पाकिस्तानमा आइतबार भएको आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको संख्या ४४ पुगेको छ। पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा आइतबार आत्मघाती विस्फोटमा ३५ जनाको घटनास्थलमै मृत्यु भएको प्रान्तका स्वास्थ्यमन्त्री रियाज अनवरले जानकारी दिए।
मन्त्री अनवरले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार विभिन्न अस्पतालमा उपचाररत नौजना घाइतेको मृत्यु भएपछि मृतकको संख्या ४४ पुगेको हो।
बम विस्फाेटमा परी दुई सयभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्। गम्भीर घाइतेको उपचारका लागि हेलिकोप्टरमार्फत प्रान्तीय राजधानी पेसावर लगिएको छ।
जिल्लाको मुण्डाखार सडकको शान्ते मोर क्षेत्रनजिकै जमियत उलेमा–ए–इस्लाम–फजल (जेयुआइएफ)को राजनीतिक भेलाका क्रममा एक आत्मघाती आक्रमणकारीले आफ्नो ज्याकेटमा राखेर ल्याएको विस्फोटक पदार्थ विस्फोट गराएको प्रहरीले जनाएको छ।
आक्रमणमा कार्यक्रममा भेला भएका सर्वसाधारण, एक स्थानीय नेता तथा उलेमा–ए–इस्लाम–फजलसमर्थक नेता र कार्यकर्ताको मृत्यु भएको छ।
आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन। उक्त क्षेत्रमा यसअघि पनि उक्त दलको कार्यक्रमलाई लक्षित गरी स्थानीय इस्लामिक स्टेट (आइएस)ले आक्रमण गरेको थियो।