अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले १६औँ एसिया कपमा चम्कन सक्ने ६ खेलाडी चयन गरेको छ । प्रतियोगितामा सहभागी ६ राष्ट्रबाट एक–एक खेलाडीको छनोट आइसिसीले गरेको छ । आइसिसीको नजरमा नेपालबाट गुल्सन झा सम्भावित चम्कन सक्ने खेलाडीमा परेका छन् ।
बाबर आजाम (पाकिस्तान) : आइसिसीको पछिल्लो एकदिवसीय ब्याटिङ वरीयतामा बाबर शीर्ष स्थानमा छन् । पाकिस्तानी टोलीका कप्तानसमेत रहेका उनले क्रिकेटका सबै फम्र्याटमा राम्रो ब्याटिङ गर्न सक्छन् । सन् २०१६ मा उनले वेस्ट इन्डिजविरुद्ध डेब्यु गरेका थिए । अहिलेसम्म १०३ एकदिवसीय खेलमा उनले पाँच हजार दुई सय दुई रन जोडेका छन् । यसक्रममा १८ शतक तथा २८ अर्धशतक बनाए । १२ पटक नटआउट रहेका उनले चार सय ६८ चौका र ५२ छक्का प्रहार गरे ।
जसप्रित बुमराह (भारत) : बुमराहले एसिया कपमै भारतीय टोलीमा पुनरागमन गरेका हुन् । चोटका कारण उनी पछिल्लो समय संघर्षरत थिए । उनी भारतका प्रमुख बलर हुन् । उनले मिडल ओभर र डेथ ओभरमा योर्करसहित स्विङ बलिङ गर्न सक्छन् । सन् २०१६ मा उनले अस्ट्रेलियाविरुद्ध डेब्यु गरे । ७२ एकदिवसीय खेलमा उनले एक सय २१ विकेट लिएका छन् । उनले दुईपटक पाँच विकेट तथा पाँचपटक चार विकेटको प्रदर्शन गरेका छन् । उनको उत्कृष्ट प्रदर्शन १९–६ हो ।
गुल्सन झा (नेपाल) : १७ वर्षीय गुल्सनले ग्लोबल छनोटमा प्रभावशाली बलिङ र ब्याटिङ गरेका थिए । यसैको प्रभाव आइसिसीलाई परेको छ । सन् २०२१ मा अमेरिकाविरुद्ध डेब्यु गरेका उनले २२ खेलमा २१ इनिङ खेल्दै २१ विकेट लिएका छन् । यसक्रममा उनको उत्कृष्ट प्रदर्शन २८–३ हो । नेपाली टोलीमा अलराउन्डर प्रदर्शनमा माहिर गुल्सनले १८ इनिङमा ब्याटिङ गर्दै चार सय ५२ रन बनाएका छन् । उनले तीनपटक अर्धशतक खेले । उनको व्यक्तिगत सर्वाधिक रन ६७ हो । मिडिल ओभरमा विपक्षीको रेट घटाउन उनको भूमिका महत्वपूर्ण हुन सक्छन् ।
रासिद खान (अफगानिस्तान) : विश्व क्रिकेटमा नाम चलेका क्रिकेटमध्ये रासिद हुन् । अफगानिस्तानलाई एकदिवसीयदेखि टेस्ट राष्ट्र बनाउनुमा उनको योगदान धेरै छ । एसिया कपकै प्रतिभाशाली स्पिनरमध्ये उनलाई आइसिसीले एक मानेको छ । अफगानिस्तानको स्पिनर पक्ष बलियो बनाउने जिम्मेवारी उनकै हो । बलिङ एक्समा उनको भिन्नता छ । सन् २०१८ मा उनले जिम्बावेविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरे । ९२ खेलमा उनले एक सय ७० विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन १८–७ हो । ब्याटिङमा उनले ७३ इनिङ्स खेल्दै एक हजार एक सय ६० रन बनाएका छन् ।
तक्सिन अहमेद (बंगलादेश) : बंगलादेश क्रिकेट बोर्डले फास्ट बलर अहमेदलाई सुरुवातमा बाहिर राखेको थियो । इबादत हुसैन घाइते भएपछि बोर्डले अहमेदलाई एसिया कपमा मौका दिएको हो । अहिले उनको काँधमै बंगलादेशको तीवग्रति बलिङ जिम्मेवारी छ । पछिल्लो समय उनले अफगानिस्तानसँगको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । २८ वर्षीय अहमेदले ५९ एकदिवसीय खेलमा ८१ विकेट लिएका छन् । उनले तीनपटक चार तथा दुईपटक पाँच विकेट प्रदर्शन गरेका छन् । ब्याटिङमा उनले ३० इनिङ्समा एक सय ४९ रन जोडेका छन् । सन् २०१४ मा उनले भारतविरुद्ध डेब्यु गरेका थिए ।
महिस थिक्षणा (श्रीलंका) : अहिले श्रीलंकाले बलिङमा निकै विश्वास गरेका खेलाडी महिस हुन् । जिम्बावेमा भएको आइसिसी विश्वकप छनोटमा उनले श्रीलंकाका लागि सर्वाधिक २१ विकेट लिएका थिए । उनकै यसै अद्भूत प्रदर्शनका कारण श्रीलंकाले विश्वकपमा स्थान बनाएको हो । सन् २०२१ मा उनले दक्षिण अफ्रिकाविरुद्ध डेब्यु गरेका थिए । उनले बलिङको क्रममा २२ खेलमा ३६ विकेट लिएका छन् । यसैगरी, ब्याटिङमा उनले ८८ रन जोडेका छन् । उनले बलिङमा चारपटक चार विकेट लिए ।