पाथीभरा गोल्डकप अब ‘ताप्लेजुङ गोल्डकप’काे नामबाट, प्रतियाेगिता भदौ १४ देखि

आइतबार, ३ भदौ, २०८०
डिजिटल संस्करण

तीन वर्षदेखि रोकिएको पाथीभरा गोल्डकप ‘ताप्लेजुङ गोल्डकप’को नाममा खेलाइने भएको छ । ०२९ देखि लाखेजात्राको अवसरमा निरन्तर हुँदै आएको प्रतियोगिता पछिल्लो तीन वर्षयता ठप्प थियो।

दुई वर्ष कोभिड महामारीका कारण खेल रोकियो भने गत वर्ष मैदान नहुँदा प्रतियोगिता भएन। यो वर्ष भने प्रतियोगिता हुने पक्का भएसँगै प्रतियोगिताको तयारी सुरु गरिएको छ।

लाखेजात्रा फुटबल खेल सञ्चालक समिति पत्रकार तथा पूर्वफुटबल खेलाडी देवराज गुरुङको अध्यक्षतामा खेल सञ्चालन हुनेछ । रक्षाबन्धनका दिन (भदौ १४ गते) सुरु भएर श्रीकृष्ण जन्माष्टमीका दिन (भदौ २० गते) प्रतियोगिता समापन हुने अध्यक्ष गुरुङले जानकारी दिए।

प्रतियोगिता सम्पन्न गर्न करिब ४० लाख लाग्ने अनुमान छ। फुङलिङ नगरपालिकाका अध्यक्ष अमिर मादेनले पाँच लाख सहयोग दिने घोषणा गरेबाहेक अन्य रकम अहिलेसम्म जुटेको छैन। काठमाडौं, झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर तथा भारतको सिक्किम र दार्जिलिङका खेलाडी प्रतियोगितामा सहभागी हुनेछन्।

अगाडिका वर्षमा प्रथम हुने टिमलाई  तीन लाख ११ हजार एक सय ११ र उपविजेतालाई एक लाख ५१ हजार एक सय ११ रुपैयाँ पुरस्कार दिइएको थियो। यस वर्ष पनि सो पुरस्कार नघटाउने योजना रहेको आयोजकले जनाएको छ।
 

सुझावित समाचार