टोखामा व्यवस्थित ढंगले बनाइएका सुन पगाल्ने गोदाममा तस्कर चिल्ला कारमा आउँथे र निर्वाध ढंगले सुन हालेर लैजान्थे
काठमाडौंको टोखा नगरपालिका– ३ पञ्चेटारस्थित पाइप कारखानाकी मजदुर सन्ध्या श्रेष्ठको मनभित्र दुई वर्षदेखि दुईवटा जिज्ञासा जबर्जस्त उठ्ने गर्थे– सामुन्ने रहेको गोदाम केका लागि खोलिएका होलान् ? प्रत्येक साँझ रातो र सेतो रङको चिल्लो कार लिएर गोदाममा कस्ता मान्छे आउँदा हुन् ?
राजस्व अनुसन्धान विभागले गत १४ साउनमा गोदामभित्र जब छापा हान्यो, त्यहाँभित्रको कालो धन्दा थाहा पाएर श्रेष्ठ आश्चर्यचकित भइन् । करिब एक रोपनी क्षेत्रफलमा निर्माण गरिएको त्यही गोदाम थियो, जहाँ तस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी गरी ल्याइएका सुन स्टोर गरी राख्दै आएका थिए । सोही गोदाममा रातभर सुन गालिन्थ्यो । आवश्यक आकारमा ढालिन्थ्यो र गोदामभित्रै पार्किङ गरिएको कारमा लोड गरेर ठेगानामा पुर्याइन्थ्यो । मजदुर श्रेष्ठका अनुसार प्रत्येक साँझ गोदामभित्र छिर्ने र बिहान झिसमिसेमै बाहिरिने कार त्यही थियो ।
दुई वर्षदेखि गोदामघरको गतिविधि नजिकबाट नियाल्दै आएकी श्रेष्ठले भनिन्, ‘गोदम दिनभर सुनसान हुन्थ्यो । साँझ परेपछि रातो र सेतो रङका कार आउँथे । गोदामको गेट खुल्थ्यो । भित्र छिरेपछि गेट पुनः बन्द हुन्थ्यो । कहिले मध्यरात त कहिले बिहान झिसमिसेमै कार बाहिरिन्थ्यो । करिब दुई वर्षदेखि यस्ता गतिविधि निरन्तर चलिरहेका थिए । कारखानाभित्र सुनको काम हुने गरेको तथ्य अहिले पो थाहा पाएँ ।’
कारखानाभित्र प्रवेश गर्न तस्करले निजी लगानीमा पक्की सडक नै बनाएका थिए । सडक गोदामभित्रसम्म लगिएको थियो । रेखदेखका लागि गोदामनजिकै तस्कर बस्न व्यवस्थित आवास कक्ष बनाइएको थियो । पाइप कारखानाकी मजदुर श्रेष्ठका अनुसार गोदाममा कार लिएर आउने व्यक्ति नेपाली र चिनियाँजस्ता देखिन्थे । उनीहरूसँगै कहिलेकाहीँ युवती पनि आउने गर्थे । ‘गोदाममा कार लिएर आउनेमध्ये कोही चिनियाँजस्ता देखिन्थे, कोही नेपालीजस्ता । कहिलेकाहीँ उनीहरू युवती पनि लिएर आउँथे । नजिकै रहेको आवासमा बस्थे । र, बिहान झिसमिसेमै बाहिरिन्थे,’ उनले भनिन् ।
पञ्चेटारस्थित करिब एक रोपनी क्षेत्रफलमा जस्तापाताबाट बनाइएको गोदामभित्र करिब दुई वर्षदेखि अनवरत चलेको यी गतिविधिका सूचना मुलुकको सुरक्षा संयन्त्रले समेत पाउन सकेन । जब कि यस्तै सूचना संकलनका लागि नेपाल प्रहरीभित्र विशेष ब्युरो र प्रधानमन्त्री कार्यालयमातहत राष्ट्रिय अनुसन्धान विभाग (राअवि) गठन गरिएका छन् । दुई वर्षदेखि बेपर्वाह कारखाना सञ्चालन गरेका तस्कर यतिमै रोकिएनन् । उनीहरूले गोदाम अन्यत्र पनि विस्तार गरे । यहीमध्येको एक थियो, काठमाडौं महानगरपालिका– १६ बहती पोखरीस्थित गोदाम । दुई हजार दुई सय वर्गफिट क्षेत्रफल भएको गोदामभित्र सुन गाल्ने चारवटा मेसिन जडान गरिएका थिए । प्रतिमहिना ५० हजार रुपैयाँ भाडा दिने सर्तमा खोलिएको गोदामका मालिक चिनियाँ नागरिक थिए ।
