स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडद्वारा सञ्चालित स्मार्ट क्युआर नेटवर्कमा आबद्ध मर्चेन्टहरूले एलइडी बोर्डमा क्युआर भुक्तानीको रियल–टाइम अलर्ट प्राप्त गर्न सक्ने नोटिफिकेसन सेवा सुरु भएको छ । क्युआरमार्फत हुने भुक्तानी वृद्धि हुँदै गइरहेको समयमा कारोबार भएपछि कारोबार पूर्ण भएको जानकारीका लागि कुर्नुपर्ने बाध्यता हटाउन कम्पनीले नेपालमै पहिलोपटक यो प्रविधि ल्याएको हो ।
टेलिकम नेटवर्कमा समस्या आउँदा वा एसएमएस प्राप्तिमा ढिलाइ हुँदा तथा कहिलेकाहीँ एसएमएस प्राप्त नहुँदा मर्चेन्टहरूलाई कारोबार पूरा भएको यकिन गर्न कठिन भइरहेको गुनासो यो प्रविधिले समाधान हुने कम्पनीको भनाइ छ । साथै, ग्राहकको चाप धेरै भएको मर्चेन्ट लोकेसनमा एसएमएसमार्फत कारोबारको यकिन गर्दा समय खेर जाने समस्या पनि हट्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।
त्यसैगरी, एसएमएस प्राप्त हुन नसकेको अवस्थामा कारोबार यकिन गर्न नसक्दा ग्राहक तथा मर्चेन्ट दुवैलाई भइरहेको अप्ठ्यारो पनि हट्ने कम्पनीले जनाएको छ । एस सिटीले मर्चेन्टहरूलाई मोबाइल तथा वेब लगइनमार्फत पनि कारोबार हेर्न, पैसा जम्मा तथा फिर्ता गर्न मिल्ने सुविधा सुरुवाती दिनदेखि नै दिँदै आइरहेको जनाएको छ । सोही कारोबारको अलर्ट प्राप्तिकै लागि मोबाइल तथा वेब लगइन चलाइराख्नसमेत कारोबार धेरै हुने ठाउँमा झन्झटिलो तथा समय खर्चिनुपर्ने परिस्थिति पनि अब हट्ने कम्पनीको भनाइ छ ।
अब एलइडी स्क्रिनमा कारोबार भएलगत्तै कारोबारको रकम देखिने हुँदा कारोबार पूर्ण भए–नभएको सहजै यकिन गर्न सकिने कम्पनीले जनाएको छ । स्मार्ट क्युआरमा आबद्ध बैंक तथा वित्तीय संस्था तथा भुक्तानी सेवाप्रदायक वालेट कम्पनीहरूद्वारा स्मार्ट क्युआरमा दर्ता भएका कुनै पनि मर्चेन्टहरूले यो सुविधा लिन सक्ने जनाइएको छ ।