिक रूपमा असम्बद्ध अमेरिकी, अश्वेत प्रोटेस्टेन्ट र हिस्पानिक क्याथोलिकको तुलनामा चीनप्रति उल्लेख्य नकारात्मक धारणा राख्छन् ।

रिपब्लिकन जनाधारमा रहेको यो भावनाले कथित पृथकतावादीले वास्तवमा ‘एसिया फस्र्ट’को दृष्टिकोणलाई अँगाल्छन् भनेर देखाएको छ । टकर कार्लसन, विवेक रामास्वामीजस्ता व्यक्तिले चीनविरुद्ध रुससँग गठबन्धन गर्नुपर्छ भनेर वकालत गर्छन् । यो सूचीमा अलगाववादीको बिल्ला भिराइएका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पनि पर्छन् । रिपब्लिकन पार्टी अन्य रणनीतिमा भिन्न हुन सक्छ, तर चीनलाई मुख्य खतराका रूपमा हेर्ने मामिलामा एक छ । यद्यपि चीनको उदयबारे रिपब्लिकनको दृष्टिकोणमा एक समस्याग्रस्त नश्लीय आयाम देखिन्छ । उदाहरणका लागि ट्रम्पको ‘कोको चाउ’ टिप्पणी र सदनका रिपब्लिकनले बाइडेन प्रशासनमा एसियाली अमेरिकीको बफादारीमाथि गरेको प्रश्नले चीनप्रतिको नश्लभेदी दृष्टिकोण उजागर हुन्छ । 

रिपब्लिकन पार्टीमा ‘एसिया फस्र्ट’ दृष्टिकोणको पुनरुत्थानले चुनौती खडा गरेको छ । विशेषतः चीनलक्षित नश्लीय पूर्वाग्रहले चुनौती बढाएको छ । चीनबाट हुने चुनौतीलाई सम्बोधन गर्नु अत्यावश्यक भए पनि जातीय र सांस्कृतिक उदारतालाई जोखिममा नपार्नु पनि उत्तिकै आवश्यक छ । यसरी सन्तुलनमा केन्द्रित हुनुले प्रभावकारी परराष्ट्र नीतिमा स्वस्थ बहसको विकास गर्न सघाउनेछ । 

(बेनार्ट न्युमार्क स्कुल अफ जर्नालिज्ममा पत्रकारिता र राजनीतिशास्त्रका प्राध्यापक हुन्) न्युयोर्क टाइम्सबाट

सुझावित समाचार