गिरोहले टोखा नगरपालिका– ३ पञ्चेटारस्थित सुन गाल्न बनाएको गोदाम, जहाँ तस्करीको सुन गाल्ने गरिन्थ्यो ।
गोदाम प्रहरी वृत्त लैनचौरको कार्यालयभन्दा करिब सय मिटर मात्रै टाढा । तर, यसको सुइँको न वृत्तमातहतका प्रहरीले पायो, न सूचना संकलन र विश्लेषणको जिम्मेवारी लिएर बसेको ब्युरो र राअविले पाउन सक्यो । ६०.७१६ किलो सुन तस्करी अनुसन्धान गरिरहेको नेपाल प्रहरीअन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सात दिनको अवधिभित्र यस्ता पाँच गोदाम फेला पारेको छ । चप्पल कारखाना, सुकेधारा, सामाखुसी, बाँसबारी र बौद्धमा भेटिएका गोदाममध्ये केहीमा सुन जोख्ने तराजु र गाल्न प्रयोग हुने मेसिन फेला परेका छन् । तर, यसको सुइँको राज्यको कुनै पनि खुफिया संयन्त्रले पाउन सकेन ।
फेला परेका यी गोदामभित्र तस्कर गरी ल्याइएका सुन मात्रै ‘स्टोर’ गरिएका थिए । त्यसको ठाउँमा आरडिएक्स (रोयल डेमोलिसन इक्सप्लोसिभ) वा अत्याधुनिक हातहतियार ‘स्टोर’ गरी राखिएको भए मुलुकको अन्तर्राष्ट्रिय छवि यतिवेला धुमिल भइसकेको हुने थियो । पूर्वएआइजी राजेन्द्रसिंह भण्डारी यो तथ्य स्वीकार गर्छन् । यो स्थिति आउनुमा राजनीतिक नेतृत्व दोषी रहेको उनको तर्क छ । ‘विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन तस्कर भएको देखियो । स्टोर गर्न तस्करले राजधानीभित्रै गोदाम खोलेको भेटियो । तर, मुलुकको सुरक्षा संयन्त्रले यसको भेउ पाउन सकेन,’ उनले भने, ‘यसको ठाउँमा हातहतियार तथा विस्फोटक पदार्थ तस्करी भएर आएको भए स्थिति के हुन्थ्यो ? सूचना संयन्त्र सशक्त नहुनु यसको एउटै कारण हो । राज्य संयन्त्रलाई नेतृत्व दिने राजनीतिक दलको चाहना नै यस्तै छ । जसले सूचना संयन्त्रलाई भुत्ते बनाइदिएको छ ।’
हेमन्त मल्ल पूर्वडिआइजी तथा सुरक्षाविद्
विमानस्थल अन्तर्राष्ट्रिय तस्करका गिरोह आउजाउ गर्ने महत्वपूर्ण ‘पोर्ट’ हो । यस्ता ठाउँलाई संसारभर संवेदनशील मानिन्छ । र, सुरक्षाको जिम्मेवारी प्रहरीलाई दिइन्छ । तर, नेपाली अन्तर्राष्ट्रिय विमानस्थलको सन्दर्भमा सुरक्षा जिम्मेवारी लिने विषयमा सरकारी निकायबीच नै अन्योल छ । जसकारण न सूचना संयन्त्र एकीकृत हुन सक्छ, न विश्लेषण नै । यही ‘लुप होल’मा तस्कर खेल्छन् । र, सुन र लागुऔषधदेखि हतियारसम्म तस्कर गर्न सफल हुन्छन् ।
