राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले संसदलाई कसैले बन्धक बनाउन नपाउने बताएका छन्।
गत १० साउनदेखि अवरुद्ध भएर आजबाट सुरु भएको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लामिछानेले संसदलाई सत्ता र प्रमुख प्रतिपक्षी दलले बन्धक बनाउन नमिल्ने बताए।
सत्ता र प्रमुख प्रतिपक्षी दलबीच बार्गेनिङ मिलेपछि संसद सुरु भएकोसमेत दाबी गरेका उनले सभामुखलाई संसद् सुरु हुने समयतालिका सार्वजनिक गरिएपछि कुनै हालतमा त्यसलाई चल्न दिइनुपर्ने बताए।
‘सत्ता र प्रमुख प्रतिपक्षी दलबीच हुने बार्गेनिङ रातभर गरे पनि हुन्छ। तर, जुन दिन जुन समयमा संसद् चल्छ भनेर सूचना जारी गरिएको हुन्छ, त्यही समयमा संसद् चल्नुपर्यो,’ उनले भने।
लामिछानेले प्रमुख प्रतिपक्षी दल सत्तासँग भागबन्डामा लागेको आरोप पनि लगाए। उनले भने, ‘सत्ता र प्रमुख प्रतिपक्षी दल बार्गेनिङमा छन्। त्यसो हुँदैनथ्यो भने बजेट पारित गर्न दिँदैनौँ भन्नेहरूले खुरुखुरु बजेट पास गरेको हामीले देखेकै हौँ। भागबन्डा मिलेपछि मात्र त्यस्तो भएको हुनुपर्छ।’