एमालेले मध्यपहाडी राजमार्गकेन्द्रित अभियान चलाउने

बिहिबार, १४ भदौ, २०८०
डिजिटल संस्करण

एमालेले आगामी मंसिरमा मध्यपहाडी राजमार्गकेन्द्रित बृहत् पदयात्रा र जनसंवाद अभियान चलाउने भएको छ । सिराहामा बुधबार सम्पन्न केन्द्रीय सचिवालय बैठकले त्यस्तो निर्णय गरेको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । 

उनले अभियानअघि पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक राख्ने निर्णय भएको जानकारी दिए । तिहारलगत्तै सुरु हुने अभियान दुई साताभन्दा बढी समय चल्नेछ । कञ्चनपुरको झुलाघाटदेखि पूर्वी सिमाना पाँचथरको चिवा भञ्ज्याङसम्म राजमार्गकेन्द्रित अभियान चलाइने ज्ञवालीले बताए । 

सिराहाको धनगढीमाई नगरपालिका– ४ को सर्रे अम्बासमा बुधबारै एमाले अध्यक्ष केपी ओलीले सहिद स्तम्भको शिलान्यास गरेका छन् । जहाँ, तत्कालीन नेकपा मालेको चौथो महाधिवेशन सम्पन्न भएको थियो । महाधिवेशनमा मदन भण्डारी महासचिव निर्वाचित भएका थिए भने जनताको जनवादी व्यवस्थाका लागि बहुदलीय प्रतिस्पर्धाको राजनीतिमा पार्टीलाई अगाडि बढाउने तथा नेकपाका संस्थापक महासचिव पुष्पलालको नीतिअनुसार निरंकुश पञ्चायती व्यवस्था अन्त्यका लागि कांग्रेससँग मिलेर संयुक्त जनआन्दोलन गर्ने निर्णय लिएको थियो । महाधिवेशनको तिनै महत्वपूर्ण निर्णयको स्मरण गर्दै बैठकले विशेष प्रस्तावसमेत पारित गरेको छ ।

‘चौथो महाधिवेशनले नै जनताको बहुदलीय जनवादको आधार तयार गरेर जनताको जनवादी व्यवस्था बहुदलीय प्रतिस्पर्धाका आधारमा हुनेछ भन्ने नीति तय गरेकाले बैठकले त्यसलाई स्मरण गरेको छ,’ ज्ञवालीले नयाँ पत्रिकासँग भने, ‘त्यही महाधिवेशनले जननेता मदन भण्डारीलाई महासचिवका रूपमा चयन ग¥यो र उहाँकै नेतृत्वमा नेकपा एमाले कम्युनिस्ट आन्दोलनको मूल शक्तिका रूपमा स्थापित भएको हो ।’ 

बैठकले आठबुँदे विशेष प्रस्ताव पारित गरेको छ । ‘पछिल्ला समय राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर तेर्सिएका छन् । समाज र राजनीतिमा देखापरेका विकृति, विसंगति, भ्रष्टाचार, राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरण एवं अस्थिरताले हाम्रो आन्दोलनमाथि नयाँ चुनौती थपिदिएको छ,’ पारित प्रस्तावमा भनिएको छ, ‘यतिवेला जनताले भोग्नुपरिरहेका कष्टप्रति पार्टी गम्भीर छ र स्थितिमा परिवर्तन ल्याउन पनि गम्भीरताका साथ प्रयत्नशील छ । यस्तो स्थितिमा बसेको केन्द्रीय सचिवालयको यो बैठक चौथो राष्ट्रिय महाधिवेशनका ऐतिहासिक योगदानको उच्च मूल्यांकनसहित स्मरण गर्दछ, महाधिवेशनबाट महासचिवमा निर्वाचित कमरेड मदन भण्डारीका योगदानहरूप्रति गर्व गर्दछ र जनता तथा पार्टीबीचको घनिष्ट सम्बन्धलाई अझ प्रगाढ बनाउने संकल्प गर्दछ ।’ 

सहिद स्तम्भ शिलान्यास
बैठकले चौथो महाधिवेशन स्थललाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय जनताको चाहनाअनुसार विभिन्न पूर्वाधारका कामलाई अगाडि बढाउने प्रस्तावसमेत पारित गरेको छ । बुधबारै एमाले अध्यक्ष केपी ओलीले सर्रे अम्बासमा सहिद स्तम्भ निर्माणका लागि शिलन्यास गरेका छन् । त्यहाँ एमालेले पार्टी स्थापनाको ७५औँ वर्षका अवसरमा अर्को विशेष कार्यक्रमसमेत गर्ने तयारी गरेको छ । चौथो महाधिवेशनले झन्डै ३० वर्षअघि टुटेको कम्युनिस्ट आन्दोलनको कडीलाई जोड्ने काम गरेको र एमालेलाई कम्युनिस्ट आन्दोलनको मुख्य शक्ति, मूल प्रवाहका रूपमा स्थापित गरेको एमालेले स्मरण गरेको छ ।

सरकार भ्रष्टाचारीलाई जोगाउन लाग्यो : अध्यक्ष ओली 
सचिवालय बैठकपछि एमाले अध्यक्ष ओलीले भ्रष्टाचारको छानबिन गरेको हल्ला चलाएर वर्तमान सरकार भ्रष्टाचारीलाई जोगाउन लागेको आरोप लगाए । सुन तस्करीलगायत भ्रष्टाचारका मुद्दामा सरकारले जनतालाई भ्रम छरिरहेको र चिया बगानको फाइल खोल्ने धम्की दिइरहेको भन्दै ओलीले सरकालाई चुनौती दिए, ‘खोल्नुस् न त चिया बगानको फाइल, को–को जेल जान्छन् हेर्छौँ । समृद्ध नेपाल, सुखी नेपाली बनाउन हिँडेको एमाले पार्टी डराउँदैन ।’ पछिल्लो समयमा साम्प्रदायिक विद्वेष, घृणा फैलाएर समाज भड्काउने खेल सुरु भएको चर्चा गर्दै उनले त्यो देशका लागि हानिकारक रहेको उल्लेख गरे । ‘त्यसबाट सजग हुँदै विद्वेष, घृणा त्यागेर अगाडि बढ्नुको विकल्प छैन ।’ उनले सामाजिक सद्भाव कायम राख्य राष्ट्रिय एकता आवश्यक रहेको उल्लेख गरे ।

See More On

सुझावित समाचार