पूर्वडिआइजी तथा सुरक्षाविद् हेमन्त मल्ल कमजोर सूचना संयन्त्रकै आडमा तस्कर समूह विमानस्थलबाट सुन मात्र होइन, लागूऔषध र हतियारसमेत तस्कर गर्न सफल हुने गरेको बताउँछन् । ‘विमानस्थल अन्तर्राष्ट्रिय तस्करका गिरोह आउजाउ गर्ने महत्वपूर्ण ‘पोर्ट’ हो । यस्ता ठाउँलाई संसारभर संवेदनशील मानिन्छ । र, सुरक्षाको जिम्मेवारी प्रहरीलाई दिइन्छ । तर, नेपाली अन्तर्राष्ट्रिय विमानस्थलको सन्दर्भमा सुरक्षा जिम्मेवारी लिने विषयमा सरकारी निकायबीच नै अन्योल छ । जसकारण न सूचना संयन्त्र एकीकृत हुन सक्छ, न विश्लेषण नै । यही ‘लुप होल’मा तस्कर खेल्छन् । र, सुन र लागुऔषधदेखि हतियारसम्म तस्कर गर्न सफल हुन्छन्,’ उनले भने ।
‘ल्यापसेस’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै
९ पुस ०५६ मा आतंककारी समूह ‘हर्कत उल मुजाहिद्दिन’का पाँच कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डियन एयरलाइन्सको आइसी– ८१४ जहाज अपहरण गरे । जहाजलाई अमृतसार, लाहोर, दुबई हुँदै अफगानिस्तानको कान्धहार पुर्याए । जहाज अपहरणको उद्देश्य थियो– भारतीय कारागारमा रहेका इस्लामिक आतंककारी अहद ओमर साइद शेख, मसुद अजहर र मुस्ताक अहमद जार्गिरको रिहाइ । सात दिनदेखि जहाजभित्र एक सय ७६ यात्रु बन्धक थिए । अन्ततः आतंककारीको माग सम्बोधन गर्न भारतीय सरकार बाध्य भयो । भारत सरकारले त्यही दिनदेखि विमानस्थलको सुरक्षामाथि उठाउँदै आएको प्रश्न अहिले पनि कायम छ । यिनै कारणलाई अघि सारेर भारतले कहिले ‘ग्राउन्ड हेन्डलिङ’ त कहिले ‘विशेष सुरक्षा दस्ता’को नाममा विमानस्थलभित्र आफ्नो उपस्थित खोज्दै आएको छ ।
गत १८ साउनमा भारतीय पत्रिका टाइम्स आफ इन्डियामा नेपालको सुरक्षा संयन्त्रलाई चुनौती दिने यस्तै समाचार बाहिरियो । समाचारमा उल्लेख थियो, ‘पाकिस्तानी कारखानामा निर्मित ‘जिगाना’ उल्लेखित अत्याधुनिक पेस्तोल दिल्लीमा बरामद भएको प्रसंग ।’ समाचारको विस्तारमा भनिएको थियो, ‘विशेष कन्साइनमेन्ट पूरा गर्न आपराधिक समूहले उक्त पेस्तोल पाकिस्तानबाट नेपाल हुँदै दिल्ली पुर्याएका थिए । जसमा नेपालस्थित भन्सार कार्यालयको विशेष साथ थियो ।’
यही पृष्ठभूमिमा गत २ साउनमा विमानस्थलको सुरक्षा घेरा पार गरेर सडकमा आइपुगेको ६०.७१६ किलो सुन बरामद भयो । तर, यसको सुइँको दैनिक अप्रेसनमा खटिने प्रहरी, अध्यागमन विभाग, भन्सार कार्यालय र नागरिक उड्डयन प्राधिकरण कसैलाई छैन । न विमानस्थल सुरक्षार्थ खटिएका राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी बल र नेपाली सेनाका सुरक्षाकर्मीलाई नै छ ।
