नेपालबाट प्रतिनिधित्व गरेको त्रिभुवन आर्मी क्लबले अग्रता रक्षा गर्न नसक्दा बुधबार भारतको प्रतिष्ठित डुरान्ड कपको पहिलो खेलमा आईलिग टोली दिल्ली एफसीसँग १–१ को बराबरीमा रोकिएको छ । कोक्राझारको साइसेन्टर रंगशालामा आर्मीले पहिलो हाफको अग्रता रक्षा गर्न नसकेको हो । खेलको अन्तिम दुई मिनेट आर्मीका खेलाडी सम्हालिन नसक्दा दिल्लीले बराबरी गोल फर्काएको हो ।
बराबरीसँगै समूह ‘ई’मा आर्मीको एक अंक भएको छ । लगातार दोस्रो बराबरीपछि दिल्ली दुई अंकमा सीमित भयो । यसअघि, दिल्लीले हैदराबाद एफसीसँग १–१ को नतिजा निकालेको थियो । आर्मीले सोमबार आइएसएल टोली चेन्नई एफसीको सामना गर्नेछ । अन्तिम खेल २२ अगस्टमा आइएसएल टोली हैदराबाद एफसीसँग आर्मीले खेल्नेछ । आर्मीलाई अर्काे चरणमा प्रवेश गर्न एक जित आवश्यक छ ।
मेघराज केसीको प्रशिक्षणमा रहेको आर्मीले खेलको ३९औँ मिनेटमा अग्रता लियो । नेपाल यू–१९ र यू–२३ टोलीबाट खेलिसकेका अट्याकर दिनेश हेमजनले आर्मीलाई अग्रता दिलाएका हुन् । कप्तान नवयुग श्रेष्ठको क्रसलाई दिल्लीका गोलरक्षक पवन कुमारले डिबक्सभित्र नियन्त्रणमा लिन सकेनन् । सोही मौकामा कमलबहादुर थापाले सिक्स यार्ड बक्समा अनमार्क रहेका दिनेशलाई गोलका लागि असिस्ट गरे । उनले वान टचमै गोल गरेका हुन् ।
पहिलो हाफको अन्तिम समय र दोस्रो हाफमा आर्मीविरुद्ध दिल्लीले दबाब राख्यो । वर्षाले प्रभावित मैदानमा आर्मीले काउन्टरमा दबाब दिएको थियो । खेलभर आर्मीको रक्षापंक्ति र गोलरक्षक विकेश कुथू गोल बचाउन व्यस्त रहे । खेलको ८८औँ मिनेटमा दिल्लीले बराबरी गोल गरेको थियो । क्रसबारमा लागेर फर्किएको बललाई गिरिक घोस्लाले गोल गरे । एयर बललाई विकेशले रोक्ने प्रयास गरे पनि गिरिकले हेड गोल गर्न सफल थिए । आर्मीले प्रतियोगितामा नियमित कप्तान भरत खवास र युवा स्ट्राइकर जिलेस्पीजंग कार्कीलाई बाहिर राखेको छ ।