सर्लाहीको लालबन्दी नगरपालिका– १५ तल्लो चिसापानीका ४५ वर्षीय भोजबहादुर वाइबा नौ वर्षदेखि स्पाइनल क्यान्सर (मेरुदण्डको क्यान्सर)बाट पीडित छन्। उपचारकै क्रममा ऋणमा डुब्दै गएपछि कमजोर आर्थिक अवस्थाका उनी सहयोगको आसमा बाँचिरहेका छन्।
भोजबहादुर वृद्ध आमाबुबा र दुई नाबालक सन्तानसँग खपडाले छाएको भुइँतले घरमा बस्दै आएका छन्। तीन वर्षको छोरा र १२ वर्षकी छोरीको सहारामा बस्दै आएका भोजबहादुरको घर चल्न पनि मुस्किल छ। १२ वर्षीया छोरी सुमिनाले नै उनको हेरचाह गर्छिन्। भोजबहादुरकी आमा दमको रोगी छिन् भने बाबु पनि बैसाखीको सहारामा बाँचिरहेका छन्।
केही समय पहिले श्रीमतीले समेत छोडेपछि उनको अवस्था थप दर्दनाक बनेको छिमेकीहरू बताउँछन्। उनको खानपान, डाइपर, औषधिलगायतको मासिक खर्च नै ३० हजारबराबरको हुने गरेको छ। छरछिमेक र साथीभाइ तथा इष्टमित्रको सहयोगमा अहिलेसम्म गुजारा गरेको सुनाउँदै भोजबहादुर भक्कानिए।
बुबाका लागि डाइपर किन्ने पैसासमेत नभएको भन्दै १२ वर्षीया छोरी पनि आँसु झार्छिन्। उपचारमा अहिलेसम्म झन्डै ९० लाख खर्च भइसकेको भोजबहादुरको भनाइ छ। स्पाइनल कर्डको क्यान्सर निकै जटिल र खर्चिलो मानिन्छ।
लामो समयदेखि ओछ्यान परेका उनलाई कोल्टे फेर्नसमेत अरूको सहारा चाहिन्छ। एकतर्फ मात्र सुतेका कारण शरीरको मासुसमेत झर्न थालेको छ। त्यसमाथि तराईको गर्मीका कारण घाउ झन् बढ्दै गएर दुर्गन्ध फैलिएको परिवारले बताए।
कैयौँपटक आत्महत्याको प्रयास गरेर पनि सन्तानको मायाले मर्न नसकेको भोजबहादुर बताउँछन्। अहिले त छक टार्नसमेत समस्या भएको भन्दै उनले सहयोगका लागि आग्रह गरेका छन्। सहयोग गर्न चाहनेले लालबन्दीमा रहेकाे सिद्धार्थ बैंककाे आफ्नो खाता नम्बर ०२३१७७६६६८० मार्फत सहयोग गर्न उनकाे अनुराेध छ।
उनको अवस्था देखेपछि पछिल्लो समय विभिन्न व्यक्ति तथा संघसंस्थाले सहयोगको हात अघि सारेका छन्। यद्यपि, लालबन्दी नगरपालिकाले भने हालसम्म यस विषयमा जानकारी नभएको बताएको छ। सम्पर्कमा आए क्यान्सरजन्य उपचारका लागि स्थानीय सरकारबाट हुने सहयोग गर्न तयार रहेको पालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र खतिवडाले बताए।