आदिवासी जनजातिको विकास र सम्वर्द्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

बुधबार, २४ साउन, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका आदिवासी समुदायले बोल्ने सबै भाषा, साहित्य, संस्कृति, समाजशास्त्र, दर्शनको संरक्षण, सम्वर्द्धन र विकासमा सचेत र प्रतिबद्ध रहेको बताएका छन्। 

उनान्तिसौँ आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले राष्ट्रिय स्वाधीनता र एकतालाई सुदृढ गर्न एवं संविधानको परिकल्पनाअनुरूप समाजवादको आधार तयार पार्नसमेत यस दिवसले महत्वपूर्ण प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। 

उनले आदिवासी दिवसले प्राप्त अधिकारको संरक्षण र सुदृढीकरण गर्दै थप अधिकार प्राप्तिको आन्दोलनलाई व्यवस्थित तुल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। ‘आदिवासी जनजाति समुदायको पहलमा कानुन बनाउने, स्रोतसाधन एवं जनशक्तिले आयोग शक्तिशाली बनाउने, संविधानले व्यवस्था गरेको आदिवासी जनजातिको अधिकारलाई कार्यान्वयन गर्दै लगिनेछ,’ प्रधानमन्त्रीले भने, ‘स्वायत्त, संरक्षित र विशेष क्षेत्रलाई कानुन बनाएर छिट्टै लागू गराउने र संघीयताको दृढ कार्यान्वयनका साथै थप अधिकारका निम्ति प्रयत्नशील रहने कार्यभार हाम्रासामु छन्। हामी सबैको सामूहिक प्रयास र संघर्षले उल्लिखित कार्यभार पूरा गर्न महत्त्वपूर्ण योगदान हुनेछ भन्ने मेरो गहिरो विश्वास छ।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन र सुदृढीकरण एवं पहिचान र अधिकारको आन्दोलनमा निरन्तर सफलताका निम्ति यस्ता अवसरले उत्प्रेरणा पैदा गर्ने विश्वास व्यक्त गरे। नेपालमा करिब एक करोड २० लाख आदिवासी-जनजाति रहेको तथ्यांक पेस गर्दै प्रधानमन्त्रीले हालसम्म ६० आदिवासी÷जनजाति समुदाय सूचीकृत भएको र तिनीहरूको आ–आफ्ना भाषा–संस्कृति रहेको जानकारी दिए। 

नेपालको ऐतिहासिक विकासक्रम, सभ्यताको विकास, श्रम संस्कृति एवं समग्रमा राष्ट्र निर्माणमा आदिवासी जनजातिको निर्णायक भूमिका रहँदै आएको तथ्य पेस गर्दै प्रधानमन्त्रीले यो यथार्थलाई हामी सबैले ठीक ढंगले आत्मसात् गर्न जरुरी रहेको बताए।

संंयुक्त राष्ट्रसंघमा पनि आदिवासीसम्बन्धी संगठन स्थापना गरिएको छ। नेपालमा २२ वैशाख ०४७ मा नेपाल आदिवासी जनजाति महासंघको स्थापना भएको हो। राष्ट्रसंघले सन् १९९४–२००४ लाई अन्तर्राष्ट्रिय आदिवासी दशक घोषणा गरेको थियो। सन् १९९४ को अगस्त ९ लाई विश्व अदिवासी दिवस मनाउन थालिएको र यो साल २९औँ आदिवासी दिवस हो। प्रधानमन्त्रीले यसको विगत, वर्तमान र भविष्यसमेत उत्तिकै गौरवशाली र महत्वपूर्ण रहेको उल्लेख गरे। 

विश्वभरिका सरकार, आदिवासी जनजाति संघ संस्था र अध्येताले आदिवासी जनजातिको हक अधिकार संरक्षण र सम्वर्द्धनका लागि उनीहरूले भोग्दै आएका समस्या र चुनौतीको सामना गर्न सबै समुदायलाई सचेत गर्न गराउन यो दिवस मनाइन्छ। 

प्रधानमन्त्री प्रचण्डले जनयुद्ध, ऐतिहासिक जनआन्दोलनलगायत उत्पीडित जाति र समुदायका विभिन्न आन्दोलनको बलमा निर्मित नेपालको संविधानको प्रस्तावनामा नै स्पष्ट व्यवस्था गरिएको बताए।

‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प’ संविधानमा गरिएको प्रधामन्त्रीले उल्लेख गरे।

नेपालको संविधानको भाग २७ धारा २६१ मा आदिवासी जनजाति आयोगको व्यवस्था गरेको छ। सो आयोगले आदिवासी जनजातिसम्बद्ध नीति निर्माणका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्ने तथा सुझाव दिने, सरकारद्वारा सञ्चालित नीति तथा कार्यक्रमको समीक्षा, अनुगमन तथा मूल्यांकन गर्ने र समुदायको सशक्तीकरणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी रूपमा देखापरेको आर्थिक संकटबाट नेपाल पनि प्रभावित भएको उल्लेख गर्दै चाहना हुँदाहुँदै पनि सरकारका तर्फबाट पर्याप्त बजेटको व्यवस्था गर्न गाह्रो भएको यथार्थता प्रस्तुत गरे। 
 
उनले भाषा, साहित्य, संस्कृति, दर्शनको विकासमा नेपाल सरकारको तर्फबाट गर्न सक्ने अधिकतम सहयोग, बजेटको व्यवस्था गर्ने प्रयास रहने उल्लेख गरे। कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, माओवादी केन्द्रका नेता सुरेश आलेमगरलगायतको उपस्थिति थियो। रासस

सुझावित समाचार