दुवै तस्करीमा संलग्न चिनियाँ नागरिकबीच आपसी सम्बन्ध भेटिएपछि अनुसन्धानको अर्को चरणमा सिआइबी
सात महिनाको बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएका ६० केजी र साढे नौ केजी सुन तस्करी घटनालाई प्रहरीले एकै ठाउँमा राखेर अनुसन्धान सुरु गरेको छ । दुवै घटनामा संलग्न अभियुक्त चिनियाँ नागरिक नै भएको र उनीहरूबीच आपसी सम्बन्ध पनि रहेको भेटिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एकै ठाउँमा समेटेर अनुसन्धान थालेको हो ।
त्रिभुवन विमानस्थलबाट गत २ साउनमा ६० केजी र गत १० पुसमा साढे नौ केजी सुन तस्करी भएको थियो । ६० केजी सुन मोटरसाइकल र स्कुटरको ब्रेकसुभित्र लुकाएर भित्र्याइएको थियो भने साढे नौ केजी सुन इ–सिगरेट (विद्युतीय चुरोट)मा लुकाएर ल्याइएको थियो । सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले ६० केजी र साढे नौ केजी सुन तस्करी घटनालाई एकै ठाउँमा राखेर अनुसन्धान भइरहेको बताइन् ।
सिआइबी प्रमुख एआइजी किरण बज्राचार्य भन्छिन्–
सिआइबी अहिले ६० केजी सुन तस्करीलाई लिएर अनुसन्धानरत छ । यसमा केही चिनियाँ नागरिक पक्राउ परेका छन् । यसअघि भएको साढे नौ केजी सुन तस्करीमा पनि चिनियाँ नै पक्राउ परेका थिए । त्यसैले दुवै घटनालाई हामीले एउटै फ्रेममा राखेर हेरिरहेका छौँ । अहिले टेक्निकल पाटो अध्ययन भइरहेको छ । घटना आपसमा अन्तरसम्बन्धित छन् कि भन्ने हाम्रो अनुमान छ ।
‘सिआइबी अहिले ६० केजी सुन तस्करीलाई लिएर अनुसन्धानरत छ । यसमा केही चिनियाँ नागरिक पक्राउ परेका छन् । यसअघि भएको साढे नौ केजी सुन तस्करीमा पनि चिनियाँ नै पक्राउ परेका थिए । त्यसैले दुवै घटनालाई हामीले एउटै फ्रेममा राखेर हेरिरहेका छौँ । अहिले टेक्निकल पाटो अध्ययन भइरहेको छ । घटना आपसमा अन्तरसम्बन्धित छन् कि भन्ने हाम्रो अनुमान छ ।’
६० केजी सुन तस्करी घटनाको अनुसन्धान सुरुमा राजस्व अनुसन्धान विभागले गरेकोमा २१ साउनयता अर्थात् २४ दिनदेखि सिआइबीले गरिरहेको छ । यो प्रकरणमा तस्करीमा संलग्न टियान मी, वेन टोङ, डियाङ से फा, ली नेङकाई, याओ पुचेङ र ली वेन सुङलाई सिआइबीले पक्राउ गरिसकेको छ । यसअघि राजस्व अनुसन्धान विभागले घटनामा संलग्न रहेको अभियोगमा तिब्बती मूलका भारतीय नागरिक थाप्तेन छिरिङ र तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङलाई पनि सोही घटनामा संलग्न भएको भन्दै पक्राउ गरेको थियो ।
यता, विद्युतीय चुरोटमा लुकाएर ल्याइएको सुन तस्करीमा कनेक्सन रहेको आरोपमा सिआइबीले बुधबार माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महाराका छोरा राहुल महरालाई पक्राउ गरेको छ । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले पाँच दिनको म्याद थप गरिसकेको छ । यही प्रकरणमा यसअघि चिनियाँ नागरिक ली हानसोङलाई पक्राउ गरेको थियो ।
६० किलो सुन तस्करीमा संलग्नमध्येका मुख्य अभियुक्त दिल्लीमा पक्राउ
६० किलो सुन तस्करीमा संलग्नमध्येका मुख्य अभियुक्त सिन्धुपाल्चोकका ३६ वर्षीय किशोर बस्नेत भारतको राजधानी दिल्लीमा पक्राउ परेका छन् । उनलाई पक्राउ गर्न सिआइबीको विशेष टोली दिल्ली पुगेको थियो । उनीहरूको समन्वयमा भारतीय प्रहरीले बस्नेतलाई पक्राउ गरेको हो । मंगलबार पक्राउ परेका उनलाई सिआइबीको टोलीले भारतस्थित नेपाली दूतावासमा राखेको थियो । बुधबार बिहान विमानमार्फत काठमाडौं ल्याइएको छ ।
