कागखोलाको बाढीले कागबेनीमा प्रहरी चौकीसहित २९ घर बगायो, उपल्लो मुस्ताङसँगको यातायात सम्पर्कविच्छेद
- खिङ र झोङका स्थानीयले दिएकोे सूचनाले कागबेनीमा मानवीय क्षति टर्यो
- बाढीअघि खोलामा घटेको थियो बहाव
बाढीले बगरमा परिणत गराएको मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बजार । महाशाखाका हाइड्रोलोजिस्ट सुनित अधिकारीका अनुसार कागबेनीदेखि करिब १२ किमि तल जोमसोम जलमापन केन्द्रमा आइतबार राति जलसतह एक्कासि घटेर पछि बढेको देखिन्छ । जसकारण कागखोला पहिरोले थुनिएको र पछि फुट्दा बाढी आएको आकलन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले गरेको हो । ‘कागबेनी बजार र त्यसभन्दा माथिल्लो क्षेत्रमा वर्षामापन केन्द्र र नदी/खोलाको जलमापन केन्द्र छैन । तर, माथिल्लो क्षेत्रमा पनि वर्षा भएको स्याटेलाइट तस्बिरबाट देखिन्छ,’ उनले भने, ‘कति ठूलो पहिरो खसेको थियो र कत्रो ताल बनेर पछि फुटेको हो भनेर विस्तृत अध्ययनपछि मात्र भन्न सकिन्छ ।’ तस्बिर सौजन्य : अमृत सुवेदी
कागखोलाको बाढीले हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बजारको तटीय क्षेत्र बगरमा परिणत भएको छ । मुक्तिनाथ हुँदै झर्ने कागखोला पहिरोका कारण थुनिएर फुट्दा आइतबार राति आएको बाढीले कागबेनीमा रहेको प्रहरी चौकी भवनसहित २९ घर बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलका अनुसार बाढीले २९ घर पूर्ण रूपमा क्षति गर्दा १३ घरमा आंशिक क्षति पुगेको छ । नौ गोठ बगाएको छ।
बाढीले घर, पसल, होटेल, प्रहरी चौकी भवन, वडा कार्यालय, आमासमूह भवनलगायतका पूर्वाधारसमेत बगाएको छ । पवित्र धार्मिक स्थल कागबेनीधाममा रहेका धर्मशाला, मन्दिरसमेत बगाएको छ । बाहिरबाट मजदुरको रूपमा कागबेनी बस्ती आएकालाई जोमसोममा अस्थायी बसोवासको प्रबन्ध मिलाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए । उनका अनुसार बाढीपीडित स्थानीयवासी भने आफन्तकोमा आश्रय लिएर बसेका छन् ।
एनएमबि बैंक र प्रभु बैंकको नगद र अन्य स्थानीयवासीको समेत नगद बाढीले बगाएकाले आर्थिक क्षतिको विवरण संकलन गर्ने कार्य जारी छ । बाढीले कागबेनी गाउँभित्रका तीन अस्थायी काठेपुल, एक झोलुंगे पुल र जोमसोम–कोरला जोड्ने निर्माण सम्पन्न हुने क्रममा रहेको पक्की पुलसमेत बगाएको छ । पुल बगाएसँगै उपल्लो मुस्ताङको सीधा यातायात सम्पर्कविच्छेद भएको छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङले रातमा बाढी आएपछि भागदौड गरेर स्थानीयासी ज्यान जोगाउन सफल भएको र बाढीको वितण्डाले पूरै कागबेनीको जनजीवन अस्तव्यस्त बनेको बताए।
खिङ्का र झोङका स्थानीयले दिएकोे सूचनाले कागबेनीमा मानवीय क्षति टर्यो
