ब्राजिलको रियो दी जेनेरियोमा सुरु भएको दोस्रो आइएसएफ जिम्न्यासाइड २०२३ मा नेपालले बक्सिङबाट दुई कांस्य पदक जितेको छ । रियो दी जेनेरियोको ओलम्पिक पार्कमा सोमबार सम्पन्न खेलमा प्रकृति थापाले ५१ केजी तौलसमूहमा तथा सेरप ग्याल्चेन शेर्पाले ६० केजी तौलसमूहमा कांस्य पदक जितेका हुन् । दुवै खेलाडीले क्वार्टरफाइनलमा बाई पाएर सीधै सेमिफाइनल खेलेका थिए । सेमिफाइनलमा सेरपले आयोजक ब्राजिली प्रतिद्वन्द्वीलाई पराजित गरे । तीन राउन्डको भिडन्तमा सेरपले दोस्रो र तेस्रो चरणमा ब्राजिलियन खेलाडीलाई कडा टक्कर दिएका थिए । उनी पहिलो राउन्डमा पछि परेका थिए ।
गत वर्ष काठमाडौंमा भएको अल नेपाल स्कुल पुरुष बक्सिङ प्रतियोगितामा स्वर्ण जितेका सेरपबाट स्वर्णको आशा गरिएको थियो । उनका प्रशिक्षक प्रकाश थापामगरले सेरप भविष्यमा राम्रो खेलाडी बन्न सक्ने प्रतिक्रिया दिए । ‘आयोजकविरुद्ध खेल सम्हाल्न सेरपलाई समय लाग्यो, दोस्रो र तेस्रो चरणमा राम्रो खेले पनि जित्न सकेनन्,’ प्रशिक्षक थापामगरले भने, ‘उनी भविष्यमा नेपालको राम्रो खेलाडी बन्न सक्छन् ।’
यसैगरी, महिला नेपाली बक्सर प्रकृति सेमिफाइनलमा क्रोएसियाका खेलाडीसँग आरएससीमा पराजित भइन् । पहिलो राउन्डमा उनले दुईपटक ‘काउन्ट’ खाएपछि दोस्रो राउन्ड खेल्न पाइनन् । बास्केटबलतर्फ नेपाल माचिलीसँग पराजित भएपछि बाहिरिएको छ । पौडीतर्फ ५० मिटर ब्रेस्ट स्ट्रोकमा सहभागी नेपालका सुगम श्रेष्ठले राम्रो गर्न सकेनन् ।
प्रतियोगितामा समावेश १८ मध्ये पाँच खेलमा नेपालले भाग लिएको छ । नेपाली खेलाडीले बक्सिङ, पौडी, तेक्वान्दो, टेबलटेनिस र बास्केटबलमा सहभागिता जनाइरहेका छन् । अन्तर्राष्ट्रिय स्कुल स्पोर्टस् महासंघ (आइएसएफ)को आयोजनामा हरेक दुई वर्षमा हुने जिम्न्यासाइड यस वर्ष ब्राजिलमा १७ देखि २५ अगस्टसम्म हुनेछ । यो १३ देखि १५ वर्ष उमेरसमूहको ‘मिनी ओलम्पिक’ प्रतियोगिता हो । प्रतियोगितामा ४४ राष्ट्रबाट दुई हजार खेलाडीले विभिन्न १८ खेलमा प्रतिस्पर्धा गरिरहेका छन् ।