पक्राउ हुँदा उनले आफ्नो ठेगाना दोलखाको भीमेश्वर नगरपालिका बताएका थिए । अनुसन्धानपछि उनको घर सिन्धुपाल्चोक रहेको खुलेको थियो । सिआइबी टोलीको हात लागेपछि प्रलोभनमा पार्न उनले अनेक हर्कत गरेका थिए । दिल्लीस्थित नेपाली दूतावासमा रहँदा मात्रै उनले तीनपटक पोसाक बदलेका थिए । आफू ठूलो चिनियाँ व्यापारी रहेको र मुलुकका प्रभावशाली व्यक्तिसँग नजिकको सम्बन्ध रहेको भन्दै पक्राउ गर्न आएको सिआइबी टोलीलाई प्रभावित पार्न खोजेका थिए । उनले दूतावासमा पनि सोही किसिमका गफ दिएका थिए ।
सिआइबी स्रोतले भन्यो, ‘पक्राउ परेपछि यसले अनेक गफ लगायो । आफूलाई ठूलो व्यापारी भन्थ्यो । प्रभावशाली व्यक्तिसँग उठबस रहेको बताउँथ्यो । सुरुमा यसले आफ्नो घर दोलखा भन्यो । यहाँ ल्याएपछि यसको घर सिन्धुपाल्चोक रहेको खुलेको छ । दूतावासमा पनि यसले अनेक हर्कत देखायो । कपडा मात्रै यसले तीनपटक बदल्यो ।’
सिआइबीका अनुसार पक्राउ परेका बस्नेत तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङका खास सहयोगी हुन् । दावाकै निर्देशनअनुसार उनले हङकङबाट विभिन्न सामग्री ल्याउने गरेको खुलेको छ । सोही सामग्रीमा सुन लुकाएर तस्कर गर्ने गरेको प्रहरीको भनाइ छ । बस्नेतको सम्बन्ध याओ पुचेङसँग पनि रहेको पाइएको छ ।
काठमाडौंमा तस्करबाट आएको सुन याओ र दावाको निर्देशनमा बस्नेतले नै भारतीय बजारमा लाने गरेको अनुसन्धानबाट खुलेको छ । सिआइबीको टोलीबाट पक्राउ परेका याओ त्यही व्यक्ति हुन् जोसँग भारतीय आधार कार्डसमेत फेला परेको थियो । उनी त्यसअघि पनि सुन तस्करीकै अभियोगमा भारतमा पक्राउ परेका थिए । कैद सजाय भुक्तानपछि उनी नेपाल आएर पुनः सोही धन्दामा लागेका थिए ।
सिआइबीले घटनामा संलग्न रहेको अभियोगमा बुधबार नै गणेश पौडेललाई पनि पक्राउ गरेको छ । पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको अधिकृत रहेको खुलेको छ । हालसम्म प्रहरीले घटनामा संलग्न २५ अभियुक्त पक्राउ गरिसकेको छ । यसक्रममा पाँचवटा सुन गाल्ने मेसिन र पाँचवटाभन्दा धेरै गोदाममा छापा मारिसकेको छ ।
सिआइबीको टोली भारत पनि जाने
तस्करी भएर आएको सुनको डेस्टिनेसन (गन्तव्यस्थान) भारतीय बजार भएको र पक्राउ अभियुक्तको सम्बन्ध पनि भारतीय व्यापारीसँग रहेको भेटिएपछि अनुसन्धान गर्न सिआइबीले भारतमा विशेष टोली खटाउने तयारी गरेको छ । घटना अनुसन्धान गर्न सिआइबीको टोली बिहीबार नै भारत जानेछ । प्राप्त सूचना भारतीय प्रहरीलाई उपलब्ध गराउनेछ । र, भारतीय प्रहरीको सहयोगमा घटनामा संलग्न थप अभियुक्त पक्राउ गर्नेछ ।
सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले सुन तस्करी घटनामा अनुसन्धान गर्न सिआइबीको टोली भारत जाने तयारीमा रहेको बताइन् । उनले भनिन्, ‘तस्करी भएर आएको सुन भारतीय बजार जाने गरेको देखिन्छ । त्यसो हुँदा अनुसन्धान त्यताको पनि गर्नुपर्ने देखियो । अनुसन्धानका लागि टोली पठाउने तयारी भइरहेको छ ।’
सिआइबीले सोही घटना अनुसन्धानमा सूचना संकलन गर्न एसएसपी दिनेश आचार्यलाई मंगलबार नै हङकङ पठाएको छ । एसएसपी आचार्य मंगलबार राति नै हङकङ उडेका छन् । ६० केजी सुन तस्करीको बिगिनिङ प्वाइन्ट (सुरुवाती बिन्दु) हङकङ हो ।
सिआइबी अहिले ६० केजी सुन तस्करीलाई लिएर अनुसन्धानरत छ । यसमा केही चिनियाँ नागरिक पक्राउ परेका छन् । यसअघि भएको साढे नौ केजी सुन तस्करीमा पनि चिनियाँ नै पक्राउ परेका थिए । त्यसैले दुवै घटनालाई हामीले एउटै फ्रेममा राखेर हेरिरहेका छौँ । अहिले टेक्निकल पाटो अध्ययन भइरहेको छ । घटना आपसमा अन्तरसम्बन्धित छन् कि भन्ने हाम्रो अनुमान छ ।