मुक्तिनाथबाट आउने खोला र झोङखोलाको पानी मिसिएर बनेको कागखोलामा बाढी आएको सूचना खिङ्का र झोङका स्थानीयले फोनमार्फत कागबेनीका नागरिकलाई दिएका थिए । आइतबार साँझ करिब ५ बजेतिर कागखोलामा ठूलो बाढी आएको देखेपछि खिङ्का र झोङका स्थानीयले कागबेनीमा खबर गरेका थिए । कागखोलाको पानी कागबेनीमै आएर कालीगण्डकीमा मिसिएको छ ।
कागबेनीमा साँझ करिब साढे ६ बजेदेखि नै कालीगण्डकीको सतह बढ्न थालेपछि स्थानीयवासीले सतर्कता अपनाएका थिए । यहाँ कालीगण्डकी नदीदेखि १५ मिटरकै उचाइदेखि बस्ती बसेको थियो । कागबेनीदेखि माथिका दुई गाउँका स्थानीयले दिएको पूर्वसूचनाकै कारण कागबेनीमा सम्भावित मानवीय क्षति टरेको गाउँपालिकाका प्रवक्ता प्रमेश गुरुङले बताए ।
‘माथिका दुई गाउँबाट बाढी अस्वाभाविक रूपमा बढेको कारण बस्ती छाडेर सुरक्षित स्थानमा जान सूचना आयो, स्थानीयवासीले सुरुमा विगतकै जस्तो बाढी होला भन्ने सोचेका रहेछन्, पछि बस्तीमा बाढी पस्न थालेपछि सबै बस्ती छाडेर माथि गाउँपालिकाको भवन रहेको ठाउँमा जम्मा भए, जसकारण मानवीय क्षति हुन पाएन,’ उनले भने ।
खोलामा बाढी आउने सूचना पाएपछि स्थानीय प्रहरी र जनप्रतिनिधिले स्थानीयवासीलाई सुरक्षित स्थानमा जान अनुरोध गरेका थिए । बलौटे माटो र कमजोर भू–बनोटका कारण मुस्ताङमा केही घन्टा मात्रै वर्षा भए पनि खोला र नदीमा लेदोसहितको बाढी आउने गर्छ ।
बाढीअघि खोलामा घटेको थियो बहाव
वर्षासँगै पहिरोले कागखोला थुनिँदा कागबेनीमा बाढी आएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले प्रारम्भिक निष्कर्ष निकालेको छ ।महाशाखाका हाइड्रोलोजिस्ट सुनित अधिकारीका अनुसार कागबेनीदेखि करिब १२ किमि तल जोमसोम जलमापन केन्द्रमा आइतबार राति जलसतह एक्कासि घटेर पछि बढेको देखिन्छ । जसकारण कागखोला पहिरोले थुनिएको र पछि फुट्दा बाढी आएको आकलन महाशाखाले गरेको हो । ‘कागबेनी बजार र त्यसभन्दा माथिल्लो क्षेत्रमा वर्षा मापन केन्द्र र नदी/खोलाको जलमापन केन्द्र छैन । तर, माथिल्लो क्षेत्रमा पनि वर्षा भएको स्याटालाइट तस्बिरबाट देखिन्छ,’ उनले भने, ‘कति ठूलो पहिरो खसेको थियो र कत्रो ताल बनेर पछि फुटेको हो भन्ने विस्तृत अध्ययनपछि मात्र भन्न सकिन्छ ।’
जोमसोम जलमापन केन्द्रमा आइतबार राति ८:१० बजे जलसतह २.३५ मिटर रहेकामा राति ९ बजे घटेर १.६५ मिटर पुगेको देखिन्छ । तर, फेरि राति ९.३० बजे २.१० मिटर पुगेकामा पुनः केही समय घटेर राति ११ बजे एक्कासि जलसतह अधिकतम २.७७ मिटर पुगेको देखिन्छ । गत असोजमा जोमसोम जलमापन केन्द्रमा जलसतह ३.५२ मिटर पुगेको थियो ।
त्यसबाहेक कागबेनीदेखि करिब १२ किमि तल जोमजोममा आइतबार २५ मिलिमिटर वर्षा मापन भएको थियो, जुन हिमाली क्षेत्रका लागि निकै धेरै वर्षा हो । कागबेनीमा पुगेपछि कागखोला कालीगण्डकीमा मिसिन्छ । तर, जोमसोम जलमापन केन्द्र कागबेनीभन्दा करिब १२ किमि तल छ ।