पूर्वएआइजी भण्डारी राजनीतिक कमजोर सूचना संयन्त्रका कारण यस्ता गतिविधि हुने र यसका पछि राजनीतिक नेतृत्व नै मुख्य दोषी देखिने बताउँछन् । ‘मजबुत सुरक्षाको आधार नै सूचना हो । यसका लागि सूचना संयन्त्र चुस्त र मजबुत हुनु आवश्यक छ । यी कार्य ‘म्यान्युअल’ विधिबाट होइन, प्रविधिबाट गरिनुपर्छ । संसारका विकसित मात्रै होइन, हाम्रै हैसियतका मुलुकले पनि यस्ता प्रविधि प्रयोगमा ल्याएका छन् । तर, हामीकहाँ हुन सकेको छैन । यसो हुनुमा राजनीतिक नेतृत्व नै दोषी छन् । जसको पृष्ठभूमि आपराधिक छ,’ उनले भने ।
‘पर्सनल डेटा किपिङ’ निर्माणमा अस्वाभाविक उदासीनता
संसारभर स्वदेशी र विदेशी नागरिकको ‘पर्सनल डेटा किपिङ’ गर्न दुईवटा तरिका अभ्यासमा छन् । स्वदेशी नागरिकको डेटा किपिङ सम्बन्धित स्थानीय प्रशासनबाट हुन्छ । विदेशी नागरिकको डेटा किपिङ विमानस्थलको ‘इन्ट्री प्वाइन्ट’मा हुने गर्छ, जसलाई बायोमेट्रिक (बायोलोजिकल मेजरमेन्ट) विधि भनिन्छ । यसका लागि नागरिकको औँठाछाप र आँखाको रेटिनाको फोटो लिइन्छ । जसले सम्बन्धित नागरिकको सम्पूर्ण विवरण क्षणभरमै सम्बन्धित अधिकारीलाई बताइदिन्छ । सूचना संकलन र त्यसपछिको सुरक्षा सतर्कतामा संसारभर अपनाइने विधि यही हो ।
तर, नेपालमा हालसम्म यस्तो हुन सकेको छैन । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार नागरिकलाई एनआइडी (नेसनल आइडेन्टिटी कार्ड) वितरण २५ जेठ ०७३ बाटै सुरु गरिएको थियो । सात वर्षको अवधिमा यस्ता कार्ड एक लाख ६१ हजार आठ सय १५ मात्रै वितरण भएका छन् । जब कि कार्ड लिन भन्दै मुलुकभरबाट हालसम्म एक करोड २८ लाख २९ हजार ४० जनाको आवेदन परिसकेको छ ।
विभागका सूचना अधिकारी नवराज जैसी राष्ट्रिय परिचयपत्र वितरण मात्रै पूर्ण रूपमा कार्यान्वयनमा आउने हो भने सूचना संयन्त्र बलियो हुने मात्र नभई अपराध नियन्त्रणसमेत कम हुने बताउँछन् । ‘राष्ट्रिय परिचयपत्रले नागरिकको व्यक्तिगत डेटा मात्रै सुरक्षित राख्ने होइन, सूचना संयन्त्रलाई समेत मजबुत तुल्याउँछ । त्यसैले आपराधिक गतिविधि नियन्त्रणका लागि यो बलियो हतियार साबित हुनेमा द्विविधा रहेन । तर, यसको प्रगति आशातीत छैन,’ उनले भने ।
यी कमजोरी जसले तस्करलाई साथ दिन्छ
- अन्तर्राष्ट्रिय टर्मिनलतर्फको आगमन कक्षबाट यात्रु बाहिरिँदा र भित्रिँदा ठोक्किने पहिलो निकाय हो अध्यागमन विभागमातहतको कक्ष । जहाँ प्रत्येक यात्रुको ‘बायोमेट्रिक’ लिने उद्देश्यले विशेष क्यामेरा जडान गरिएका छन् । क्यामेराले यात्रुको ‘बायोमेट्रिक’ त लिन्छ, तर विवरण विश्लेषण हुँदैन । त्यसैले को व्यक्ति कतिपटक विदेश गयो र कतिपटक स्वदेश फर्कियो ? यसको जानकारी अध्यागमनसँग हुँदैन । जानकारी भइहाल्यो भने पनि सूचना अध्यागमनभित्रै सीमित हुन्छ । किनकि त्यहाँ प्रहरीको उपस्थिति हुँदैन । यसको फाइदा उठाउँदै तस्कर विनारोकतोक आउजाउ गरिरहन्छ ।
