सुदूरपश्चिमका सात पहाडी जिल्लाको यातायात तीन दिनदेखि ठप्प

शुक्रबार, २६ साउन, २०८०
डिजिटल संस्करण

सडक अवरुद्ध हुँदा धनगढी, महेन्द्रनगरलगायत सहरमा तरकारी अभाव

सुदूरपश्चिमका सातवटा पहाडी जिल्लालाई तराईसँग जोड्ने भीमदत्त राजमार्ग पहिरोका कारण तीन दिनदेखि अवरुद्ध छ । राजमार्गअन्तर्गत कैलालीको गोदावरी र बुढीतोलामा सोमबार राति पहिरोले करिब चार सय मिटर सडक क्षतिग्रस्त बनेको छ । 

पहिरोले क्षतिग्रस्त चार सय मिटरमध्ये सय मिटर सडक बगेको छ भने थप केही ठाउँमा सडक धसेको–चर्केको छ । दुई दिन लगाएर पहिरो पन्छाएको केही ठाउँमा बुधबार राति पुनः स–सानो पहिरो गएको छ ।

पाँचवटा डोजर लगाएर पहिरो पन्छाउने काम भइरहे पनि वर्षाका कारण साना–साना पहिरो गइरहेकाले समस्या भएको सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख हरिप्रसाद सुवेदीले बताए । पानी नपरे शुक्रबार दिउँसोसम्म हलुवा सवारीसाधन एकतर्फी चल्ने गरी राजमार्ग सञ्चालन गर्न सकिने उनको भनाइ छ । ‘वर्षा रोकिए शुक्रबार दिउँसोसम्म सञ्चालन गर्न सकिएला,’ उनले भने, ‘पानी परिरहे भन्न सकिन्न ।’ सडक पूर्ण रूपमा बगेको सय मिटर क्षेत्रमा भित्तातिर ट्र्याक खोल्ने र चर्केका ठाउँमा भरान गरेर यातायात सञ्चालन गर्ने प्रयास भइरहेको छ ।

सडक विभागका सुपरिटेन्डिङ इन्जिनियर र माटो विशेषज्ञले पहिरोको कारणबारे अध्ययन गरिरहेको सडक डिभिजन महेन्द्रनगरले जनाएको छ । ‘क्षतिग्रस्त पहिरो जानुको कारण, त्यहाँको भौगोलिक स्थितिबारे अध्ययन गर्न विभागको टोली आएको हो,’ सडक डिभिजन कञ्चनपुरका इन्जिनियर पीयूष चटौतले भने, ‘क्षति भएको ठाउँमा सडक कसरी बनाउन सकिन्छ भनेर विशेषज्ञ टोलीले निरीक्षण गरिरहेको छ ।’

सडक अवरुद्ध हुँदा धनगढी, महेन्द्रनगरलगायत सहरमा तरकारी अभाव
सडक अवरुद्ध भएपछि सुदूरपश्चिमको तराई र पहाडको आवागमन मात्र प्रभावित भएको छैन– पहाडी जिल्लाबाट तरकारी र तराईबाट खाद्यान्नलगायत वस्तुको ढुवानी रोकिएको छ । सामान्य अवस्थामा यो राजमार्गमा दैनिक दुई हजारदेखि दुई हजार पाँच सय सवारीसाधन गुड्छन् । पहाडी जिल्लाबाट तरकारीको आयात रोकिएपछि धनगढी, अत्तरिया, महेन्द्रनगरलगायत तराईका सहरमा तरकारी अभाव हुन थालेको छ ।

बर्खामा तराईमा उत्पादन नहुने भएकाले आलु, सिमी, बन्दा, टमाटर, गोलभेँडा, काउलीलगायत तरकारी सुदूरपश्चिमका पहाडी जिल्लाबाट आयात हुने गरेको छ । तराईबाट खाद्यान्नलगायत वस्तु पहाडी जिल्लामा ढुवानी हुन्छ । राजमार्ग सञ्चालन नभए पहाडी जिल्लामा दैनिक उपभोग्य वस्तुको अभाव हुनेछ । 

केही सवारीसाधन पहिरोको वारिपारिसम्म सञ्चालन भइरहेका छन् । त्यसरी आउने यात्रुले पहिरो भएको ठाउँमा करिब आधा घन्टा हिँडेर वारपार गरिरहेका प्रहरीले जनाएको छ । पहाडी जिल्लाबाट उपचारका लागि ल्याइएका बिरामीलाई स्ट्रेचरमा बोकेर पहिरो पार गराउने गरिएको सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी सहायक निरीक्षक आकाश रावलले बताए ।

बिरामीलाई बोकेर पहिरो खसेको क्षेत्र कटाइँदै

सडक अवरुद्ध हुँदा बिरामी र घाइतेलाई स्टेचरमा बोक्नुपर्ने बाध्यता छ । रूखबाट लडेर गम्भीर घाइते बैतडीकी गोमती महतालाई बिहीबार नेपाली सेनाले स्टेचरमा बोकेर पहिरो खसेको क्षेत्र कटाएको छ । उनका दाजु नरेश बोहराका अनुसार बुधबार घाँस काट्ने क्रममा रूखबाट लड्दा टाउको, ढाड, खुट्टामा गम्भीर चोट लागेपछि उनलाई  कैलालीको बुढीतोलासम्म एम्बुलेन्समा ल्याइए पनि सडक अवरुद्ध भएकाले त्यसभन्दा अगाडि ल्याउन सकिएन । 

‘सेनाले आधा घन्टा बोकेर पहिरो खसेको ठाउँ पार गराएपछि अर्काे एम्बुलेन्समा राखेर सेती अस्पतालमा ल्यायौँ,’ उनले भने । सडक अवरुद्ध भएकाले पहाडी जिल्लाबाट उपचारका लागि ल्याइएका बिरामीलाई स्टेचरमा बोकेर पहिरो पार गराउनुपर्ने बाध्यता रहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी सहायक निरीक्षक आकाश रावलले बताए । अहिले केही सवारीसाधन पहिरोको वारिपारिसम्म सञ्चालन भइरहेका छन् । 

सुझावित समाचार