इंग्ल्यान्डका लागि ११ टेस्ट, ७० एकदिवसीय तथा ७५ टी–२० खेल खेलेका एलेक्स हेल्सले आइसिसी विश्वकपअघि लिए सन्न्यास
आइसिसी एकदिवसीय विश्वकपअघि इंग्ल्यान्डका ओपनर ब्याट्सम्यान एलेक्स हेल्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेका छन् । इंग्ल्यान्ड टी–२० विश्वकप विजेता टोलीको सदस्यसमेत रहेका ३४ वर्षीय हेल्सले सामाजिक सञ्जालबाट सन्न्यासको घोषणा गरेका हुन् । ‘अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेको छु । मलाई लाग्छ यो नै उपयुक्त समय हो,’ हेल्सले लेखेका छन् ।
हेल्सले इंग्ल्यान्डका लागि ११ टेस्ट, ७० एकदिवसीय तथा ७५ टी–२० खेल खेलेका छन् । टेस्टमा २७.२८ को औसतमा ५ सय ७३ रन बनाएका हुन्, जसमा पाँच अर्धशतक छ । एकदिवसीयमा हेल्सले ३७.७९ को औसतमा दुई हजार चार सय १९ रन बनाएका छन् । विस्फोटक ब्याट्सम्यान मानिएका हेल्सले ६ शतक र १४ अर्धशतक बनाए । टी–२० मा एक शतक र १२ अर्धशतकसहित दुई हजार ७४ रन बनाएका छन् ।
हेल्सले सन् २०२२ मा अस्ट्रेलियामा भएको टी–२० विश्वकपमा प्रभावशाली प्रदर्शन गर्दा इंग्ल्यान्ड च्याम्पियन भएको थियो । इंग्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराउँदै उपाधि जितेको हो । हेल्सको यो निर्णयसँगै इंग्ल्यान्डलाई विश्वकपअघि ठूलो झड्का लागेको छ । आगामी महिना भारतमा आइसिसी एकदिवसीय विश्वकप हुँदै छ । इंग्ल्यान्डले अक्टोबर ५ मा न्युजिल्यान्डको सामना गर्दै विश्वकप सुरु गर्नेछ । उनले खेलका दौरान धेरै उतारचढाव बेहोरेको पनि सुनाएका छन् । ‘खेलका दौरान धेरै उतारचढाव रह्यो । एक अविश्वसनीय यात्राबाट सन्तुष्ट छु,’ उनले भने । यद्यपि, उनले घरेलु क्रिकेटमा आफ्नो निरन्तरता रहने बताएका छन् । योसँगै उनले अस्ट्रेलियाको बिगबास लिग, भारतको इन्डियन सुपर लिग आइपिएल र पाकिस्तान सुपर लिग खेल्ने सम्भावना कायम राखेका छन् ।
ड्रग्स लिएपछि टोलीबाहिर
सन् २०१९ विश्वकपका लागि हेल्सको नाम इंग्ल्यान्ड टोलीमा थियो । तर, उनले रमाइलोका लागि ड्रग्स लिने गरेको पुष्टि भएको थियो । जसका कारण तत्काल २१ दिन र पछि टिमबाट तीन वर्ष बाहिर रहेका थिए । तीन वर्ष कुनै पनि फम्र्याटको प्रतियोगिताबाट वञ्चित भएका थिए । उनले पछिल्लो वर्ष पाकिस्तानविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरेका हुन् । जोनी बाइस्ट्रो घाइते भएपछि उनलाई टोलीमा बोलाइएको हो ।