- विमानसस्थल सुरक्षाका लागि नेपाल प्रहरीको डिआइजीको कमान्डमा तीन सय सात प्रहरी कर्मचारी खटिन्छन् । विमानस्थलको प्रत्येक स्थान र जहाजसम्मै पुग्ने अनुमति उनीहरूलाई हुन्छ । उनीहरूको अनुमतिविना अध्यागमन र भन्सार तथा जहाजका कर्मचारी पनि विमानस्थलभित्र प्रवेश गर्न पाउँदैनन् । त्यसबाहेक विमानस्थलको सबै स्थान सिसिटिभीको निगरानीभित्र छन् । त्यसको मोनिटरिङ गर्ने जिम्मा विमानस्थलका प्रहरी कर्मचारीलाई नै छ । तर, प्रहरीले प्राप्त सूचनासँगै काम गर्ने सरकारका अन्य निकायलाई दिन आवश्यक ठान्दैन । त्यसको फाइदा उठाउँदै तस्कर आउजाउ गरिरहन्छ ।
- विमानबाट आएका सामग्रीको हकमा भन्सार जाँच गराउनैपर्ने हुन्छ । यसैका लागि विमानस्थल परिसरमा भव्य भन्सार कार्यालय खोलिएका छन् । कार्यालय भन्सारकै कर्मचारी ‘होल्ड’मा रहन्छ । सामग्री ‘स्क्रिनिङ’का लागि प्रविधि पनि जडान गरिएका छन् । तस्करले यसका बाबजुद पनि अवैध सामग्री निर्वाध तवरले ओसारपसार गरिरहेका छन् । यसका पछि ‘सेटिङ’ र लापरबाही मुख्य कारण हो । कार्यालयमा प्रहरी वा सरकारकै अन्य निकायको पनि उस्थिति भइदिएको भए उनीहरूबीच ‘चेक एन्ड ब्यालेन्स’ हुने थियो । र, तस्करी रोकिन सक्थ्यो । तस्करले यसैको फाइदा उठाउँदै विनारोकतोक अवैध सामग्री तस्कर गरिरहन्छ ।
- विमानस्थल व्यवस्थापनमा नागरिक उड्डयन प्राधिकरण, नेपाल प्रहरी, भन्सार विभाग र अध्यागमन विभागको प्रत्यक्ष संलग्नता छ । त्यसबाहेक नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरीको दस्ता पनि विमानस्थलभित्र रहन्छन् । तर, उनीहरूबीच आपसी समन्वय छैन । तस्कर यसैको फाइदा उठाउँदै विनारोकतोक आउजाउ गरिरहन्छन् ।
- सूचना संकलनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको आ–आफ्नै विशेष संयन्त्र छन् । सूचना संकलनकै लागि मुलुकमा राष्ट्रिय अनुसन्धान विभाग पनि अस्तित्वमा छ । उनीहरूले हैसियतअनुसारका सूचना संकलन पनि गर्छन् । तर, उक्त सूचना एकीकृत गर्ने संयन्त्र मुलुकमा छैन । त्यसो हुँदा सूचनाको वस्तुपरक विश्लेषण हुन सक्दैन । दुई वर्षदेखि राजधानीभित्र तस्करले सुनको गोदाम खोल्नु र राज्यले यसको गन्धसमेत नपाउनुमा मुख्य कारण यही हो ।
विमानस्थल अन्तर्राष्ट्रिय तस्करका गिरोह आउजाउ गर्ने महत्वपूर्ण ‘पोर्ट’ हो । यस्ता ठाउँलाई संसारभर संवेदनशील मानिन्छ । र, सुरक्षाको जिम्मेवारी प्रहरीलाई दिइन्छ । तर, नेपाली अन्तर्राष्ट्रिय विमानस्थलको सन्दर्भमा सुरक्षा जिम्मेवारी लिने विषयमा सरकारी निकायबीच नै अन्योल छ । जसकारण न सूचना संयन्त्र एकीकृत हुन सक्छ, न विश्लेषण नै । यही ‘लुप होल’मा तस्कर खेल्छन् । र, सुन र लागुऔषधदेखि हतियारसम्म तस्कर गर्न सफल हुन्छन् ।